काँग्रेसको १५ औँ महाधिवेशन केवल पद बाँडफाँटका लागि होइन, आत्मसमीक्षा र पुनर्जागरणको थलो बन्नुपर्छः उपसभापति भुसाल

नेपाली काँग्रेसकी उपसभापति पुष्पा भुसालले पार्टीको १५ औँ ऐतिहासिक महाधिवेशन केवल पद र नेतृत्व व्यवस्थापन गर्ने माध्यम मात्र नभई पार्टीको आत्मसुधार, पुनर्जागरण र नीतिगत पुनर्संरचनाको थलो बन्नुपर्ने बताउनुभएको छ ।

काठमाडौंको खुलामञ्चमा आईतवारदेखि शुरु भएको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले जनतामाझ गुम्दै गएको विश्वास फर्काउन र नयाँ पुस्ताको आकाङ्क्क्षा सम्बोधन गर्न काँग्रेसले निर्मम आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको हो ।

उपसभापति भुसालले काँग्रेस २००४ सालदेखि निरन्तर लोकतन्त्रका लागि सङ्घर्ष गर्दै आएको ऐतिहासिक शक्ति भएकाले वर्तमान र भविष्यको स्पष्ट मार्गचित्र कोर्ने दायित्व यसै महाधिवेशनको काँधमा रहेको स्पष्ट पार्नुभयो ।