
शालिक राम आचार्य/मस्कट, ओमान
०३ असोज २०८३ (१९ सेप्टेम्बर २०२६)
नेपालको संविधान दिवसको पावन अवसर पारेर ओमानस्थित नेपाली राजदूतावासको आयोजनामा ‘श्रमिक सुरक्षा तथा सचेतना कार्यक्रम’ सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८३ असोज ०२ गते (१८ सेप्टेम्बर २०२६) मस्कटस्थित ‘नेपाल घर’ मा उक्त विशेष कार्यक्रमको आयोजना गरिएको हो।
कार्यक्रममा ओमानमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम कानुनी प्रावधान, श्रम स्वीकृति नवीकरण तथा सामाजिक सुरक्षा कोष (SSF) मा आबद्ध हुने प्रक्रियाबारे महत्वपूर्ण प्रशिक्षण दिइएको थियो। साथै, गत भदौ १० गते नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र दीप प्रज्वलन समेत गरिएको थियो।


बाढी पीडितको स्मरण र संविधान दिवसको शुभकामना
नेपालको राष्ट्रिय गानबाट सुरु भएको उक्त कार्यक्रममा भोटेकोशी बाढीका मृतकहरूको स्मृतिमा एक मिनेट मौनधारण गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य राख्दै कार्यवाहक राजदूत श्री बिशेष कुमार साहले संविधान दिवसको शुभकामना व्यक्त गर्नुभयो। उहाँले नेपालको संविधानका प्रमुख विशेषता र नागरिक अधिकारहरूमाथि प्रकाश पार्नुभयो।


नेपाल-ओमान द्विपक्षीय सम्बन्ध प्रवर्द्धनका प्रयास र राजदूतावासका आगामी योजनाहरू सुनाउँदै कार्यवाहक राजदूत साहले भन्नुभयो, “श्रमिक सुरक्षा, श्रम सचेतना र वित्तीय साक्षरता नेपाली समुदायका लागि अपरिहार्य छन्।” ओमानस्थित नेपाली संघसंस्थाहरूको सहयोगको प्रशंसा गर्दै उहाँले नेपाली समुदायको हितका लागि दूतावास सदैव प्रतिबद्ध रहेको दोहोर्याउनुभयो। सोही क्रममा उहाँले भोटेकोशी बाढीका मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभयो।


श्रम सचेतना र प्रशिक्षणको सान्दर्भिकतामाथि प्रश्न
कार्यक्रममा विज्ञ समूहका सदस्य श्री श्यामकृष्ण भट्टराईले वैदेशिक रोजगार विभाग (DOFE) को वेबसाइटमार्फत अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्ने र सामाजिक सुरक्षा कोष (SSF) मा योगदान गर्ने प्रक्रियाबारे प्रयोगात्मक (Live) प्रस्तुतीकरण दिनुभएको थियो। उहाँले प्रविधिको प्रयोग सिकेर अन्य श्रमिक साथीहरूलाई पनि सघाउन उपस्थित सबैलाई आग्रह गर्नुभयो।
तर, उक्त प्रशिक्षणको सान्दर्भिकता र लक्षित वर्गमाथि उपस्थितहरूले गम्भीर प्रश्न उठाएका छन्। वास्तविक रूपमा यो प्रविधि जसले सिक्नुपर्ने हो र जुन श्रमिकका लागि यो कार्यक्रम भनिएको हो, उनीहरूको उपस्थिति त्यहाँ शून्य बराबर थियो। सर्वसाधारण श्रमिकहरूलाई जानकारी नै नदिई केवल उच्च पदमा रहेका संस्थाका नाइके, राजनीतिक दलका नेता र व्यवसायीहरूलाई मात्र ठाउँ दिइएकोमा आक्रोश पोखिएको छ। उपस्थित श्रमिक अधिकारकर्मीहरूका अनुसार, ठूला पदमा रहेका यी नेता र व्यवसायीहरू कहिल्यै पनि तल्लो तहका श्रमिकहरूसँग प्रत्यक्ष साक्षात्कार गर्न र उनीहरूलाई प्रविधि सिकाउन जाँदैनन्। जसका कारण दूतावासको यो प्रशिक्षण वास्तविक पीडित श्रमिकसम्म नपुगी केवल ‘कागजी प्रक्रिया’ र ‘देखावटी’ मात्र बनेको आरोप लागेको छ।

