आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणबाट छुटेका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता एवं कलाकार हिमेश पन्तको निवेदनका आधारमा साइबर ब्युरोले शनिबार बिहान श्रेष्ठलाई नियन्त्रणमा लिएको थियो । साइबर ब्युरोमा दुवै जनाबीच भएको लामो छलफलपछि श्रेष्ठलाई छाडिएको छ । श्रेष्ठ सम्पादक रहेको जनआस्था साप्ताहिकले पन्तले अर्काको जग्गा कब्जा गरेको भन्दै समाचार सम्प्रेषण गरेको थियो । सो समाचारप्रति आपत्ति जनाउँदै पन्तले साइबर ब्युरोमा दिएको निवेदनका आधारमा प्रहरीले श्रेष्ठलाई ललितपुरको नख्खु, बागडोलस्थित उनकै घरबाट नियन्त्रणमा लिएको थियो। त्यस्तै श्रेष्ठले पनि पन्तविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका थिए । ब्यूरोमा दुवैबीच समाचारका विषयमा प्रेस काउन्सिलमा छलफल गर्ने सहमति भएको बताइएको छ ।

२- क्यानडाले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग- २ अन्तर्गतको सिरिजको खेलमा नेपाललाई २४ रनले पराजित गरेको छ । क्यानडाले दिएको २५७ रनको लक्ष्य पछाएको नेपालले ४६ ओभरमा अल आउट हुदै २३२ रन बनाएपछि खेल २४ रनले हारेको हो । नेपालका लागि अर्जुन कुमालले सर्बाधिक ८७ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले २७, इशान पाण्डे र गुलशन झाले २१-२१ रन तथा आसिफ सेखले २०, रोहित पौडेलले १८ र करण केसीले १७ रन बनाएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा अल आउट हुदै २५६ रन बनाएको थियो । क्यानडाका लागि युवराज समराले १०५ रनको सतकीय पारी खेलेका थिए । त्यस्तै एरोन जोन्सनले ३६, हर्ष ठाकुरले ३४ र कप्तान हम्जा तारिकले ३० रन बनाएका थिए । त्यस्तै नेपाली बलर ललित राजबंशीले ४ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट लिएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरीले २ तथा रोहित पौडेलले एक विकेट लिएका थिए । यो हारपछि नेपालले अब ओमानविरुद्धको अन्तिम खेल जित्नै पर्ने दबाबमा परेको छ । यो जितपछि क्यानडाले लिग-२ मा ३६ खेलमा २९ अंक हासिल गरेको छ र छैठौ स्थानमा उक्लिएको छ । त्यस्तै नेपालको ३५ खेलमा २८ अंक रहेको छ ।अब नेपालले ओमानविरुद्ध मंगलबार खेल्ने तालिका रहेको छ ।

३-  प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्वका अवसरमा घर-घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याइएको छ । काठमाडौँको हनुमानढोकास्थित दशैँघरमा पनि फूलपाती भित्र्याइएको छ। गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि पठाइएको फूलपाती दशैँघरमा भित्र्याइएको हो। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि वर्षेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दशैँघरबाट फूलपातीसहितको डोली काठमाडौँको हनुमानढोका दरबार ल्याएर भित्र्याउने प्रचलन रहेको छ । गोरखा दरबारको दशैँघरबाट सतीपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा फूलपाती नौ देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ ।

४- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी नयाँ प्रेस सचिव केटी जकारियाले नियुक्त भएको पाँच दिनमै पद छाडेकी छन् । उनले अक्टोबर १३ मा काम सुरु गरेकी थिइन् भने अक्टोबर १६ मा पदबाट हटेकी हुन् । ह्वाइट हाउसका एक अधिकारीका अनुसार ट्रम्पले जकारियालाई पद छाड्ने विषयमा पुनर्विचार गर्न भनेका थिए । ट्रम्पले सञ्चारमाध्यमले उनीमाथि कडा व्यवहार गरेको भन्दै उनी खुसी रहून् भन्ने चाहेको बताएका थिए । जकारियाको कानुनी योग्यता र पहिलो पत्रकार सम्मेलनमा दिएका जवाफलाई लिएर आलोचना भएको थियो । उनले वकालतको परीक्षा उत्तीर्ण नगरेको स्वीकार गरेकी थिइन् । अक्टोबर १३ मा भएको पहिलो पत्रकार सम्मेलनमा उनले लिखित टिपोट पढेको र केही प्रश्नको जवाफ दिन नसकेको भन्दै आलोचना भएको थियो । यसअघि ट्रम्पले क्यारोलिन लेभिटको स्थानमा जकारियालाई प्रेस सचिव नियुक्त गरेका थिए । उनी ट्रम्पको सामाजिक सञ्जाल कम्पनीमा सञ्चार सल्लाहकारका रूपमा काम गरिसकेकी थिइन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार उनको कार्यकाल ट्रम्प प्रशासनका छोटो अवधिका नियुक्तिमध्ये एक बनेको छ ।

