जितिया पर्वमा पोखरीमा डुबेका चार बालिकाको मृत्यु, ८ घण्टामै परिवारलाई ४-४ लाख राहत

१७ असोज । भारतको बिहारस्थित पूर्वी चम्पारण जिल्लाको मोतीहारी पहाडपुर क्षेत्रमा जितिया पर्वका अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर चार बालिकाको मृत्यु भएको छ।

घटनामा पहाडपुर क्षेत्रकी प्रतिभा कुमारी, सोनमती कुमारी, फूलमती कुमारी र कीर्ति कुमारीको मृत्यु भएको भारतीय प्रशासनले जनाएको छ। मृतकमध्ये प्रतिभा कुमारी अच्छेलाल पासवानकी छोरी, सोनमती र फूलमती प्रमोद महतोका छोरी तथा कीर्ति कुमारी वीरेन्द्र महतोकी छोरी हुन्।

जितिया पर्वका अवसरमा पोखरीमा नुहाउने क्रममा बालिकाहरू पानीमा डुबेका थिए। घटनापछि स्थानीयवासी तथा प्रशासनको पहलमा उद्धारको प्रयास गरिए पनि चारै जनाको मृत्यु भएको जनाइएको छ।

पूर्वी चम्पारणका जिल्ला अधिकारीको निर्देशनमा मृतकका निकटतम आफन्तलाई घटनाको ८ घण्टाभित्रै जनही ४ लाख भारतीय रुपैयाँ राहत रकम चेकमार्फत उपलब्ध गराइएको प्रशासनले जनाएको छ।

घटनाले पर्वका बेला पोखरी, नदी तथा अन्य जलाशयमा नुहाउने क्रममा बालबालिकाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने आवश्यकता देखाएको छ। ग्रामीण क्षेत्रमा पर्व तथा धार्मिक अवसरमा ठूलो संख्यामा मानिसहरू जलाशयमा जाने भएकाले स्थानीय प्रशासनले जोखिमयुक्त स्थान पहिचान गरी निगरानी र सुरक्षाको व्यवस्था गर्नुपर्ने देखिन्छ।