पहिरो र बाढीका कारण मुख्य राजमार्ग प्रभावित: कहाँ पूर्ण ठप्प, कहाँ एकतर्फी?

काठमाडौं, ३१ भदौ । बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार भदौ ३१ गते बिहान ६ बजेसम्मको विवरणअनुसार विशेषगरी बागमती र कर्णाली प्रदेशका विभिन्न सडक खण्डहरू प्रभावित भएका हुन्।

बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्ग (खुर्कोट–नेपालथोक–कटुञ्जेबेँसी) मा १० टनसम्मका मालवाहक सवारीका लागि साँझ ७ देखि बिहान ५ बजेसम्म सञ्चालनको नियम बनाइएको छ भने बिहान ४ देखि साँझ ६ बजेसम्म परिस्थितिको विचार गरी सवारी साधन सुचारु गराइँदै आएको छ। रसुवाका मुख्य सबै राजमार्गहरू भदौ १० गतेदेखि नै बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छन्।

त्यस्तै, नुवाकोटको टोखा–छहरे सडक खण्ड (शिवपुरी–८, घट्टेखोला) मा सम्भावित बाढी-पहिरोका कारण राति १० देखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ भने पसाङ ल्हामु सडक खण्डअन्तर्गत विदुर–१० सिमटारमा बाढीले बाटो पूर्ण ठप्प पारेको छ।

धादिङस्थित पृथ्वीलोकमार्गको कृष्ण भिरमा भदौ १४ देखि पहिरोका कारण सडक पूर्ण रूपमा बन्द छ भने सोही लोकमार्गको ज्वाङखोला र शीतलबजारमा पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। चितवनको नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोलामा मर्मत कार्य भइरहेकाले गाडीको चाप हेरेर एकतर्फी रूपमा चलाइएको छ।

उता कर्णाली प्रदेशतर्फ हुम्लाको कर्णाली करिडोरअन्तर्गत सर्केगाड–६ खरीखेतमा भदौ २९ गते खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध रहेको छ।