५- दशैंका समयमा वस्तु तथा सामग्रीको आपूर्ति सहज बनाउने उद्देश्यले चीनसँगको तातोपानी नाका तीन दिनका लागि अस्थायी रूपमा सञ्चालनमा आउने भएको छ । चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो । निर्णयअनुसार अक्टोबर १८ देखि २० सम्म तीन दिन तातोपानी नाका सञ्चालन हुनेछ। उक्त अवधिमा कार्गो ट्रकलाई मात्र आवतजावत गर्न अनुमति दिइनेछ । दशैंको समयमा आवश्यक वस्तुको आपूर्ति सहज बनाउन सरकारले गरेको पहलस्वरूप नाका अस्थायी रूपमा सञ्चालनमा आउन लागेको हो । यसले नेपाल–चीन व्यापारिक आवागमनलाई सहजीकरण गर्नुका साथै चाडपर्वका बेला आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

६- भारतको साकेत अदालतले सन् २०१८ को मानहानि मुद्दामा चर्चित युट्युबर ध्रुव राठीविरुद्ध जमानती पक्राउ पुर्जी जारी गरेको छ । विकास सांक्रित्यायनले दायर गरेको उजुरीका आधारमा अदालतले शनिबार यस्तो आदेश दिएको हो । उजुरीकर्ताले राठीको ‘भाजपा आईटी सेल पार्ट–२’ शीर्षकको भिडियोमा आफूविरुद्ध झूटा तथा मानहानिकारक आरोप लगाइएको दाबी गरेका छन् । मुद्दाको सुनुवाइ गरिरहेका न्यायिक मजिस्ट्रेट प्रथम श्रेणीका राहुल जैनले जमानती पक्राउ पुर्जी जारी गर्ने आदेश दिएका हुन् । अदालतलाई राठीका नाममा सूचना पठाइए पनि उनको ठेगानामा पुग्दा परिसर बन्द रहेको जानकारी गराइएको थियो । यसअघि अदालतले यसै साता राठीका नाममा नयाँ समन जारी गरेको थियो । उजुरीकर्ताले मुद्दाको सुनुवाइ मिति अगाडि सार्न माग गरेका थिए । यसअघि सुनुवाइ नोभेम्बर २० का लागि तोकिएको थियो । उजुरीकर्ताका अनुसार राठी प्रायः विदेशमा बस्ने भएकाले विगत केही वर्षदेखि अदालतको समन पुर्‍याउन ढिलाइ हुँदै आएको थियो । उनले राठी अहिले ‘सीजेपी’को प्रदर्शनका सिलसिलामा भारतमा रहेको दाबी गर्दै छिटो समन जारी गर्न माग गरेका थिए । यस मुद्दाको अर्को सुनुवाइ अक्टोबर ३१ मा हुने तय भएको छ । केहि दिनअघि आन्दोलनका लागि भारत आएका राठी भने हाल भारत छोडेर लन्डन पुगेका छन् ।

७- नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ मा प्रत्येक टिमले ६ देखि अधिकतम आठ विदेशी खेलाडी राख्न पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले विदेशी खेलाडीको सङ्ख्या बढाइए पनि प्रत्येक टोलीले सात नेपाली खेलाडी अनिवार्य रूपमा खेलाउनुपर्ने बताएका छन् । शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को स्वीकृति प्रक्रियाअन्तर्गत खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण, अम्पायरिङ र सञ्चारमाध्यमको पहुँचसम्बन्धी मापदण्ड लागू हुने जानकारी दिए । अब एनपीएलमा सहभागी हुन आउने खेलाडीले सम्बन्धि बोर्डको एनओसी अनिवार्य लिएर आउनुपर्ने भएको छ । त्यस्तै अब हरेक फ्रेन्चाईजीले एक एसोसियटस खेलाडी अनिवार्यसहित आठ विदेशी खेलाडी राख्न पाउने भएका छन् । एनपीएल सुरु हुनुअघिको लगातार छ महिनामा आईसीसी र सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट स्वीकृति नपाएका प्रतियोगितामा खेलेका खेलाडी एनपीएलमा सहभागी हुन नपाउने व्यवस्था गरिएको उनले बताए । अवकाश लिइसकेका विदेशी खेलाडीले समेत सम्बन्धित राष्ट्रिय क्रिकेट बोर्डबाट अनिवार्य रूपमा स्वीकृति  प्रमाणपत्र लिनुपर्नेछ । खड्काका अनुसार क्यानले आईसीसीले राखेका आवश्यक सर्त स्वीकार गरिसकेको छ । प्रतियोगिताको टी–२० मान्यता, निर्णय समीक्षा प्रणाली (डीआरएस), अम्पायरिङ र खेल सञ्चालनसम्बन्धी थप विवरण केही दिनभित्र सार्वजनिक गरिने उनले बताए ।

