रुपन्देहीमा गोली चलाएर बालिका अपहरणका आरोपी पक्राउ

रुपन्देही । तिलोत्तमा नगरपालिका–१७ दरखसवाबाट हराएकी १० वर्षीया बालिका सकुशल फेला परेकी छन् । बालिका हराएको सूचना पाएपछि प्रहरीले खोजतलास गर्ने क्रममा असोज १६ गते तिलोत्तमा–१० स्थित चक्रहवा जंगलबाट उनलाई सकुशल फेला पारेको हो ।

बालिका अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले तिलोत्तमा–१० शान्तिनगरका करिब २७ वर्षीय युवराज थारुलाई खोजी गरिरहेको थियो । उनलाई असोज १८ गते राति तिलोत्तमा–१७ दरखसवास्थित धानबारीबाट नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडामुनि गोली प्रहार गरेको जनाएको छ ।

गोली लागेर घाइते भएका थारुको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा उपचार भइरहेको छ । प्रहरीले बालिका सकुशल उद्धार भइसकेको जनाएको छ । घटनाबारे थप अनुसन्धान इलाका प्रहरी कार्यालय, बुटवलबाट भइरहेको प्रहरीले जनाएको छ ।