एथेन्सको ऐतिहासिक क्षेत्रमा भीषण विस्फोटः भवन भत्किँदा ६ जनाको मृत्यु, ३ घाइते

ग्रिसको राजधानी एथेन्सस्थित ऐतिहासिक एक्रोपोलिस नजिकै एक दुईतले भवनमा भएको शक्तिशाली विस्फोटमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । भग्नावशेषबाट शनिवार ६ जनाको शव निकालिएको ग्रिसको सरकारी प्रशारण संस्था ईआरटीले पुष्टि गरेको छ ।

स्थानीय समयअनुसार शुक्रवार बिहान करिव ७ः३० बजे एथेन्सको ऐतिहासिक प्लाका जिल्लास्थित लिसिक्राटस स्ट्रिटमा रहेको दुईतले भवनमा भीषण विस्फोट भएको थियो । विस्फोटको तिब्रताका कारण भवनको ठूलो भाग पूर्ण रूपमा भत्किएको थियो ।

ग्रिक अग्नि नियन्त्रण दलका प्रवक्ता भासिलिस वाथ्राकोगियानिसका अनुसार घटनालगत्तै उद्धार टोली खटिएको र शनिवार भग्नावशेष खोतल्ने क्रममा अचेत अवस्थामा फेला परेका ६ जनालाई एम्बुलेन्समार्फत आकस्मिक स्वास्थ्य केन्द्र पु¥याइएको थियो, जहाँ चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए ।

प्रारम्भिक विवरणअनुसार मृतकहरूमध्ये पहिलो तलामा रहेको छोटो अवधिको भाडाको अपार्टमेन्ट (सर्ट–टर्म रेन्टल) मा बसिरहेका चार जना अमेरिकी नागरिक रहेका छन् ।

त्यस्तै दोस्रो तलामा बस्दै आएकी एक वृद्ध ग्रिक महिला र उनका बेलायती पतिको पनि दुर्घटनामा ज्यान गएको पुष्टि भएको छ । घटनामा नजिकैको अर्को भवनमा रहेका दुई महिला तथा सडकमा हिँडिरहेका एक पैदलयात्री घाइते भएका छन् । उनीहरूलाई उद्धार गरी तत्काल उपचारका लागि स्थानीय अस्पताल भर्ना गरिएको छ । विस्फोटको वास्तविक कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन् । स्थानीय बासिन्दाहरूले विस्फोट हुनुअघि ग्यासको गन्ध आएको बताएकाले प्राकृतिक ग्यास आपूर्ति सञ्जालमा प्राविधिक गडबडी वा चुहावटका कारण विस्फोट भएको हुनसक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको ग्रिक सुरक्षा निकायहरूले जनाएका छन् ।