images

८- नेपाली काँग्रेसका सभापति गगन थापा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । सानेपास्थित केन्द्रीय कार्यालयमा थापाले केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काबाट पद तथा गोपनियताको शपथ लिएका हुन् । थापा हालै सम्पन्न कांग्रेसको १५औं महाधिवेशनबाट सभापतिमा प्रतिष्पर्धी श्याम कृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए ।

९- भारतले मानसिक स्वास्थ्य र लैङ्गिक न्यायजस्ता विषयमा बोल्ने युवाले यातना तथा सामाजिक कलङ्कको सामना गर्नुपरेको दाबी समेटिएको संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनप्रति कडा आपत्ति जनाएको छ । संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदक जीना रोमेरोले तयार पारेको प्रतिवेदनका निष्कर्षमाथि प्रश्न उठाउँदै भारतले ती आरोप अज्ञात र अपुष्ट सूचनामा आधारित रहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाअन्तर्गत तेस्रो समितिको ८१औँ सत्रमा भएको छलफलका क्रममा भारतीय स्थायी नियोगका प्रथम सचिव अनुज स्वरूपले प्रतिवेदनको विश्वसनीयता र त्यसका निष्कर्ष तयार पार्ने प्रक्रियामाथि प्रश्न उठाएका थिए । उनले भारतको विशाल युवा जनसङ्ख्याबारे व्यापक आरोप लगाउन अज्ञात स्रोतबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन नहुने बताएका थिए । स्वरूपले भारतीय संविधानको धारा १९ ले नागरिकलाई शान्तिपूर्ण रूपमा भेला हुने, सङ्गठन खोल्ने र अभिव्यक्ति स्वतन्त्रताको अधिकार सुनिश्चित गरेको उल्लेख गरेका थिए । उनका अनुसार स्वतन्त्र न्यायपालिका, स्वतन्त्र सञ्चारमाध्यम र सशक्त राष्ट्रिय मानव अधिकार आयोगले यी अधिकारको संरक्षण गर्दै आएका छन् । भारतीय प्रतिनिधिले प्रतिवेदनमा मानसिक स्वास्थ्य र लैङ्गिक न्यायका विषयमा बोल्ने युवाले यातना वा सामाजिक कलङ्क भोगेको दाबीको समर्थनमा अज्ञात व्यक्तिका भनाइ मात्र उल्लेख गरिएको बताएका थिए । ‘यो प्रमाण होइन । यो त अफवाहलाई संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनको आवरण दिनुजस्तै हो,’ स्वरूपले भनेका थिए । उनले यस्ता प्रतिवेदन तयार गर्दा तथ्यको पुष्टि, निष्पक्षता र विश्वसनीयतामा विशेष ध्यान दिनुपर्ने बताएका थिए । अपुष्ट दाबीले संयुक्त राष्ट्रसङ्घ र यसका संस्थाको प्रतिष्ठामा असर पार्न सक्ने उनको भनाइ थियो । भारतले युवाका लागि राजनीतिक असहमति व्यक्त गर्ने पर्याप्त ठाउँ नरहेको प्रतिवेदनको आकलनलाई पनि चुनौती दिएको थियो । स्वरूपले भारतीय युवाहरू राजनीतिक आन्दोलनमा सहभागी हुने र वरिष्ठ सरकारी नेताहरूसँग संवाद गर्ने गरेको उदाहरण दिएका थिए । उनले व्यङ्ग्यात्मक राजनीतिक समूह ‘ककरोच जनता पार्टी’का प्रतिनिधिले जुलाईमा भएका प्रदर्शनपछि केन्द्रीय मन्त्रीहरूसँग छलफल गरेको उल्लेख गरेका थिए । युवाले सरकारको आलोचना गर्न, राजधानीमा प्रदर्शन गर्न र त्यसपछि वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्न सक्ने अवस्थाले राजनीतिक असहमति व्यक्त गर्ने अवसर रहेको देखाउने उनको तर्क थियो । भारतले विद्यार्थी प्रदर्शन र सार्वजनिक परीक्षामा भएका भनिएका अनियमितताबारे सरकारले चालेका कदमलाई पनि प्रतिवेदनको प्रतिवादमा प्रस्तुत गरेको थियो । स्वरूपले सरकारले युवासँग रचनात्मक संवाद गर्दै परीक्षा अनियमिततासँग सम्बन्धित समस्या समाधान गर्न पहल गरेको बताएका थिए । उनले ‘विकसित भारत युवा नेता संवाद’को उदाहरण दिँदै उक्त पहलमा ५० लाखभन्दा बढी युवाले राष्ट्रिय प्राथमिकताबारे आफ्ना विचार प्रस्तुत गरेको उल्लेख गरेका थिए । जीना रोमेरो कोलम्बियाकी मानव अधिकारकर्मी हुन् । उनी संयुक्त राष्ट्रसङ्घकी विशेष प्रतिवेदकका रूपमा शान्तिपूर्ण सभा गर्न र सङ्गठन खोल्न पाउने स्वतन्त्रतासम्बन्धी अधिकारमा काम गर्छिन् । भारतले रोमेरोलाई प्रतिवेदनमा निष्कर्ष निकाल्नुअघि तथ्यको पुष्टि गर्न तथा सबै दाबीको मूल्याङ्कन गर्दा निष्पक्षता र कठोर अनुसन्धानका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

