
बुटवल । ‘युवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने नारासहित पहिलो पाईला नेपाल, बुटवल शाखाले आयोजना गरेको बृहत् रक्तदान कार्यक्रममा ४० पिन्टभन्दा बढी रगत संकलन भएको छ। कार्यक्रममा २५ जना युवाले पहिलोपटक रक्तदान गरेका छन्।


पछिल्लो समय देखिएको रगत अभावलाई केही हदसम्म न्यूनीकरण गर्ने र युवापुस्तालाई रक्तदानप्रति प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। रक्तदानसँगै युवालाई सामाजिक तथा मानवीय सेवाका गतिविधिमा जोड्ने लक्ष्यसमेत कार्यक्रमले लिएको थियो।


पहिलो पाईला नेपाल, बुटवल शाखाका अध्यक्ष गौरव खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव रक्षा न्यौपानेले गर्नुभएको थियो। कार्यक्रमको संयोजन कार्यसमिति सदस्य प्रकाश जी.सी.ले गर्नुभएको थियो।


कार्यक्रममा नियमित रक्तदाता समाजका अध्यक्ष अशिष सिलवाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै, पहिलो पाईला नेपालका केन्द्रीय कार्यसमिति सदस्य तथा बुटवल शाखाका पूर्वअध्यक्ष सन्तोष बन्जाडे, केन्द्रीय कार्यसमिति सदस्य तथा सचिवालय सदस्य राजन अधिकारी, केन्द्रीय सदस्य सन्तोष खरेल र धाकाबाङ रुपन्देही सम्पर्क समाजका सचिव शिवलाल खनाललगायतको उपस्थिति रहेको थियो।


संस्थाका सल्लाहकार अनुपमान सैजु र गंगाधर न्यौपानेसहित शाखाका पदाधिकारी, कार्यसमिति सदस्य तथा स्थानीय युवाहरूको सहभागिता रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले प्राविधिक सहजीकरण गरेको थियो।

रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले युवाहरूको सहभागिताले सामाजिक सेवाप्रतिको जिम्मेवारी र चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने आयोजकको विश्वास छ। पहिलो पाईला नेपाल, बुटवल शाखाले आगामी दिनमा पनि रक्तदानलगायत जीवनरक्षक तथा सामाजिक सेवामूलक अभियानलाई निरन्तरता दिने जनाएको छ।






