रुसी तेल ट्यांकरमा युक्रेनको ड्रोन हमला

काठमाडौं । रुसको ब्ल्याक सीमा लाइबेरियाको झन्डा बोकेको तेल ट्यांकरमा ड्रोन हमला भएपछि आगलागी भएको छ । ट्यांकरमा रहेका २३ जना भारतीय चालक दलका सदस्यलाई आपत्कालीन टोलीले सकुशल उद्धार गरेको छ ।

रुसको यातायात मन्त्रालयका अनुसार युक्रेनबाट आएको ड्रोनले ट्यांकरमा हमला गरेको थियो । हमलापछि जहाजमा ठूलो आगलागी भएको र समुद्रमा कच्चा तेलसमेत जलिरहेको देखिएको थियो । सुरुमा आगोको तीव्रताका कारण उद्धार तथा दमकल टोली जहाजसम्म पुग्न सकेका थिएनन् ।

उक्त जहाज युक्रेनको प्रतिबन्ध सूचीमा रहेको र रुसको कथित ‘छायाँ जहाज’ सञ्जालको हिस्सा रहेको बताइएको छ । यस्ता जहाजमार्फत रुसले पश्चिमी प्रतिबन्ध छल्दै तेल तथा अन्य सामग्री निर्यात गर्ने गरेको आरोप छ । युक्रेनले गत फेब्रुअरीमा उक्त जहाजमाथि प्रतिबन्ध लगाएको थियो ।

ब्ल्याक सीमा पछिल्लो दुई महिनामा रुस र युक्रेनले ३०० भन्दा बढी जहाजलाई निशाना बनाएको दाबी गरिएको छ । यसबाट तेल, अनाज तथा अन्य मालसामानको समुद्री ढुवानी प्रभावित भएको छ ।

रुस र युक्रेनले विश्वको करिब ३० प्रतिशत गहुँ निर्यात गर्ने भएकाले लगातारको तनावले अन्तर्राष्ट्रिय खाद्य आपूर्तिमा असर पर्न सक्ने चिन्ता बढेको छ ।

रुसको अनाज निर्यात पनि प्रभावित भएको छ । अगस्टमा रुसी अनाज निर्यात ५९ लाख टनबाट घटेर १७ लाख टन पुगेको थियो, जुन ७१ प्रतिशत कमी हो । सेप्टेम्बरमा निर्यात करिब ५० प्रतिशत घटेर २४ लाख ५० हजार टनमा सीमित हुने अनुमान गरिएको छ । रुसी गहुँ खरिद गर्ने देशको संख्या ४३ बाट १६ तथा अनाज निर्यात गर्ने बन्दरगाहको संख्या ४७ बाट १० मा झरेको बताइएको छ ।

युक्रेनले समुद्री मार्ग प्रभावित भएपछि सडक, रेल र डेन्यूब नदीमार्फत अनाज निर्यात बढाएको छ । तर यी मार्गको क्षमता समुद्री बन्दरगाहभन्दा कम छ । सन् २०२५–२६ मा युक्रेनले २ करोड ३० लाख टन मकै निर्यात गरेको थियो, जुन विश्वको कुल मकै निर्यातको करिब १२ प्रतिशत हो । ब्ल्याक सीमा तनाव लम्बिएमा गहुँसँगै मकैको विश्वव्यापी आपूर्तिमा समेत असर पर्न सक्ने देखिएको छ ।