images

१०- अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाले उड्न सक्ने दाबी गरिएको नयाँ रोडस्टर कार सार्वजनिक गरेको छ । कम्नीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बिहीबार टेक्सासस्थित स्पेसएक्सको परीक्षण केन्द्रमा कार प्रदर्शन गर्दै सन् २०२८ देखि उत्पादन सुरु गर्ने घोषणा गरेका हुन् । मस्कका अनुसार दुई जना बस्न मिल्ने उक्त स्पोर्ट्स कारले जमिनमा तीव्र गति लिनुका साथै हावामा उफ्रिन र केही समय उड्न सक्ने प्रविधि प्रयोग गरेको छ । प्रदर्शनका क्रममा कारले विशेष हावाको दबाब प्रयोग गरेर उकालो र्‍याम्पमा चढ्ने, उल्टो झुन्डिने, हावामा पल्टिने र पुनः जमिनमा अवतरण गर्ने दृश्य देखाइएको थियो । कारमा चालक नराखी प्रदर्शन गरिएको थियो । सम्भावित दुर्घटनाबाट बच्न चालकविना परीक्षण गरिएको मस्कले बताएका थिए । उनले प्रविधि सफल हुने निश्चित नभएको स्वीकार्दै परीक्षण सुरक्षित दूरीबाट गरिएको बताएका थिए । प्रदर्शनका क्रममा कारले टेस्लाका अन्य गाडीको लहरमाथिबाट उफ्रिँदै पार गरेको र पछाडिबाट तीव्र गतिमा हावा निष्कासन गर्ने प्रणालीको सहायताले गति बढाएको देखाइएको थियो । मस्कले कार शून्यदेखि प्रतिघण्टा ६० माइल अर्थात् करिब ९७ किलोमिटरको गति एक सेकेन्डभन्दा कम समयमा हासिल गर्न सक्ने दाबी गरेका छन् । टेस्लाका अनुसार कारमा १० वटा हावा निष्कासन गर्ने नोजल र अत्यधिक उच्च दबाबमा हावा भण्डारण गर्ने ट्याङ्की प्रयोग गरिएको छ । उक्त प्रविधिले जमिनमा गति बढाउन र हावामा उफ्रिन सहयोग गर्ने बताइएको छ । यद्यपि, सार्वजनिक प्रदर्शनले कार लामो दूरीसम्म उड्न सक्छ भन्ने प्रमाणित नगरेको समाचारमा उल्लेख छ । कारले सडकमा चल्ने सवारीसाधनका रूपमा काम गर्दै विमानजस्तै उडान भर्न सक्ने क्षमताबारे थप परीक्षण आवश्यक रहेको छ । विमान र सडकमा चल्ने गाडीको प्रविधि एउटै सवारीमा समेट्नु चुनौतीपूर्ण रहेको विज्ञहरूले बताएका छन् । अमेरिकाको स्मिथसोनियन राष्ट्रिय वायु तथा अन्तरिक्ष सङ्ग्रहालयका ठाडो उडानसम्बन्धी विज्ञ रोजर कोनरका अनुसार विमानमा तौल निकै संवेदनशील विषय हुन्छ भने सडकमा चल्ने गाडीमा सुरक्षा संरचना र ठक्करबाट जोगाउने उपकरण आवश्यक पर्छन् । यी दुवै विशेषता एउटै सवारीमा समेट्दा उडान र सडकमा सञ्चालन दुवै प्रभावकारी नहुन सक्ने तथा लागत महँगो पर्ने उनको भनाइ छ । यसअघि क्यालिफोर्नियाको नयाँ कम्पनी अलेफले पनि उड्न सक्ने कार विकास गरिरहेको छ । उक्त कारमा अगाडि र पछाडि गरी आठवटा पङ्खा प्रयोग गरिएको छ । तर यसको तौल करिब २५४ पाउन्ड रहेको र एक जना मात्रै यात्रु बोक्न सक्ने बताइएको छ । अलेफका प्रमुख कार्यकारी अधिकृत जिम दुखोभ्नीले कारलाई जमिनबाट उडाउन सम्भव भए पनि वास्तविक उडानका लागि ठाडो रूपमा माथि उठ्ने अवस्थाबाट अगाडि बढ्ने अवस्थामा सुरक्षित रूपान्तरण गर्नु सबैभन्दा कठिन चुनौती भएको बताएका छन् । विज्ञ कोनरले पनि टेस्लाको रोडस्टरले लामो दूरीसम्म उडान भर्न सक्नेमा शङ्का व्यक्त गरेका छन् । उनका अनुसार अहिलेको प्रदर्शनलाई निरन्तर उडानभन्दा पनि छोटो दूरीसम्म हावामा उफ्रिने गतिविधिका रूपमा बुझ्नुपर्ने हुन्छ । टेस्लाले सन् २०२८ मा उत्पादन सुरु गर्ने घोषणा गरे पनि कम्पनीका प्रमुख मस्कले विगतमा गरेका केही घोषणाको समयसीमा पूरा हुन वर्षौं लागेको उदाहरण रहेकाले नयाँ कारको उत्पादन र वास्तविक उडान क्षमताबारे थप प्रतीक्षा गर्नुपर्ने देखिन्छ ।

