पाकिस्तानको जवाफी हवाई आक्रमणः अफगान भूमिमा लक्षित कारबाही

पाकिस्तानले बिहीवार अफगानिस्तानको भूभागमा रहेका ड्रोन लन्च साइटहरूलाई लक्षित गरी ‘प्रिसिजन एरियल’ र ‘ड्रोन स्ट्राइक’ गरेको छ । इस्लामावादले यस कदमलाई आफ्नो आत्मरक्षाको अधिकार भन्दै गत सेप्टेम्बर २३ मा पाकिस्तानी सीमामा भएका ड्रोन घुसपैठको जवाफी कारबाहीको रूपमा अथ्र्याएको छ ।

पाकिस्तानका सूचना तथा प्रशारण मन्त्री अताउल्लाह तरारले बिहीवार बिहान सामाजिक सञ्जालमार्फत उक्त कारबाहीको पुष्टि गर्नुभएको हो । मन्त्री तरारका अनुसार, सेप्टेम्बर २३ मा पाकिस्तानी आकाशमा प्रवेश गरेका ड्रोनहरूलाई पाकिस्तानको हवाई प्रतिरक्षा प्रणालीले पहिचान गरी निस्तेज पारेको थियो । सोही घटनाको जवाफमा ‘स्वयं–रक्षा’ का लागि अफगानिस्तानका १० वटा सैन्य साइटहरूमा आक्रमण गरिएको उहाँको दाबी छ ।

मन्त्री तरारले प्रस्ट पार्नुभएको छ की आक्रमण केवल सैन्य उद्देश्यले र पूर्व–पहिचान गरिएका स्थानहरूमा मात्र केन्द्रित थियो । उहाँले अफगान सरकारलाई आफ्नो भूमि पाकिस्तान विरुद्ध हुने कुनैपनि शत्रुतापूर्ण गतिविधि रोक्न कडा चेतावनी समेत दिनुभयो । यता, अफगान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सैन्य कारबाहीको पुष्टि गर्नुभयो ।

टोलो न्युजकाअनुसार बिहीबार स्थानीय समयअनुसार बिहान ३ बजे दक्षिणी अफगानिस्तानको कान्दाहार सहरको नवौं जिल्लामा उक्त आक्रमण भएको थियो । मुजाहिदले आक्रमण मरुभूमि क्षेत्रमा भएको र हालसम्म कुनै मानवीय क्षति वा भौतिक सम्पत्तिको नोक्शानी नभएको जानकारी दिएका छन् । दुई छिमेकी राष्ट्रबीचको यस घटनाले सीमा सुरक्षा र दुई देशबीचको कुटनीतिक सम्बन्धमा नयाँ चुनौती थपेको छ । अफगानिस्तानले पाकिस्तानी दाबीबारे विस्तृत अनुसन्धान गरिरहेको बताइएको छ, जबकि पाकिस्तानले सीमा सुरक्षामा कुनै सम्झौता नगर्ने अडान कायम राखेको छ ।