जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन गृहकार्य भइरहेको छ- ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले अति उच्च जोखिममा रहेका हिमतालको जलस्तर घटाउन गृहकार्य गरिरहेको जानकारी दिए ।

उनले भने- ‘जोखिममा रहेका हिमतालहरु ब्लास्टिङ गरेर जलसतह पास गर्नेगरी छलफल अघि बढेको छ । जोखिमपूर्ण हिमतालको पानी वैज्ञानिक हिसाबले पास गरेर जोखिममुक्त गर्नैपर्छ । विपद् जोखिमको पूर्वतयारीमा हामी गम्भीर छौं । तयारी सकिएपछि निर्णय लिनेछौं ।’

मन्त्री श्रेष्ठले कुन कुन ताल फुटाउने भनेर टुंगो नलागिसकेको बताउदै भने- ‘विज्ञहरुसँग परामर्श लिँदैछौं । छलफलमा धेरै तालहरुको नाम विज्ञहरुबाट आएको छ । अध्ययन गरिरहेका छौं । जोखिमको मात्रा हेरेर पानीको सतह घटाउने निर्णय लिन्छौं ।’

मन्त्री श्रेष्ठकाअनुसार ग्रिन क्लाइमेट फण्ड (जीसीएस) बाट प्राप्त सहयोग परिचालन गरेर विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण र स्थानीय तहसँग मिलेर जोखिमपूर्ण हिमतालको पानीको सतह घटाउने कार्य यही वर्ष अगाडि बढाइनेछ ।

इसिमोड र युएनडिपीको संयुक्त अध्ययनअनुसार नेपालमा २१ वटा हिमताल जोखिमयुक्त छन् भने कोशी र गण्डकी क्षेत्रमा चार वटा अति उच्च जोखिमयुक्त हिमताल रहेका छन् ।