images

११- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँको बिदाका अवधिमा नागरिकलाई सहज, सुलभ र निरन्तर स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेशका स्वास्थ्य हेर्ने मन्त्रालय तथा सबै सङ्घीय सरकारी अस्पताललाई पत्राचार गरेको छ । मन्त्रालयले दसैँ बिदाका समयमा अस्पतालका अत्यावश्यक स्वास्थ्य सेवा अवरुद्ध हुन नदिन आवश्यक व्यवस्थापन मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेको हो। मन्त्रालयले अस्पतालमा आवश्यक स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको ड्युटी रोस्टर तयार गरी पर्याप्त जनशक्तिको व्यवस्था गर्न र आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा, सघन उपचार सेवासहितका अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालन हुने सुनिश्चित गर्न अनुरोध गरेको छ । त्यसैगरी, अस्पतालमा आवश्यक औषधि, स्वास्थ्य उपकरण, रगत तथा रक्तजन्य पदार्थ र अन्य स्वास्थ्य सामग्रीको पर्याप्त मौज्दात राखी आकस्मिक अवस्थामा तत्काल सेवा प्रदान गर्न तयारी अवस्थामा रहन मन्त्रालयले निर्देशन दिएको छ। दसैँ बिदाको अवधिमा अस्पताल पूर्ण रूपमा बन्द नगर्न तथा अत्यावश्यक स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिनसमेत मन्त्रालयले आग्रह गरेको छ । सेवा प्रवाहका क्रममा देखिन सक्ने समस्या तथा गुनासोको तत्काल सम्बोधन र समन्वयका लागि अस्पतालहरूले एक जना सम्पर्क व्यक्ति (फोकल पर्सन) तोक्नुपर्नेछ। साथै, सम्पर्क व्यक्तिको नाम, पद, सम्पर्क नम्बर र ड्युटी रोस्टरसहितको विवरण मन्त्रालयले तोकेको इमेल ठेगानामा अनिवार्य रूपमा पठाउनुपर्ने भनिएको छ। मन्त्रालयले सम्बन्धित निकायलाई उल्लिखित व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा अनुगमन गरी दसैँ बिदाको अवधिभर नागरिकले आवश्यक स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने सुनिश्चित गर्न अनुरोध गरेको छ ।

