विश्वकै सबैभन्दा बढी जोडिएको विमानस्थल बन्यो इस्तानबुल

काठमाडौँ । टर्कीको आईजीए इस्तानबुल विमानस्थल विश्वकै सबैभन्दा बढी जोडिएको विमानस्थल बनेको छ ।

विश्वव्यापी विमानस्थलको तथ्यांक प्रदायक ओएजीको मेगाहब्स २०२६ सूचकांकमा इस्तानबुलले बेलायतको लन्डन हिथ्रो विमानस्थललाई पछि पार्दै पहिलो स्थान हासिल गरेको हो ।

सूचकांकमा एम्स्टर्डम सिफोल तेस्रो, क्वालालम्पुर चौथो र शिकागो ओ’हारे पाँचौँ स्थानमा छन् । ओएजीले अन्तर्राष्ट्रिय उडानको संख्या, उडानबीचको जोडिने सुविधा र गन्तव्यको संख्याका आधारमा वरीयता निर्धारण गरेको हो ।

इस्तानबुल विमानस्थल अहिले विश्वका करिब ३५० गन्तव्यसँग जोडिएको छ । सन् २०१८ मा करिब १२ अर्ब अमेरिकी डलर लागतमा सञ्चालनमा आएको विमानस्थल ७ करोड ६५ लाख वर्गमिटर क्षेत्रमा फैलिएको छ, जुन न्यूयोर्कको म्यानहट्टनभन्दा पनि ठूलो क्षेत्र हो । विमानस्थलबाट वार्षिक ८ करोड ४० लाखभन्दा बढी यात्रुले आवतजावत गर्छन् ।

विमानस्थलको दीर्घकालीन योजना वार्षिक २० करोड यात्रु धान्न सक्ने क्षमता बनाउने रहेको छ । हाल चौथो मुख्य धावनमार्ग सञ्चालनमा आइसकेको छ भने अन्तिम योजनामा ६ मुख्य र ३ वैकल्पिक गरी ९ वटा धावनमार्ग निर्माण गर्ने लक्ष्य छ ।

इस्तानबुलको हवाई सम्पर्क विस्तारमा टर्किस एयरलाइन्सको पनि महत्वपूर्ण भूमिका रहेको छ । विमानस्थलबाट हुने उडानमध्ये करिब ८० प्रतिशत हिस्सा यही वायुसेवाको रहेको बताइएको छ । टर्किस एयरलाइन्सले सन् २०२६ मा करिब १३० देशमा उडान सञ्चालन गरिरहेको छ ।

लन्डन हिथ्रो र एम्स्टर्डम सिफोलमा विस्तार तथा उडान संख्यामा विभिन्न सीमितता रहेकाले इस्तानबुल विमानस्थलले थप विस्तारको अवसर पाएको विश्लेषण गरिएको छ । रूस–युक्रेन युद्ध र मध्यपूर्वको तनावका बीच पनि इस्तानबुलको भौगोलिक अवस्थिति र विस्तार हुँदै गएको हवाई सम्पर्कले यसलाई युरोप, एसिया र मध्यपूर्व जोड्ने महत्वपूर्ण विमानन केन्द्रका रूपमा स्थापित गरिरहेको छ ।