आजको मौसम : देशभर बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान आसपास रहेको छ।

हाल देशभर साधारणतया बादल लागेको छ। बागमती प्रदेशका केही, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मध्यमसम्म वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा पनि मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग तथा कर्णाली प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति कोशी प्रदेशको पहाडी तथा तराई र बागमती प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

सर्वसाधारणलाई भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।