१२- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र इरानमाथि प्रतिबन्ध लगाउने कानुनअन्तर्गत प्रस्तावित प्रतिबन्ध, पाबन्दी तथा भन्सार शुल्क कार्यान्वयनबाट छुट दिने आदेश जारी गरेका छन् । उनको निर्णयले रुसी तेल तथा ग्यास खरिद गर्दै आएका भारत र चीनलाई राहत मिलेको छ । जारी कार्यकारी आदेशमा ट्रम्पले अहिले यस्तो छुट दिनु अमेरिकाको राष्ट्रिय हितमा रहेको बताएका छन् । उनले यससम्बन्धी प्रमाणपत्र अमेरिकी संसद्मा पनि बुझाएका छन् । प्रस्तावित प्रतिबन्ध तथा भन्सार शुल्क कार्यान्वयन हुन एक दिनअघि ट्रम्पले यस्तो निर्णय लिएका हुन् । यो निर्णयलाई रुसप्रति ट्रम्पको नीतिमा आएको परिवर्तनका रूपमा हेरिएको छ । पछिल्लो समय उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको सार्वजनिक रूपमा आलोचना गर्दै युक्रेनले नयाँ नेता चयन गर्नुपर्ने सुझावसमेत दिएका थिए । यसअघि गत साता ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकालाई डिजेल आपूर्ति गर्ने सहमति भएको घोषणा गरेका थिए । उक्त सहमतिअनुसार रुसले तत्काल तीन लाख टनभन्दा बढी डिजेल पठाउने र त्यसपछि आगामी महिनाहरूमा थप परिमाणमा आपूर्ति गर्ने उल्लेख गरिएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिका र रुसबीच भएको डिजेल आपूर्ति सम्झौताको आलोचना गरेका थिए । उनले यसलाई अमेरिकाका साझेदारहरूका लागि अनुचित र कमजोर निर्णय भन्दै रुसले युक्रेनमाथि आक्रमण जारी राखेर आफ्नो कृतज्ञता देखाइरहेको आरोप लगाएका थिए । यसअघि रुसबाट कच्चा तेल खरिद गरेको विषयलाई लिएर भारत र अमेरिकाबीच तनाव बढेको थियो । त्यसबेला ट्रम्पले भारतमाथि रुसबाट तेल खरिद गरेको भन्दै थप २५ प्रतिशत भन्सार शुल्क लगाएका थिए । उक्त शुल्क पहिलेबाट लागू २५ प्रतिशत प्रतिशोधात्मक शुल्कभन्दा अतिरिक्त थियो । तर, सन् २०२६ को फेब्रुअरीमा अतिरिक्त शुल्क हटाइएको थियो । भारत–अमेरिका व्यापार संरचनाअन्तर्गत प्रतिशोधात्मक शुल्क पनि घटाएर १८ प्रतिशत कायम गरिएको थियो ।

