
संयुक्त राज्य अमेरिकाको नान्टाकेट तट नजिकै दुर्घटनाग्रस्त भएको एयर एम्बुलेन्समा सवार ६ जना यात्रु र विमानको ‘ब्ल्याक बक्स’को खोजी कार्य जारी छ । फेडरल एभिएसन एडमिनिस्ट्रेससँग सम्पर्क विच्छेद भएको सो विमानका भग्नावशेषहरू समुद्रमा फेला परेपछि अमेरिकी तटीय सुरक्षा बलले उद्धार र अनुसन्धान कार्यलाई तिब्रता दिएको हो ।सो विमान शनिवार बिहान बर्मुडास्थित एल.एफ. वेड अन्तर्राष्ट्रिय विमानस्थलबाट बोस्टनको लोगान अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडिरहेको थियो । बिहान करिव १ः२५ बजे अवतरण गर्ने तालिका रहेको विमान अचानक राडारबाट हराएपछि खोजी कार्य शुरु गरिएको थियो । विमानमा क्यानडाका चार नागरिक र बर्मुडाका दुई नागरिक गरी जम्मा ६ जना सवार थिए ।
अमेरिकी तटीय सुरक्षा बलका कमान्डर म्याट लेककाअनुसार शनिवार बिहान २ बजेदेखि शुरु गरिएको यस अभियानमा न्यूयोर्क नेसनल गार्ड र म्यासाचुसेट्सका अधिकारीहरूले सहकार्य गरिरहेका छन् । हालसम्म २ हजार ८ सय ४० वर्ग माइल क्षेत्रमा करिव साढे ५३ घण्टाभन्दा बढी समय खोजी भइसकेको छ । समुन्द्रको करिव ८० देखि ९० फिट गहिराइमा विमानका भग्नावशेषहरू छरिएको पाइएको छ ।


अधिकारीहरूका लागि ‘ब्ल्याक बक्स’ पत्ता लगाउनु मुख्य चुनौती बनेको छ । भग्नावशेषहरू ठूलो क्षेत्रमा छरिएका कारण ब्ल्याक बक्सको पहिचान गर्न कठिनाइ भइरहेको खोजी तथा उद्धार समन्वयकर्ता कास्ट्रियोट कास्ट्राटीले बताएका छन् ।

दुर्घटनास्थल नान्टाकेट तटबाट करिब ३२ किलोमिटर टाढा रहेको छ भने उक्त स्थानमा समुन्द्रको गहिराइ २४ देखि २८ मिटर रहेको बताइएको छ । दुर्घटनाको ठोस कारण अझै खुल्न सकेको छैन । ब्ल्याक बक्स फेला परे पश्चात् मात्र दुर्घटनाको मुख्य कारण र विमानको अवस्थाबारे विस्तृत जानकारी प्राप्त हुने अनुमान गरिएको छ ।




