रियल म्याड्रिड बेटिससँग स्तब्ध

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई रियल बेटिसले १–० गोल अन्तरले पराजित गरेको छ । गएराति भएको खेलमा ट्रोय पारोटले गरेको गोल निर्णायक बनेपछि रियल मड्रिडले सिजनको पहिलो हार बेहोरेको थियो ।

खेलको पहिलो हाफमा रियल मड्रिडले गोलका केही राम्रा अवसर सिर्जना गरेको थियो । भिनिसियस जुनियरको प्रहार पोलमा लागेको थियो भने किलियन एम्बाप्पेले पनि गोल गर्ने अवसर गुमाएका थिए । दोस्रो हाफमा जुड बेलिङ्घमको प्रयासलाई बेटिसका गोलरक्षक अल्भारो भालेसले उत्कृष्ट बचाउ गरेका थिए ।

खेलको ८१औँ मिनेटमा बेटिसले अग्रता लिएको थियो । रियल मड्रिडका गोलरक्षक थिबो कोर्टुवाले हेडर बचाए पनि आएको रिबाउन्डमा पारोटले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए ।

त्यसपछि रियल मड्रिडले बराबरी गोलका लागि लगातार दबाब बढाएको थियो । एम्बाप्पेको शक्तिशाली प्रहार बारमा लागेर फर्किएको थियो । कार्लोस एस्पीले गरेको साइकल किकबाट गोल भए पनि भिडियो सहायक रेफ्रीको जाँचपछि अफसाइडका कारण गोल मान्य भएको थिएन ।

इन्ज्युरी समयमा रियल मड्रिडले पेनाल्टी पाएको थियो । नातानले भिनिसियसलाई फाउल गरेपछि प्राप्त पेनाल्टी एम्बाप्पेले प्रहार गरेका थिए । तर बेटिसका गोलरक्षक भालेसले उनको प्रहार बचाउँदै रियललाई बराबरी गर्नबाट रोकेका थिए ।

एम्बाप्पेका लागि यो खेल विशेष रूपमा निराशाजनक बनेको थियो । उनले खेलमा गोल गर्ने केही अवसर गुमाउनुका साथै निर्णायक समयमा पेनाल्टीसमेत गोल गर्न चुकेका थिए ।

यो हारसँगै जोसे मोरिन्होको नेतृत्वमा रियल म्याड्रिडको लगातार तीन खेलको विजयी यात्रा रोकिएको छ । चार खेलबाट रियलको ९ अंक भएको छ भने बेटिसले पनि ९ अंक जोडेको छ ।