१३- मधेश प्रदेशको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८२/८३ मा १.३१ प्रतिशतमा सीमित रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘मधेश प्रदेशको आर्थिक गतिविधि अध्ययन’ वार्षिक प्रतिवेदनले प्रदेशको आर्थिक विकास सुस्त देखिएको औँल्याएको हो । प्रतिवेदनअनुसार मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन ८ खर्ब ६३ अर्ब रुपैयाँ पुग्ने अनुमान छ। राष्ट्रिय अर्थतन्त्रमा प्रदेशको योगदान १३.०८ प्रतिशत रहने अनुमान गरिएको छ । प्रदेशको अर्थतन्त्रमा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी ३४.९७ प्रतिशत रहने देखिएको छ । प्रतिवेदनले न्यून आर्थिक वृद्धि, प्रतिव्यक्ति आयमा असमानता, कमजोर पुँजीगत खर्च, सिँचाइ सुविधाको अभाव, कृषि उत्पादनमा मौसमी निर्भरता र युवाको वैदेशिक पलायनलाई प्रदेशका प्रमुख आर्थिक चुनौतीका रूपमा औँल्याएको छ । कृषि क्षेत्रमा खाद्यान्न तथा अन्य बालीको उत्पादनमा वृद्धि हुने अनुमान गरिए पनि तरकारी तथा बागवानीले ओगटेको जमिन १०.१५ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख छ। फलफूल उत्पादन ४.९९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ भने खाद्यान्न तथा अन्य बालीको उत्पादन ५.६९ प्रतिशतले बढ्ने देखिएको छ। दूध उत्पादन भने २.६७ प्रतिशतले घट्ने अनुमान छ ।सिँचाइ सुविधाको कमी, कृषि उपज भण्डारण तथा प्रशोधनका लागि पर्याप्त संरचना नहुनु र बजारमा बिचौलियाको प्रभावले किसानले अपेक्षित लाभ लिन नसकेको प्रतिवेदनले जनाएको छ। कृषि क्षेत्रलाई व्यावसायिक बनाउँदै उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको प्रतिवेदनको निष्कर्ष छ । उद्योग क्षेत्रमा पनि अपेक्षित प्रगति हुन सकेको छैन। प्रतिवेदनमा समेटिएका प्रमुख उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग ६४.५९ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाबाट उद्योग क्षेत्रमा प्रवाह भएको कर्जा ०.६८ प्रतिशतले बढेर १ खर्ब २८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ । ऊर्जा आपूर्तिमा अनियमितता, कच्चा पदार्थको मूल्यवृद्धि, ढुवानी लागत बढी हुनु र दक्ष जनशक्तिको अभावले औद्योगिक विकासमा बाधा पुर्‍याएको प्रतिवेदनमा उल्लेख छ। उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउन उत्पादन लागत घटाउने, लगानीमैत्री वातावरण बनाउने र औद्योगिक पूर्वाधार विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । रोजगारीका क्षेत्रमा पनि प्रदेशको अवस्था चुनौतीपूर्ण देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ७९ हजार ४१ रहेको छ। यो देशभरबाट श्रम स्वीकृति लिने कुल सङ्ख्याको २२.६० प्रतिशत हो। युवाको वैदेशिक पलायनले स्थानीय स्तरमा दक्ष जनशक्तिको उपलब्धतामा समेत असर पार्न सक्ने प्रतिवेदनले जनाएको छ । यद्यपि, मधेश प्रदेशमा आर्थिक विकासका सम्भावना पनि पर्याप्त रहेको प्रतिवेदनले औँल्याएको छ। समथर भूभाग, उर्वर कृषि भूमि, भारतसँगको सीमा पहुँच, ठूलो उपभोक्ता बजार र यातायात सञ्जाललाई प्रदेशको आर्थिक विस्तारका आधारका रूपमा प्रस्तुत गरिएको छ । जनकपुर–जयनगर रेलमार्ग, हुलाकी राजमार्ग, पूर्व–पश्चिम राजमार्ग विस्तार तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थलजस्ता पूर्वाधार आयोजनाले आगामी दिनमा व्यापार, यातायात र आर्थिक गतिविधि विस्तार गर्न सक्ने प्रतिवेदनको आकलन छ । कृषिमा आधुनिकीकरण, कृषि उपजमा आधारित उद्योगको विकास, निजी तथा वैदेशिक लगानी आकर्षित गर्ने नीति र पूर्वाधार आयोजनाको प्रभावकारी कार्यान्वयन गर्न सके मधेश प्रदेशको आर्थिक सम्भावना उपयोग गर्न सकिने प्रतिवेदनले देखाएको छ । नेपाल राष्ट्र बैंकको प्रतिवेदनले प्रदेशको आर्थिक विकासका लागि कृषि उत्पादकत्व वृद्धि, औद्योगिकीकरण, रोजगारी सिर्जना र पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्ने आवश्यकतामा जोड दिएको छ ।

Nepal life insurance

१४- प्रधानमन्त्री बालेन्द्र शाहले बडादसैँले नेपाली समाजमा एकता, आत्मीयता र सद्भाव बढाउने विश्वास व्यक्त गर्दै विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । फूलपातीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देशका विभिन्न स्थानमा भएका विपद्का कारण शोकको अवस्था रहे पनि नेपालीहरूले आफ्नो धार्मिक, सांस्कृतिक तथा सामाजिक परम्परालाई निरन्तरता दिँदै आएको बताएका छन् । उनले भनेका छन्- ‘विश्वभर छरिएर रहेको नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेको बडादसैँले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस्।’ दसैँ धार्मिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण पर्व भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यसले परिवार र आफन्तबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएका छन् । ठूलाबाट टीका र जमरा ग्रहण गरी आशीर्वाद लिने परम्परा सानालाई माया र ठूलालाई आदर गर्ने मौलिक संस्कृतिको प्रतिबिम्ब भएको उनको भनाइ छ । यस वर्ष रसुवा, नुवाकोट र गोरखालगायतका स्थानमा भएका विनाशकारी घटनाको पीडा कायम रहेकै अवस्थामा दसैँ आएको उल्लेख गर्दै उनले विपद्मा ज्यान गुमाएकाहरूको चिरशान्ति र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । ‘सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दछु,’ उनले सन्देशमा भनेका छन् । सरकारले विस्थापित नागरिकको पुनःस्थापनाका लागि सक्रियतापूर्वक काम गरिरहेको जानकारीसमेत उनले दिएका छन् । प्रधानमन्त्री शाहले दसैँलाई असत्यमाथि सत्य र आसुरी प्रवृत्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा व्याख्या गरेका छन् । उनले सत्यको बाटोमा हिँड्ने प्रेरणा मिलोस् र प्रत्येक व्यक्तिले आफूभित्रका नकारात्मक प्रवृत्तिमाथि विजय प्राप्त गर्न सकोस् भन्ने कामना गरेका छन् । ‘मानव दुःखका प्रमुख कारणका रूपमा रहेका काम, क्रोध, लोभ, ईर्ष्या र अहङ्कारमाथि विजय प्राप्त गर्न सकौँ,’ उनले भनेका छन् । दसैँका बेला पनि लाखौँ नेपाली परिवारसँग भेटघाट गर्न नपाई विदेशमा बस्न बाध्य रहेको यथार्थप्रति ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री शाहले बाध्यताले विदेशिनुपर्ने अवस्था अन्त्य गर्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । विदेशमा रहेका नेपालीले चाडपर्वमा घर फर्कन नपाउँदा भोग्नुपर्ने पीडा सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा हामी सचेत छौँ ।’ आर्थिक समृद्धि र सुशासनका माध्यमबाट नागरिकको जीवनस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको उनले बताएका छन् । अन्त्यमा प्रधानमन्त्री शाहले माता दुर्गाभवानीको कृपा सबैमा रहोस् भन्दै नेपालीहरूमा सुख, शान्ति, आरोग्य र समृद्धिको कामना गरेका छन् । उनले सबैलाई सभ्य र भव्य रूपमा दसैँ मनाउन आग्रह गरेका छन् ।

