
-अनिल नेपाली , अर्घाखाँची डटकम।
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँचीको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य सुपादेउरालीमा केबलकार निर्माणका लागि सरोकारवाला र स्थानीयबीच सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।


सन्धिखर्क नगरपालिका–७ स्थित सुपादेउराली पचासेदेखि मसिना लेखसम्म जोड्ने गरी प्रस्ताव गरिएको केबलकार आयोजनाको प्रारम्भिक अध्ययन सुरु गरिएको सुपादेउराली केबलकार प्रालिका अध्यक्ष बालकृष्ण शिवाकोटीले जानकारी दिनुभयो।


आयोजनाको उद्देश्य सुपादेउरालीको पर्यटन प्रवर्द्धनसँगै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने, स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने र जिल्लामा आउने पर्यटकलाई अन्य पर्यटकीयस्थलसँग जोडेर आर्थिक गतिविधि बढाउने रहेको जनाइएको छ।


प्रस्तावित केबलकार समुद्री सतहबाट करिब १ हजार ९ सयदेखि २ हजार १ सय मिटर उचाइसम्म निर्माण हुनेछ। आयोजनामा १४ वटा टावर र १७ वटा डिब्बा रहनेछन् भने यसको अनुमानित लागत करिब १ अर्ब ८० करोड रुपैयाँ रहेको अध्यक्ष शिवाकोटीले बताउनुभयो।


केबलकारमा पहिलो चरणमा ८ जना यात्रु क्षमताका १७ वटा डिब्बा सञ्चालनमा ल्याउने योजना छ। यात्रुको चाप बढ्दै गए आवश्यकताअनुसार डिब्बा थप गर्दै लैजाने कम्पनीले जनाएको छ।
प्राविधिक इन्जिनियर गणेश पाठकका अनुसार केबलकारको यात्रा करिब ७ देखि १० मिनेटको हुनेछ। यात्राका क्रममा सुपादेउराली मन्दिरसँगै हिमाली दृश्य, तराई क्षेत्र तथा आसपासका मनोरम भू–दृश्य अवलोकन गर्न सकिनेछ।


आयोजनाअन्तर्गत चिल्ड्रेन पार्क, कफी सप, मनोरञ्जनात्मक खेल तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजना पनि रहेको जनाइएको छ। हाल उद्गमस्थलदेखि गन्तव्यस्थलसम्म जीपीएस प्रणालीसहित प्राविधिक अध्ययन तथा मार्किङको काम भइरहेको र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरी आयोजना अगाडि बढाइने बताइएको छ।

सुपादेउराली केबलकारका सञ्चालक तथा स्थानीय खेमप्रसाद घिमिरेले आयोजनामा स्थानीयलाई प्राथमिकता दिँदै शेयर लगानीको वातावरण सिर्जना गरिने बताउनुभयो।


उहाँका अनुसार आयोजनामा करिब ५० देखि ६० जना स्थानीय युवालाई प्रत्यक्ष रूपमा रोजगारीमा जोड्ने योजना रहेको छ। स्थानीय उत्पादन, पर्यटन र होटल व्यवसायलाई समेत आयोजनासँग जोडेर स्थानीयवासीलाई आत्मनिर्भर बनाउने लक्ष्य रहेको उहाँले बताउनुभयो।

वातावरणीय विज्ञ सरोज नेपालले पनि स्थानीय जनताको प्रत्यक्ष सहभागिता र लागत साझेदारी सुनिश्चित गरी वातावरणीय अध्ययन तथा प्रतिवेदन तयार गरेर आयोजना अगाडि बढाइने बताउनुभयो।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले सुपादेउराली धार्मिक, पर्यटकीय तथा अन्य दृष्टिले समेत महत्वपूर्ण क्षेत्र भएकाले केबलकार निर्माणले जिल्लाको पर्यटन विकासमा योगदान पुर्याउन सक्ने बताउनुभयो।
उहाँले स्थानीय जनताको प्रत्यक्ष सहभागितामा आयोजना अगाडि बढाउनुपर्नेमा जोड दिँदै लागत साझेदारी र स्थानीय सहभागिताबाट आयोजना सफल बनाउनुपर्ने धारणा राख्नुभयो।

सन्धिखर्क नगरपालिका–७ का वडाध्यक्ष चुराबहादुर केसीले अर्घाखाँचीका लागि केबलकार नयाँ र महत्वपूर्ण परियोजना भएकाले यसको सफलताका लागि सबै पक्षको भूमिका आवश्यक रहेको बताउनुभयो।

उहाँले सुपादेउरालीलाई नेपालसँगै भारतलगायत बाह्य मुलुकबाट आउने पर्यटकका लागि समेत आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने बताउँदै बाह्य पर्यटक भित्र्याउन सके स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्ने उल्लेख गर्नुभयो।
फोटो/भिडियो : डीआरजी सुमन / अनिल नेपाली — अर्घाखाँची डटकम


















