प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा झण्डै १२ अर्ब मौज्दात, बाढीपछि मात्रै १० अर्बभन्दा बढी सङ्कलन

काठमाडौं, २४ भदौ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उपलब्ध कुल मौज्दात ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ पुगेको छ। अर्थ मन्त्रालयका अनुसार भदौ २३ गते साँझसम्म कोषका ९ वटा रुपैयाँ खातामा ८ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ र २ वटा डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर जमा छ।

प्रतिअमेरिकी डलर १५०.८८ रुपैयाँका दरले हिसाब गर्दा कोषको कुल मौज्दात करिब पौने १२ अर्ब रुपैयाँ पुगेको मन्त्रालयले जनाएको छ।

रसुवा–भोटेकोशी बाढीपछिको अवधिमा मात्रै कोषमा ७ अर्ब ६८ करोड ४४ लाख रुपैयाँ र २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर (कुल १० अर्ब७८ करोड रुपैयाँभन्दा बढी) सङ्कलन भएको छ। यो रकम विपद्अघिको २ अर्ब ८ करोड २४ लाख रुपैयाँ मौज्दातबाहेकको हो। भदौ २३ गते एकै दिन कोषमा ३० करोड ६२ लाख रुपैयाँ र १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको छ।

यसैबीच, राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई १ अर्ब रुपैयाँ हस्तान्तरण गरिएको छ।

अर्थ मन्त्रालयले विपद् प्रभावित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले स्वदेश तथा विदेशबाट निरन्तर सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेको छ।