
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले जनैपूर्णिमाको दिन देशका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागको विशेष मौसम पूर्वानुमानअनुसार शुक्रबार रसुवाको गोसाइँकुण्ड क्षेत्रमा दिउँसो धेरै ठाउँमा अपराह्नदेखि मध्यम वर्षा हुने तथा राति केही ठाउँमा मध्यम र एक–दुई ठाउँमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

त्यस्तै, सिन्धुपाल्चोकको पाँचपोखरी क्षेत्रमा दिउँसो धेरै ठाउँमा अपराह्नदेखि मध्यम वर्षा तथा राति धेरै ठाउँमा मध्यम र एक–दुई ठाउँमा भारी वर्षा हुनसक्ने विभागले जनाएको छ।


दोलखाको जटापोखरी क्षेत्रमा पनि शुक्रबार दिउँसो केही ठाउँमा अपराह्नदेखि मध्यम वर्षा तथा राति केही ठाउँमा मध्यम र एक–दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ। शनिबार पनि उक्त क्षेत्रमा वर्षाको सम्भावना कायमै रहनेछ।
यसैगरी बडीमालिका, मणिचूड दह, दानसाँघु, त्रिवेणीधाम, शैलुङ, जनकपुरधाम र कुम्भेश्वर मन्दिर क्षेत्रमा शुक्रबार र शनिबार विभिन्न समयमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

विभागले धार्मिक तथा पर्यटकीय क्षेत्रमा जाने सर्वसाधारणलाई मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ। विशेषगरी गोसाइँकुण्ड, पाँचपोखरी र जटापोखरी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।




