आज देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको महाशाखाले जानकारी दिएको छ।

हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा मधेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, देशका पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भाग, कर्णाली प्रदेशको पहाडी भू–भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातिको मौसम

आज राति पनि देशभर साधारणतया बादल लाग्ने महाशाखाले जनाएको छ। हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना छ।

देशका तराई भू–भागका केही स्थानमा समेत मेघगर्जन तथा चट्याङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।

रातिको समयमा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

images

महाशाखाले वर्षाका कारण सम्भावित जोखिमप्रति आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।