
काठमाडाैं, ९ भदाैं । इन्द्रजात्रा (येँयाः) काठमाडौँ उपत्यकाको सबैभन्दा ठूलो र महत्त्वपूर्ण सांस्कृतिक पर्वहरूमध्ये एक हो। यो पर्व विशेष गरी नेवार समुदायद्वारा वर्षा, सहकाल, र समृद्धिका देवता इन्द्र को पूजा-आराधना गरी मनाइन्छ।
पौराणिक कथन अनुसार भगवान् इन्द्रकी आमा डाकिनी (दगीं) ले वसुन्धराको व्रत बस्नका लागि विशेष पूजा अर्चना गर्न पारिजातको फूल (कसै-कसैको मत अनुसार ‘मन्दार’ वा सेतो स्वाँ/फूल) को आवश्यकता परेको थियो।स्वर्गलोकमा उक्त फूल नपाइएकाले भगवान् इन्द्र साधारण मनुष्यको रूप धारण गरी मत्र्यलोक (काठमाडौँ उपत्यकाको मनिचूड वा काठमाडौँ वरपरको क्षेत्र) मा ओर्लिए। इन्द्रले एक किसानको बगैँचामा सुन्दर पारिजातको फूल देखे र धनी/मालिकलाई नसोधीकन चोरेर टिप्न थाले। बगैँचाका मालिक तथा स्थानीयहरूले उनलाई फूल चोर ठाने र तन्त्रशक्तिको प्रयोग गरी नियन्त्रणमा लिएर डोरीले बाँधेर शहरको चोकमा सार्वजनिक प्रदर्शनमा राखे। छोरा धेरै समयसम्म स्वर्ग नफर्किएपछि चिन्तित भएकी आमा डाकिनी (दगीं) इन्द्रलाई खोज्दै काठमाडौँ आइपुगिन्। उनले स्थानीयहरूसँग आफ्ना छोरा स्वर्गका राजा इन्द्र भएको परिचय दिँदै उनलाई मुक्त गर्न प्रार्थना गरिन्।


स्थानीयहरू इन्द्रलाई छाड्न सहमत भए, तर त्यसको बदलामा दुईवटा शर्त/वरदान मागेका थिए, जसअनुसार खेतीपातीका लागि वर्षा र समयमा कुहिरो (कुहासा) दिनुपर्ने, जसले गर्दा धान फसल सप्रियोस्, काठमाडौँमा मृत्यु भएका व्यक्तिहरूको आत्मालाई स्वर्ग लैजानुपर्ने, डाकिनीले यी शर्तहरू स्वीकार गरिन्। इन्द्रलाई मुक्त गरियो र डाकिनीले काठमाडौँ उपत्यकामा कुहिरो (दगीं कुहिः) छाडिदिइन्, जसले शीत पारेर बालीनाली सप्रिन मद्दत गर्यो। त्यसै खुसीयालीमा इन्द्रजात्रा मनाउन थालिएको धार्मिक विश्वास छ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि काभ्रेको नालाबाट ल्याइएको मानन्धर समुदायले इन्द्रध्वजासहितको लिंगो (ध्वज) ठड्याएपछि इन्द्रजात्राको औपचारिक सुरुवात हुन्छ। अनन्त चतुर्दशीका दिन (इन्द्रजात्राको मुख्य दिन) जीवित देवी श्रीकुमारी, गणेश र भैरव लाई रथमा विराजमान गराई वसन्तपुर, तल्लो टोल (तनेने) र माथिल्लो टोल (थनेने) मा परिक्रमा गराइन्छ। जात्राका क्रममा काठमाडौँका सडकहरूमा विभिन्न परम्परागत नृत्यहरू प्रदर्शन गरिन्छ। जस्तै: मझिया लाखे (सबाः भक्कु), महाकाली नाच, देवी नाच र पुलुकिसी (हात्ती) नाच नचाइन्छ ।
श्वेत र आकाश भैरवको पूजा गरी वसन्तपुरस्थित श्वेत भैरव को ठूलो मुखौटाबाट सर्वसाधारणका लागि जाँड र रक्सी (हथ्यः हयेगु) प्रसादका रूपमा बाँड्ने परम्परा छ। त्यस्तै इन्द्रचोकमा आकाश भैरव (किराँती राजा यलम्बरको रूप) को पूजा र दर्शन गरिन्छ भने दगीं (डाकिनी) र बःमाः जात्रा पनि मनाइन्छ । जहाँ आफन्त गुमाएका परिवारहरूले दिवङ्गत आत्माको शान्तिका लागि बत्ती बाल्दै शहर परिक्रमा (उपाकु वनेगु) गर्ने गर्छन्।


सांस्कृतिक तथा सामाजिक महत्त्व
यो पर्व भाद्र शुक्ल पक्षमा पर्छ र यसले वर्षा ऋतुको समाप्ति तथा शरद ऋतुको आगमनलाई सङ्केत गर्छ। एकता र सद्भाव: यो पर्व केवल धार्मिक मात्र नभई सम्पूर्ण उपत्यकावासीलाई सांस्कृतिक रूपमा एकसूत्रमा बाँध्ने माध्यम पनि हो। जात्राको आठौँ दिन (आश्विन कृष्ण चौथी) का दिन हनुमानढोकामा गाडिएको लिङ्गो ढालेर (ध्वजपातन) वागमती नदीमा विसर्जन गरेपछि इन्द्रजात्रा सम्पन्न हुन्छ।





