
इजरायली सैन्य कारबाही, बस्तीमा हुने हिंसा र आवागमनमा लगाइएको कडा प्रतिवन्धका कारण वेस्ट बैंकका प्यालेस्टिनी विद्यार्थीका लागि विद्यालय पुग्नु दैनिक जीवनको सबैभन्दा ठूलो चुनौती बनेको छ । सन् २०२३ को अक्टोबरयता लगाइएको नाकाबन्दी र चेकपोस्टहरूको कडाइले गर्दा शैक्षिक वातावरण गम्भीर रूपमा खलबलिएको छ ।
उत्तरी वेस्ट बैंकको कासरा शहरस्थित ‘मार्टिर यासेर अराफात बेसिक मिक्स स्कुल’ अहिले शिक्षाको केन्द्रभन्दा पनि असुरक्षाको प्रतीक बनेको छ । इजरायली बारको नजिकै रहेको यस विद्यालयमा पुग्नु विद्यार्थी र शिक्षक दुवैका लागि कष्टकर बनेको छ । कासराका मेयर अब्देल अजिम वादीका अनुसार, अक्टोबर १२, २०२३ देखि स्थानीय प्रवेशद्वार बन्द हुँदा शैक्षिक र आर्थिक गतिविधि ठप्प जस्तै बनेका छन् ।

विद्यार्थीलाई विद्यालयसम्म पु¥याउन अभिभावकहरूले हरेक दिन चेकपोस्टसम्म लिनुपर्ने बाध्यता छ । विद्यालयकी प्रधानाध्यापक डालिया ओदेहका अनुसार विद्यालयका अधिकांश विद्यार्थी र १४ मध्ये १० जना शिक्षकहरू समयमै पुग्न नसक्ने अवस्था छ ।


मिग्दालिम बस्ती नजिकै रहेको यस विद्यालयमा बारम्बार हुने सैन्य अपरेसन र स्थानीय बस्तीका मानिसहरूबाट हुने आक्रमणले विद्यार्थीमा मानसिक त्रास बढेको छ । साना बालबालिकाका लागि हिँड्ने बाटोहरू असुरक्षित भएपछि उनीहरू लामो र जोखिमपूर्ण बाटो तय गर्न बाध्य छन् । युनिसेफको पछिल्लो प्रतिवेदनले वेस्ट बैंक र पूर्वी जेरुसेलममा सन् २०२६ को पहिलो ६ महिनामा मात्रै २२४ वटा शैक्षिक घटनाहरू अभिलेख गरेको छ । यसमा बालबालिकाको हत्या, घाइते वा पक्राउ पर्ने, विद्यालयका भौतिक संरचनामा क्षति पुग्ने तथा विद्यालय भवनहरूलाई सैन्य उद्देश्यका लागि प्रयोग गरिने जस्ता गम्भीर घटनाहरू समावेश छन् ।
ओमल खैर प्राथमिक विद्यालयकी एक छात्रा मीरा अल–हाथालीन भन्छिन्, ‘हामी लामो र जोखिमपूर्ण बाटोबाट हिँड्नुपर्छ । बाटोमा बस्तीका मानिसहरू (सेटलर) भेटिने त्रासले सधैं त्रस्त हुन्छु । सजिलो बाटो बन्द भएपछि हामी धेरै ढिलो विद्यालय पुग्छौं, जसले हाम्रो पढाइमा नराम्रो असर गरिरहेको छ ।’





