भोटेकोशी बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत शुरु

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट क्षतिग्रस्त विद्युत संरचनाको मर्मत तथा पुनःस्थापना गरी प्रभावित क्षेत्रमा विद्युत आपूर्ति सुचारु गर्न नेपाल विद्युत प्राधिकरणले काम तीव्र बनाएको छ ।

बाढीका कारण विद्युत संरचनामा ठूलो क्षति पुगेपछि प्रभावित क्षेत्रमा विद्युत सेवा नियमित गर्न प्राधिकरणले आवश्यक प्राविधिक जनशक्ति तथा स्रोतसाधन परिचालन गरेको जनाएको छ। विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक व्यवस्था समेत अपनाइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार विद्युत संरचनामा उल्लेख्य क्षति पुगे पनि प्रभावित क्षेत्रमा यथाशीघ्र विद्युत सेवा नियमित गर्ने उद्देश्यले मर्मत तथा पुनःस्थापनाको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ। उपलब्ध सबै स्रोतसाधन परिचालन गरी विद्युत आपूर्ति नियमित गर्न प्रयास भइरहेको प्राधिकरणले जनाएको छ ।

यसैबीच, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्रभावित क्षेत्रमा सौर्य ऊर्जामार्फत तत्काल विद्युत सेवा उपलब्ध गराउन आवश्यक संयन्त्र परिचालन गरेको जनाएको छ ।

भीषण बाढीका कारण ११ वटा जलविद्युत् आयोजना र एउटा सौर्य आयोजनाको विद्युत् उत्पादन प्रभावित भएको छ। बाढीका कारण कुल ४३१ दशमलव १ मेगावाट विद्युत् प्रणालीबाट बाहिरिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको कुल उत्पादन क्षमता ४०६ दशमलव १ मेगावाट रहेको छ। त्यस्तै, प्राधिकरणको २५ मेगावाट क्षमताको सौर्य आयोजना समेत प्रभावित भएको छ ।

प्राधिकरणले क्षतिग्रस्त संरचनाको अवस्थाबारे थप मूल्याङ्कन गर्दै विद्युत् आपूर्ति यथाशीघ्र नियमित गर्ने काम भइरहेको जनाएको छ ।