
काठमाडौं, २२ असोज । त्रिभुवन विश्वविद्यालय सभाले ग्रेस लिष्ट र साधारण बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम तथा बजेट पारित गरेको छ ।
शिक्षा तथा खेलकुदमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा त्रिभुवन स्मृति भवनको सभाकक्षमा बिहीबार बसेको सभाको छुट्टाछुट्टै बैठकले ग्रेस लिष्ट र बजेट पारित गर्नुका साथै गत साउन १ देखि असोज २१ सम्म भएको पुँजीगत खर्चको समर्थन र त्रिवि कार्यकारी परिषद्को सदस्यहरुको र त्रिवि पुनरावेदन आयोगमा भएका नियुक्तहरुको अनुमोदन गरेको छ ।


त्रिभुवन विश्वविद्यालय सभाको ६७औं बार्षिक दिवस बैठकले ६४औं ग्रेसलिस्टमा समावेश २०८२ असार १ देखि २०८३ असार मसान्तसम्म ट्रान्सक्रिप्ट लिइसकेका कुल ९५ हजार ५ सय ४० विद्यार्थीको ग्रेस लिष्ट पारित गरेको छ ।

ग्रेसलिष्टमा व्यवस्थापन संकायका ४३ हजार १४२, शिक्षाशास्त्र संकायका १९ हजार ५३३, मानविकी तथा सामाजिकशास्त्र संकायका १५ हजार ४४१, कानून संकायका ३ हजार १, विज्ञान तथा प्रविधि अध्ययन संस्थानका ६ हजार ६८८, इन्जिनियरिङ अध्ययन संस्थानका पाँच हजार १६०,चिकित्साशास्त्र अध्ययन संस्थानका एक हजार ९२०, कृषि र पशुविज्ञान अध्ययन संस्थानका ४६३ र वनविज्ञान अध्ययन संस्थानका १९२ विद्यार्थी रहेका छन् ।
जम्मा विद्यार्थीहरुमध्ये स्नातक तहमा ७२ हजार ४०४, स्नातकोत्तर तहमा २२ हजार ५३३, एमफिल तहमा २५३, पिजीडीएसतर्फ १८४ र विद्यावारिधि तर्फ १६६ जना रहेका छन् ।





