
जेलमा रहेका कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)का नेता अब्दुल्लाह ओजालानलाई पीकेकेको निशस्त्रीकरण र विघटन प्रक्रियाको अनुगमन गर्ने प्राविधिक समन्वयकर्ताको भूमिका दिइने टर्कीका एक वरिष्ठ अधिकारीले बताएका छन् । टर्कीका राष्ट्रपतीय प्रमुख सल्लाहकार मेहमेत उचुमले बिहीबार अंकारामा पत्रकारहरूसँग कुरा गर्दै ओजालानलाई हालै गठन गरिएको राज्यस्तरीय उपसमितिमा सहभागी गराइने जानकारी दिएका हुन् ।
निजी प्रसारक एनटीभीकाअनुसार उक्त संयन्त्र सरकारको ‘टेरर–फ्री टर्किए’ प्रक्रियाअन्तर्गत गठन गरिएको हो । यो प्रक्रिया पीकेकेका लडाकुको निशस्त्रीकरण तथा पुनःएकीकरणसम्बन्धी कानूनी व्यवस्थासँग जोडिएको छ ।


टर्कीको संसद्ले गत अगस्ट १० मा पीकेकेको निःशस्त्रीकरण र पुनःएकीकरणका लागि कानूनी संरचना अनुमोदन गरेको थियो । उचुमले ओजालानलाई यस्तो जिम्मेवारी दिइनु उनको रिहाइ वा विशेष सुविधा प्रदान गर्नु नभएको स्पष्ट पार्नुभयो । पीकेकेले सन् १९८४ देखि टर्की राज्यविरुद्ध सशस्त्र विद्रोह गर्दै आएको छ । टर्की, अमेरिका र युरोपेली संघले पीकेकेलाई आतंकवादी संगठनका रूपमा सूचीकृत गरेका छन् । सन् २०२५ को मेमा जेलमा रहेका ओजालानको आह्वानपछि पीकेकेले निशस्त्रीकरण गर्दै संगठन विघटन गर्ने निर्णय घोषणा गरेको थियो । त्यसपछि टर्की सरकारले दशकौँदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यसहित निशस्त्रीकरण तथा पुनःएकीकरणको कानुनी र संस्थागत प्रक्रिया अघि बढाएको हो ।





