
काठमाडौं, ८ असाेज । प्रविधि क्षेत्रका विज्ञहरूबाट आएका चिन्ताजनक चेतावनीहरूपछि न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको महासभामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ एउटा प्रमुख मुद्दा बनेको छ।
‘एन्थ्रोपिक’ कम्पनीका पूर्व एआइ अनुसन्धानकर्ता ज्याकोब कक्सोनले बीबीसीसँग कुरा गर्दै चेतावनी दिएका थिए, “यदि हामीले प्रगतिको वर्तमान गतिलाई नियन्त्रण गरेनौँ भने, निकट भविष्यमै मानवतमकै अस्तित्व संकटमा पर्न सक्ने उच्च सम्भावना छ।”


उनका पूर्व हाकिम डारियो अमोडेईका साथै ‘ओपन एआई’ का प्रमुख साम अल्टम्यान र एलन मस्क जस्ता प्रमुख एआइ कम्पनीका नेतृत्वकर्ताहरूले समेत एआइ विकासको गतिलाई नियन्त्रण र नियमन गर्नुपर्ने कुरामा सहमति जनाएका छन्।

यिनै चिन्ताहरूलाई मध्यनजर गर्दै अस्ट्रेलिया र क्यानडासहित २० राष्ट्रले यसै साता एक संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन्। उनीहरूले एआइको सुरक्षित प्रयोगका लागि अझ राम्रा सुरक्षा उपाय, विश्वव्यापी रूपमा एकरूपता भएका मापदण्ड र अन्तर्राष्ट्रिय नियामक निकायको व्यवस्था गर्न माग गरेका छन्।
तर एआइको क्षेत्रमा वर्चस्व कायम गर्न प्रतिस्पर्धा गरिरहेका दुई प्रमुख शक्तिशाली देशहरू, अमेरिका र चीन भने कडा नियमनको विपक्षमा उभिएका छन्। एआइ बाट प्राप्त हुने आर्थिक तथा प्राविधिक लाभहरू हासिल गर्ने होडमा रहेका यी दुवै देशले सुरक्षासम्बन्धी चिन्ताहरूलाई कम आँकलन गर्दै अन्तर्राष्ट्रिय नियमनमा ढिलासुस्ती गरिरहेका छन्।





