
काठमाडौँ । बलिउड निर्माता तथा निर्देशक करण जौहरको चर्चित कार्यक्रम ‘कफी विथ करण’ २२ वर्ष लामो यात्रापछि बन्द हुने भएको छ ।
कार्यक्रमको नवौँ तथा अन्तिम सिजन आगामी १४ अक्टोबरदेखि जियोहटस्टारमा प्रसारण हुने भएको छ । करण जौहरले अन्तिम सिजनको घोषणा गर्दै कार्यक्रमसँग जोडिएको लामो यात्रालाई सम्झिएका छन् । सन् २००४ मा सुरु भएको यस कार्यक्रमका हालसम्म आठ सिजनमा १६१ भाग प्रसारण भइसकेका छन् ।


अन्तिम सिजनको घोषणा गर्दै करणले केही यात्रा आफूले अन्त्य गर्ने योजना नबनाए पनि एक समयपछि त्यसलाई अघि बढ्न दिनुपर्ने निर्णय गर्नुपर्ने बताएका छन् । उनले दर्शकले कार्यक्रमसँगै हाँसेको, बहस गरेको, आलोचना गरेको र उत्सव मनाएको उल्लेख गर्दै हरेक पटक अर्को कप कफीका लागि दर्शक फर्किरहनु कार्यक्रमको यात्राको महत्वपूर्ण पक्ष भएको बताएका छन् ।

कार्यक्रमका धेरै भागमा भएका कुराकानी विवादमा समेत परेका थिए । सन् २०१९ मा हार्दिक पाण्ड्या र केएल राहुल सहभागी भएको कार्यक्रममा महिलाबारे पाण्ड्याले गरेको टिप्पणी विवादित बनेपछि दुवै क्रिकेटरलाई भारतीय क्रिकेट नियन्त्रण बोर्डले अनुसन्धान नसकिँदासम्म निलम्बन गरेको थियो । पछि निलम्बन हटाइएको थियो। विवादपछि उक्त भाग डिजिटल मञ्चबाट समेत हटाइएको थियो ।
त्यस्तै, सन् २०१७ मा कंगना रनोटले कार्यक्रममा करण जौहरलाई ‘मुभी माफिया’ भन्दै चलचित्र क्षेत्रमा नातावादको प्रवर्द्धक भएको आरोप लगाएपछि यो विषय व्यापक चर्चामा आएको थियो । पछिल्लो समय सन् २०२३ मा रणवीर सिंह र दीपिका पादुकोण सहभागी भएको कार्यक्रममा दीपिकाले आफ्नो सुरुवाती डेटिङ जीवनबारे गरेको खुलासाले पनि सामाजिक सञ्जालमा विवाद र ट्रोलिङ निम्त्याएको थियो ।

यसअघि सन् २०१० मा प्रसारित तेस्रो सिजनमा दीपिका पादुकोण र सोनम कपूर सहभागी भएको कार्यक्रममा पनि रणवीर कपूरसँग सम्बन्धित प्रश्नमा दीपिकाको जवाफ चर्चामा आएको थियो । करणले रणवीरलाई कुन उत्पादनको विज्ञापन गर्न लगाउनुपर्ने भनेर सोध्दा दीपिकाले विवादास्पद जवाफ दिएकी थिइन् । त्यसबेला दीपिका र रणवीरको सम्बन्ध टुटिसकेको थियो र उनको टिप्पणीपछि रणवीरका अभिभावक ऋषि कपूर र नीतु कपूर असन्तुष्ट बनेको विवरण सार्वजनिक भएको थियो ।




