
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्यालेस्टिनी शरणार्थीका लागि कार्यरत मुख्य निकाय युएनआरडब्ल्युएको कार्यक्षमता र भविष्य संकटमा रहेको भन्दै तत्काल राजनीतिक र आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको छ । न्यूयोर्कमा आयोजित राष्ट्रसंघीय महासभाको साइडलाइन बैठकमा उनले युद्धका कारण संस्थाले भोग्नुपरेको मानवीय क्षति र इजरायलबाट भइरहेका अवरोधप्रति असन्तुष्टि व्यक्त गर्नुभएको हो ।
सन् २०२३ को अक्टोबरमा गाजामा युद्ध सुरु भएयता युएनआरडब्ल्युएले अभूतपूर्व चुनौती र क्षति व्यहोरिरहेको महासचिव गुटेरेसले बताउनु भयो । युद्धको यो अवधिमा संस्थाका करिव ४०० जना कर्मचारीले ज्यान गुमाएका छन् भने कैयौं कार्यालयहरू ध्वस्त वा क्षतिग्रस्त भएका छन् ।


विशेषगरी पूर्वी जेरुसेलममा विद्यालय र स्वास्थ्य केन्द्रहरू जबर्जस्ती बन्द गराइएको, बिजुली र पानीको आपूर्ति अवरुद्ध पारिएको र मुख्यालयमा अनधिकृत प्रवेश भई संरचनामा क्षति पु¥याइएको महासचिवको भनाइ छ । उहाँले यी कार्यहरू अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रविपरीत रहेको टिप्पणी गर्नुभयो ।

राजनीतिक रूपमा पनि संस्थाले निरन्तर दबाब र दुष्प्रचारको सामना गरिरहेको छ । इजरायलले आफ्ना कर्मचारीलाई भिसा दिन इन्कार गर्ने, समन्वय बैठकबाट बाहिर राख्ने र कर्मचारीलाई धम्काउने काम गरिरहेको छ । यसका अतिरिक्त, संस्था अहिले १० करोड अमेरिकी डलरको गम्भीर आर्थिक घाटाको चपेटामा छ, जसले गर्दा लाखौं शरणार्थीको जीविकामा प्रत्यक्ष असर पर्ने देखिएको छ ।
महासभाले डिसेम्बरमा मात्रै तीन वर्षका लागि संस्थाको म्यान्डेट नवीकरण गरे पनि हालको अवस्थामा काम गर्न असम्भवप्रायः बनेको गुटेरेसले औंल्याउनु भयो । उहाँले क्षेत्रीय स्थिरता कायम राख्न र प्यालेस्टिनी शरणार्थीको अधिकार रक्षाका लागि सदस्य राष्ट्रहरूलाई तत्काल ठोस कदम चाल्न आग्रह गर्नुभयो ।





