
थाइल्याण्डको राजधानी बैंककका सबै ५० वटै जिल्लालाई बाढी प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ । सहरको विपद् रोकथाम तथा न्युनिकरण कमाण्डले जारी गरेको औपचारिक विज्ञप्तिअनुसार बैंककका गभर्नर चाडचार्ट सिटिपन्टले यससम्बन्धी आदेशमा हस्ताक्षर गरेसँगै राजधानी पूर्ण रूपमा उच्च जोखिममा परेको पुष्टि भएको हो ।
थाइल्याण्डको मौसम विज्ञान विभागकाअनुसार पछिल्लो केही दिनयता जारी रहेको भीषण वर्षा न्युन चापीय प्रणाली र मनसुनी रेखाको प्रभावका कारण उत्पन्न भएको हो । यसले गर्दा राजधानी बैंकक मात्र नभई देशका उत्तरी, उत्तरपूर्वी, मध्य, पूर्वी र दक्षिणी भेगमा समेत बाढीको खतरा बढेको छ ।


विभागले सेप्टेम्बर २५ देखि २७ सम्म अधिकांश क्षेत्रमा भारी वर्षा हुने र केही स्थानमा अति भारी वर्षाको सम्भावना रहेको भन्दै पूर्वसूचना जारी गरेको छ । निरन्तरको वर्षाका कारण सहरका बस्तीहरू डुबानमा पर्ने र पहाडी क्षेत्रमा पहिरो तथा लेदो खस्ने जोखिम बढेको भन्दै स्थानीय प्रशासनले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

बाढीको प्रभाव जमिनमा मात्र सिमित नरही तटीय क्षेत्रमा पनि देखिएको छ । मौसम विभागले माथिल्लो थाइल्याण्डको खाडीमा २ देखि ३ मिटर अग्लो छाल आउन सक्ने चेतावनी दिएको छ भने माथिल्लो अन्डमन सागरमा पनि लहरहरूको उचाइ २ मिटरसम्म पुग्न सक्ने आकलन गरिएको छ । प्रशासनले सामुद्रिक क्षेत्रमा रहेका सबै जहाजहरूलाई सावधानीपूर्वक यात्रा गर्न र सुरक्षित स्थानमा रहन निर्देशन दिएको छ ।
वर्षा अझै जारी रहने पूर्वानुमान गरिएकाले आगामी केही दिन बैंककबासीका लागि चुनौतीपूर्ण रहने देखिएको छ। हालसम्म मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण नआए पनि उद्धार टोलीहरूलाई ‘हाई अलर्ट’ मा राखिएको छ ।




