
काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका तीन बहिनी पक्राउ परेका छन् । पाकिस्तान तहरीक–ए–इन्साफले खानको रिहाइको माग गर्दै आएका अलीमा खान, डा उज्मा खान र नुरिन खानलाई पक्राउ गरी लाहोरस्थित कोट लखपत जेल पठाइएको जनाएको छ ।
पीटीआईका प्रवक्ता जुल्फी बुखारीले पञ्जाब प्रहरीले अलीमा खानको घरमा छापा मारेर उनका अन्य दुई बहिनी, भान्जा–भान्जी तथा बालबालिकालाई समेत नियन्त्रणमा लिएको दाबी गरेका छन् । पार्टीका सूचना सचिव शेख वकास अक्रमका अनुसार बालबालिकालाई भने पछि रिहा गरिएको थियो ।


लाहोरका उपआयुक्त मोहम्मद अली इजाजले सार्वजनिक व्यवस्था कायम राख्ने कानुनअन्तर्गत तीनै जनालाई ३० दिन हिरासतमा राख्ने छुट्टाछुट्टै आदेश जारी गरेका थिए । अलीमा खान आइतबार तथा डा उज्मा खान र नुरिन खान सोमबार पक्राउ परेका थिए ।

पीटीआईले इमरान खानको रिहाइको माग गर्दै सेप्टेम्बर २७ मा ठूलो प्रदर्शन गर्ने घोषणा गरेको छ । पाकिस्तानका सूचना मन्त्री अत्ताउल्लाह तरारले भने उक्त प्रदर्शनलाई गैरकानुनी भन्दै सडक अवरुद्ध गर्न र जनजीवन प्रभावित पार्न नदिइने बताएका छन् ।
इमरान खान सन् २०२३ देखि जेलमा छन्। उनी र उनकी पत्नीलाई भ्रष्टाचारसम्बन्धी मुद्दामा १७ वर्षको जेल सजाय सुनाइएको थियो, जसलाई दुवैले अस्वीकार गर्दै आएका छन् । खान सन् २०१८ देखि २०२२ सम्म पाकिस्तानका प्रधानमन्त्री थिए ।





