
सुभाष कायस्थ
जनकपुरधाम, १८ भदौ । रसुवाको भोटेकोशी सहित विभिन्न जिल्लाका नदीहरुमा आएको विनाशकारी बाढीमा परी मधेश प्रदेशका सम्पर्कविहिन मध्ये दुईजनाको शव पहिचान गरिएको छ ।

पीडित परिवारले अनुहार, कपडा, शरीरमा रहेका ट्याटुहरू र शरीरमा भएका विशेष संकेत हेरेर शव व्यवस्थापन गर्ने ठाउँबाट सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरुबाट पहिचान गरिदैछ । यसैक्रममा मधेशका सप्तरी र महोत्तरी जिल्लाका एक÷एकवटा शवको पहिचान भएको बुझिएको छ ।


जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी पञ्चलाल गोलेले दिएको जानकारी अनुसार महोत्तरी जिल्लाका सम्पर्कविहिन मध्ये गौशाला नगरपालिका १ निवासी कुशल खपाङ्गी मगरको शव पहिचानमा आएको हो ।
उनले भने ‘महोत्तरी जिल्लाबाट सम्पर्कविहिन १७ जना मध्ये ७ जना सम्पर्कमा आएका छन् भने एकजनाको मृत्यु भएको खबर आएको हो । १० जनाको अवस्था अझै अज्ञात रहेको छ ।’

उनका अनुसार पिडीत परिवारले शवको सनाख्त गरेको हुन । शव सनाख्त भइसकेपछि पिडीत परिवार शव ल्याउन फोन आएको स्थानमा जाने तयारीमा रहेको छ ।
यस्तै सप्तरी प्रहरीका अनुसार बाढीमा सम्पर्कविहिन खड्क नगरपालिका ५ का सन्तोष चौधरीको शव सनाख्त भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीले दिएको जानकारी अनुसार सम्बन्धित पिडीत परिवारले सनाख्त गरेको आधारमा शवको पहिचान गरिएको हो । पिडीत परिवार शव बुझ्न चितवनको भरतपुर अस्पताल जाने तयारीमा रहेको छ ।

प्रहरीका अनुसार महोत्तरीका खपाङ्गीको शर रसुवामा फेला परेको थियो भने सप्तरीका चौधरीको शव पूर्वी नवलपरासीमा भेटिएको थियो ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार मधेश प्रदेशका १९५ जना बाढीमा सम्पर्कविहिन भएका हुन् । ती मध्ये ३३ जना सम्पर्कमा आइसकेको छ भने दुईको जनाको शव फेला परेको हो र १६२ जना अझै सम्पर्कविहीन छन् ।
मधेश प्रदेश प्रहरीका प्रवक्ता एसएसपी ओमप्रकाश खनाल दिएको जानकारी सबभन्दा बढी सप्तरी जिल्लाबाट ४९ जना सम्पर्कविहिन छन् जसम्धे एकजना मात्रै सम्पर्कमा आएका हुन् । यस्तै पर्साबाट ४० जना सम्पर्कविहिन मध्ये २, बारामा २५ जना मध्ये २, रौतहटमा १९ जना मध्ये ६, सर्लाहीमा २१ ज्ना मध्ये ३, महोत्तरीमा १७ जना मध्ये ७, धनुषामा १४ जना मध्ये ७, सिरहामा १० जना मध्ये २ जना सम्पर्कमा आएका हुन् ।

प्रदेश प्रहरीले मंगलबार दिउँसो ५ बजेसम्म गरेको अपडेट अनुसार सम्पर्कविहिन मध्ये प्रदेशबाट प्रहरी कर्मचारीतर्फ १० जना मध्ये ७, नेपाली सेनामामा कार्यरत ३ जना मध्ये एकजना सम्पर्कमा आएको हो ।
नेपाल प्रहरी केन्द्रिय कार्यालयका अनुसार ९५ वटा शवहरू परिवारलाई हस्तान्तरण गरिएको छ । प्रहरी प्रवक्ता डीआईजी अबि नारायण काफ्लेले ९५ वटा शव विभिन्न जिल्लाका परिवारलाई बुझाइएको जानकारीमा आएको छ । तर, त्यसको एकीकृत विवरण हामीसँग नभई सम्बन्धित जिल्ला कार्यालयमा रहेको जानकारी दिएका छ्न् ।
उनका जनाए अनुसार अहिलेसम्म १ हजार ११८ जनाको शव भेटिएका मध्ये भोटेकोशीको बाढीबाट मुख्य प्रभावित क्षेत्र रसुवामा मात्रै १ सय १९ शव भेटिएको छ ।




