
काठमाडौँ । कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको अत्यधिक प्रयोगले मानिसको सोच्ने, बुझ्ने र तर्क गर्ने क्षमतामा असर पार्न थालेको भन्दै अनुसन्धानकर्ताले चिन्ता व्यक्त गरेका छन् ।
एआईले केही सेकेन्डमै जटिल प्रश्नको उत्तर र समस्याको समाधान दिन थालेपछि विशेषगरी विद्यार्थीमा आफ्नै दिमाग लगाएर सोच्ने तथा विश्लेषण गर्ने अभ्यास घट्दै गएको उनीहरूको निष्कर्ष छ ।

विश्वभर एआईको प्रयोग तीव्र रूपमा बढिरहेका बेला यसको फाइदा र जोखिमबारे बहस भइरहेका छन् । रोजगारी, गोपनीयता र मानव सुरक्षासँगै एआईमाथिको अत्यधिक निर्भरताले मानिसको बौद्धिक क्षमतामा पार्न सक्ने असर पनि अहिले प्रमुख चासोको विषय बनेको छ ।


अनुसन्धानकर्ताका अनुसार एआईलाई हरेक समस्या समाधान गर्ने माध्यमका रूपमा प्रयोग गर्दा मानिसले आफैं सोच्ने र निष्कर्षमा पुग्ने अभ्यास कम गर्न सक्छ । त्यसको असर दीर्घकालमा सोच्ने तथा तर्क गर्ने क्षमतामा पर्न सक्ने उनीहरूको भनाइ छ ।
पेकिङस्थित छिङह्वा विश्वविद्यालयका शिक्षा अनुसन्धानकर्ता लिक्सियाङ यानले अनलाइन अध्ययनका क्रममा एआई प्रणालीले विद्यार्थीको सट्टामा पूरा गृहकार्य गर्न र प्रश्नको उत्तर दिन सक्ने अवस्था देखेका थिए । उनका अनुसार यस्तो प्रविधिको प्रयोगले विद्यार्थीले आफैं समस्या समाधान गर्ने अवसर कम गर्न सक्छ ।

यसकारण शिक्षकहरूले विद्यार्थीले एआईबाट सामग्री सारेर मात्र गृहकार्य वा परीक्षा पूरा गर्न नसक्ने गरी अध्ययन र मूल्यांकनको ढाँचा बनाउनुपर्ने सुझाव दिइएको छ । व्यक्तिगत अनुभव, व्यावहारिक तथ्यांकको विश्लेषण तथा आफ्नै तर्क प्रस्तुत गर्नुपर्ने कामलाई प्राथमिकता दिनुपर्ने अनुसन्धानकर्ताको भनाइ छ ।
गहन सोच अर्थात् कुनै विषयलाई सतही रूपमा मात्र नहेरी त्यसका कारण, प्रमाण र परिणामबारे विस्तृत रूपमा विचार गर्ने क्षमता सबै विषयमा एउटै तरिकाले प्रयोग नहुने पनि अनुसन्धानमा उल्लेख छ । इतिहास अध्ययन गर्दा विभिन्न स्रोतको विश्वसनीयता जाँच्नु गहन सोचको एउटा उदाहरण हो भने विज्ञानमा प्रमाण र सिद्धान्तबीचको सम्बन्ध बुझ्नु महत्वपूर्ण हुन्छ । त्यसैले विषयअनुसार फरक तर्क पद्धतिको अभ्यास आवश्यक हुने बताइएको छ ।

‘नेचर’ पत्रिकामा प्रकाशित अनुसन्धानअनुसार अमेरिकन एसोसिएसन अफ कलेजेस एन्ड युनिभर्सिटिजले गरेको सर्वेक्षणमा ९० प्रतिशतभन्दा बढी प्राध्यापकले जनरेटिभ एआईले विद्यार्थीको सोच्ने र बुझ्ने क्षमतामा असर पारिरहेको बताएका छन् ।
भर्जिनिया विश्वविद्यालयका वैज्ञानिक ड्यानियल विलिङ्घमका अनुसार सिकाइको प्रक्रिया दिमागलाई चुनौती दिँदा बलियो हुन्छ । त्यसैले एआईले दिएको उत्तरलाई मात्र स्वीकार गर्नुको सट्टा त्यसको आधार, स्रोत र सत्यतामाथि आफैं प्रश्न गर्नुपर्ने उनको सुझाव छ ।

अनुसन्धानकर्ताहरूले कुनै जानकारी प्राप्त भएपछि त्यसको स्रोत कहाँबाट आएको हो, त्यो पूर्ण रूपमा सत्य हो कि होइन र त्यसलाई पुष्टि गर्ने प्रमाण के छन् भन्ने प्रश्न आफैंलाई गर्न सुझाव दिएका छन् । एआई प्रयोग गर्दा पनि सीधा उत्तर माग्नुको सट्टा आफूलाई सोच्न, प्रतिप्रश्न गर्न र आफ्ना गल्ती पत्ता लगाउन प्रेरित गर्ने प्रश्न गर्नुपर्ने उनीहरूको भनाइ छ ।

त्यस्तै, कुनै विषयमा निर्णय गर्दा भावना वा पूर्वाग्रहका आधारमा निष्कर्षमा पुग्नुको सट्टा तथ्यांक र प्रमाणलाई आधार बनाउनुपर्ने बताइएको छ । आफ्नो सोच वा रुचिले कुनै निष्कर्षलाई प्रभावित गरिरहेको छ कि छैन भन्ने विषयमा समेत सचेत हुनुपर्ने अनुसन्धानकर्ताको सुझाव छ । एउटै पक्षलाई मात्र आधार नबनाई फरक–फरक दृष्टिकोणबाट विषयलाई बुझ्ने अभ्यासले पनि तार्किक क्षमता विकास गर्न सहयोग गर्ने बताइएको छ ।
अनुसन्धानकर्ताका अनुसार गहन सोच र तार्किक क्षमता रातारात विकास हुने होइन । निरन्तर अध्ययन, विभिन्न विषयको गहिरो बुझाइ र नियमित अभ्यासबाट मात्र यस्तो क्षमता बलियो बन्ने भएकाले एआईको सुविधा प्रयोग गरे पनि मानिसले आफ्नै दिमाग लगाएर सोच्ने अभ्यासलाई निरन्तरता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।




