एल निनोको प्रभाव अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण

काठमाडौँ । चीनको राष्ट्रिय जलवायु केन्द्रले हाल विकसित भइरहेको एल निनो घटना अहिलेसम्मकै शक्तिशाली बन्न सक्ने प्रक्षेपण गरेको छ ।

केन्द्रका अनुसार भूमध्यरेखीय प्रशान्त महासागरको मध्य तथा पूर्वी भागको समुद्री सतहको तापक्रम सूचकांक नोभेम्बर आसपास ३.२ देखि ३.५ डिग्री सेल्सियससम्म पुग्न सक्नेछ ।

राष्ट्रिय जलवायु केन्द्रका अनुसार भूमध्यरेखीय प्रशान्तको मध्य तथा पूर्वी क्षेत्रमा यस वर्षको मेदेखि एल निनोको अवस्था विकास भएको थियो । जुनदेखि अगस्टसम्म समुद्री सतहको तापक्रम सूचकांक औसत २.०९ डिग्री सेल्सियस पुगेको थियो भने अगस्टमा यो २.५९ डिग्री सेल्सियस पुगेको थियो ।

सेप्टेम्बरदेखि समुद्री सतहको तापक्रम निरन्तर बढिरहेको छ । पाँच दिन र १० दिनको अवधिमा पहिलोपटक सूचकांक ३ डिग्री सेल्सियसभन्दा माथि पुगेको केन्द्रले जनाएको छ ।

यसअघि सन् १९८२–८३, १९९७–९८ र २०१५–१६ मा तीनवटा अत्यन्त शक्तिशाली एल निनो घटना रेकर्ड भएका थिए । राष्ट्रिय जलवायु केन्द्रका निर्देशक चाओ छिङछेनका अनुसार हालको समुद्री तापक्रम सूचकांक र तापक्रम बढ्ने गति ती तीनवटै घटनाको सोही चरणको तुलनामा उल्लेखनीय रूपमा बढी छ ।

चीनको राष्ट्रिय मापदण्डअनुसार एल निनोको उच्चतम सूचकांक २.५ डिग्री सेल्सियस वा त्यसभन्दा माथि पुगेमा त्यसलाई अत्यन्त शक्तिशाली एल निनो मानिन्छ । राष्ट्रिय जलवायु केन्द्रका अनुसार विकसित भइरहेको एल निनोले शरद् र हिउँदभर चीनको मौसममा प्रभाव पार्नेछ । अक्टोबर र नोभेम्बरमा मध्य तथा पूर्वी चीनका अधिकांश क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ ।

याङ्त्से नदीको दक्षिणमा पर्ने तटीय क्षेत्रका अधिकांश भाग तथा दक्षिणपश्चिम चीनका पूर्वी क्षेत्रका केही स्थानमा सामान्यभन्दा ५० देखि ८० प्रतिशतसम्म बढी वर्षा हुन सक्ने केन्द्रले जनाएको छ । यसले अत्यधिक वर्षा र त्यसबाट हुने प्राकृतिक विपद्को जोखिम बढाउने अनुमान गरिएको छ ।

सन् २०२६ को डिसेम्बरदेखि २०२७ को फेब्रुअरीसम्म चीनभर तापक्रम सामान्यभन्दा बढी रहने अनुमान गरिएको छ । यद्यपि यस अवधिमा चिसो हावाको लहर केही बढी आउन सक्ने र तापक्रममा तीव्र उतारचढाव हुन सक्ने केन्द्रले जनाएको छ ।

एल निनो सन् २०२७ को वसन्त र गर्मीयाममा तीव्र रूपमा कमजोर हुँदै अन्त्य हुने अनुमान गरिएको छ । तर त्यसको जलवायु प्रभाव त्यसपछि पनि कायम रहन सक्ने बताइएको छ। विशेषगरी चरम मौसमका घटना तथा गर्मीयाममा बढी शक्तिशाली र व्यापक तातो हावा चल्ने सम्भावना रहेको छ ।

images

विश्व मौसम विज्ञान संगठनले पनि सेप्टेम्बर ३ मा सार्वजनिक गरेको पछिल्लो एल निनो विवरणमा यो घटना स्पष्ट रूपमा विकसित भइसकेको र वर्षको अन्त्यतिर उच्चतम अवस्थामा पुग्नुअघि अझ शक्तिशाली बन्न सक्ने जनाएको थियो ।  विश्व मौसम विज्ञान संगठनका अनुसार सन् २०२७ को फेब्रुअरीसम्म एल निनो कायम रहने सम्भावना करिब १०० प्रतिशत रहेको छ ।

प्रशान्त महासागरको सतहको पानी सामान्य अवस्थाभन्दा धेरै तात्ने प्राकृतिक जलवायु प्रक्रियालाई एल निनो भनिएको छ ।

images