व्यवस्थापन पक्षप्रति सर्वसाधारण र पत्रकारहरूको तीव्र असन्तुष्टि
कार्यक्रम सम्पन्न भए तापनि राजदूतावासको व्यवस्थापन र समन्वय पक्षलाई लेकर उपस्थित सर्वसाधारण र स्थानीय नेपाली पत्रकारहरूले भने तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। नेपाली राजदूतावास जस्तो साझा र जिम्मेवार निकायले आयोजना गरेको यति महत्त्वपूर्ण कार्यक्रममा ओमानस्थित केही सिमित नेपाली संघसंस्थाका प्रतिनिधिहरूलाई मात्र प्राथमिकताका साथ स्थान दिइएको तर आम सर्वसाधारण नागरिक र समाचार संकलनका लागि पुगेका पत्रकारहरूलाई जानकारी समेत नदिइएको गुनासो उपस्थितहरूले गरे।

विशेष गरी, केही राजनीतिक दलका नाइके र सिमित संस्थाका प्रतिनिधि बाहेक अरू कसैलाई पनि कार्यक्रमबारे पूर्वजानकारी र निमन्त्रणा नहुनुले राजदूतावास पछिल्लो समय केही निश्चित समूहको राजनीति र व्यापारिक स्वार्थको ‘कठपुतली’ बन्दै गएको भन्दै उपस्थित नेपाली समुदायले गम्भीर अड्कलबाजी र चिन्ता व्यक्त गरेका छन्। प्रवासी नेपालीहरूको हितका लागि गरिने आगामी कार्यक्रमहरूमा सञ्चारकर्मी र आम नागरिकलाई उचित सूचना, सम्मान र स्थान दिनुपर्ने माग समेत जोडदार रूपमा उठाइएको छ।
ओमानका लागि नयाँ राजदूत सिफारिस र बेथिति सुधार्ने चुनौती
यसैबीच, नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले ओमानका लागि नयाँ राजदूतका रूपमा डा. पद्माक्षी राणा (Dr. Padmakshi Rana) को नाम सिफारिस गरेको छ। दिगो विकास र अन्तर्राष्ट्रिय सहकार्यको क्षेत्रमा लामो अनुभव भएकी डा. राणा संसदीय सुनुवाइ र ओमान सरकारबाट ‘एग्रिमेन्ट’ (Agrément) स्वीकृत भई औपचारिक रूपमा नियुक्त हुन बाँकी रहे पनि, उहाँ ओमान आउने मार्गप्रशस्त भएसँगै ओमानस्थित नेपाली समुदायमा नयाँ बहस सुरु भएको छ। उहाँका सामु मस्कटस्थित नेपाली दूतावासभित्र मौलाएको निश्चित गिरोहको प्रभावलाई पूर्ण रूपमा हटाउनुपर्ने मुख्य कार्यभार छ।


नयाँ राजदूतका लागि पूर्वराजदूत डोरनाथ अर्यालले गरेका सकारात्मक कार्यहरूको निरन्तरता मात्र नभई, ओमानमा व्याप्त भिजिट भिसाको दलाली र घरेलु कामदार (हाउसमेड) हरूले भोग्दै आएका जटिल समस्याहरू
समाधान गर्न नयाँ र उल्लेखनीय कदम चाल्नुपर्ने ठूलो चुनौती छ। सबैभन्दा गम्भीर कुरा, राजदूतावास केही टाठाबाठा र राजनीतिक दलका आडमा चल्ने मानव तस्करहरूको ‘अखडा’ वा सेफ हाउस नबनोस् र ओमानमा सक्रिय रहेका तमाम मानव तस्करहरूमाथि कडा कानुनी कारबाही गरी उनीहरूलाई यहाँबाट लखेटिएको हेर्न चाहने तीव्र इच्छा ओमानस्थित नेपाली श्रमिकहरूको छ।
दूतावास सीमित स्वार्थ समूहको प्रलोभनमा नफसी रातदिन पसिना बगाउने वास्तविक नेपाली श्रमिकहरूका लागि सेवा र भरोसाको केन्द्र बनोस् भन्ने भुइँ-यथार्थ (Ground Reality) लाई ध्यानमा राख्न आवश्यक देखिन्छ। त्यसैले, नयाँ राजदूतले विगतका यी तमाम बेथिति र राजनीतिक हस्तक्षेपलाई पूर्ण रूपमा निषेध गर्दै राजदूतावासलाई राजनीतिक दलका नेता वा तस्करहरूको “चौतारी” नभई “सच्चा नेपाली श्रमिकहरूको न्याय र भरोसाको साझा घर” बनाउनुपर्ने देखिन्छ।


दीप प्रज्वलन र रात्रिभोज
कार्यक्रमको अन्त्यमा नेपालमा आएको भीषण बाढीका कारण ज्यान गुमाएका दिवंगत आत्माहरूको चिरशान्तिको प्रार्थना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा ओमानस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरू, विज्ञ समूहका सदस्यहरू, स्वयंसेवकहरू तथा नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो। औपचारिक कार्यक्रम समापनपछि उपस्थित अतिथिहरूका लागि नेपाली परिकारसहितको रात्रिभोजको समेत व्यवस्था गरिएको थियो।




