
रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६ सय ७५ मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनामा क्षति पु¥याएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ । बिहीवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै इप्पान अध्यक्ष मोहनकुमार डाँगीले यस्तो बताउनुभएको हो ।
उहाँले बाढीले सबस्टेसनसमेत प्रभावित भएपछि विद्युत प्रणालीबाट ४ सय ३१ मेगावाट विद्युत ग्रिडबाहिर गएको बताउनुभयो । उहाँका अनुसार निजी क्षेत्रका मात्रै नौ जलविद्युत आयोजनामा क्षति पुगेको छ ।


जसमध्ये सञ्चालनमा रहेका चार आयोजनाको १ सय ५८ मेगावाट र निर्माणाधीन पाँच आयोजनाको ३ सय ४२ मेगावाट क्षमता रहेको छ ।

उहाँले भीषण बाढीमा परी जलविद्युत आयोजनामा कार्यरत ठूलो संख्यामा कर्मचारी तथा कामदार समेत सम्पर्कविहीन भएको बताउनु भयो । उहाँले निजी क्षेत्रबाट सञ्चालित जलविद्युत आयोजनामा कार्यरत ३ सय ३८ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन भएको बताउनु भयो ।




