
टर्कीको आन्तरिक मन्त्रालयले दक्षिणपूर्वी क्षेत्रमा सञ्चालित एक विशेष सुरक्षा कारबाहीका क्रममा २ लाख १७ हजार ६ सय ८ गाँजा र स्कंकका बोटहरू नष्ट गरेको छ । अवैध लागुऔषध खेतीविरुद्ध सरकारले अघि सारेको कार्ययोजना अन्तर्गत दियारबाकिर प्रान्तका लिसे र कुल्प जिल्लामा सुरक्षाकर्मीले ठूलो मात्रामा लागुऔषध उत्पादन गर्ने बाली बरामद गरी नष्ट गरेका हुन् । मन्त्रालयकाअनुसार बरामद गरिएका यी बिरुवाहरूबाट करिव ५ टन तयारी गाँजाको धुलो उत्पादन हुन सक्ने अनुमान गरिएको छ ।
सरकारी अधिकारीहरूले अवैध लागुऔषध खेतीको पहिचान गर्न आधुनिक रिमोट सेन्सिङ प्रविधिको प्रयोग गरेका थिए । सोमवार सार्वजनिक गरिएको आधिकारिक विवरणअनुसार यस अप्रेसनमा स्थानीय जेन्डार्मेरी फोर्सका ६४ वटा विशेष टोलीका ५७० जना सुरक्षाकर्मीहरू सहभागी थिए ।


लिसे र कुल्पका मुख्य सार्वजनिक अभियोजकको कार्यालयसँगको समन्वयमा सञ्चालित यो कारबाही लागुऔषध नियन्त्रण विभागको निगरानीमा सम्पन्न भएको हो । टर्की सरकारले लामो समयदेखि लागुऔषध तस्कर, उत्पादक र अवैध खेती गर्नेहरू विरुद्ध शुन्य सहनशीलताको नीति अपनाउँदै आएको छ । मन्त्रालयले भविष्यमा पनि सडक स्तरका लागुऔषध कारोबारी र अवैध उत्पादन केन्द्रहरू विरुद्धको कारबाहीलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरेको छ । यो कारबाहीले दक्षिणपूर्वी टर्कीमा बढ्दो अवैध लागुऔषध गतिविधिलाई नियन्त्रण गर्न ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।