१५-  पश्चिम एसियामा इरानका आक्रमण, साउदी अरबमाथि हुथी विद्रोहीका क्षेप्यास्त्र तथा ड्रोन आक्रमण र रुस–युक्रेन युद्ध चर्किएपछि विश्व बजारमा कच्चा तेलको मूल्य बढेको छ । शुक्रबार ब्रेन्ट कच्चा तेलको मूल्य ३.७ प्रतिशत बढेर प्रतिब्यारेल १०९.८६ अमेरिकी डलर पुगेको छ भने अमेरिकी डब्ल्यूटीआई तेलको मूल्य ३.५ प्रतिशत बढेर १०१.४१ डलर पुगेको छ । एक सातामा डब्ल्यूटीआईको मूल्य १० प्रतिशतभन्दा बढी बढेको छ । विश्वकै प्रमुख तेल ढुवानी मार्गमध्ये एक होर्मुज जलडमरुमा कम्तीमा नौवटा व्यापारिक जहाज तथा तेल ट्याङ्करमाथि आक्रमण भएको छ । यसका कारण तेल निर्यात प्रभावित भएको छ । होर्मुजबाट कच्चा तेलको निर्यात घटेर दैनिक ९४ लाख ब्यारेलमा झरेको छ, जुन युद्धअघिको औसतको करिब ७० प्रतिशत हो । यसैबीच, साउदी अरबका तेल केन्द्रमाथि पनि आक्रमण भएका छन् । शुक्रबार साउदी सेनाले लाल सागरमाथि आएका कैयौँ क्षेप्यास्त्र रोकेको थियो भने रियाद र दक्षिणी क्षेत्रमा तीनवटा ड्रोन नष्ट गरेको जनाएको छ । यसअघि धहरानस्थित साउदी तेल कम्पनी अरामकोको प्रशासनिक भवनमा समेत आक्रमण भएको थियो । रुस–युक्रेन युद्ध पुनः चर्किनुले पनि ऊर्जा बजारमा दबाब बढाएको छ । रुसका आक्रमण जारी रहेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी तेल प्रशोधन केन्द्रमाथि पुनः आक्रमण गर्ने बताएका छन् । अमेरिकामा डिजेलको औसत मूल्यसमेत प्रतिग्यालोन ६.३३ डलर पुगेको छ, जुन एक वर्षअघिको तुलनामा ७० प्रतिशतभन्दा बढी हो । तेल उत्पादन र ढुवानीमा अवरोध जारी रहेमा विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बढ्न सक्ने चिन्ता बढेको छ। आपूर्ति घट्दा इन्धनको मूल्यसँगै ढुवानी तथा उत्पादन लागतसमेत बढ्न सक्ने भएकाले यसको असर विश्व अर्थतन्त्रमा पर्न सक्ने देखिएको छ ।

१६- भारतीय गायक तथा र्‍यापर यो यो हनी सिंह महाराष्ट्र साइबर सेलमा उपस्थित भएर आपत्तिजनक टिप्पणीसम्बन्धी आरोपमा बयान दिएका छन् । शुक्रबार, साइबर सेलको कार्यालय पुगेका उनीसँग करिब दुई घण्टा सोधपुछ गरिएको थियो । कार्यक्रममा कथित अश्लील तथा महिलालाई अपमान गर्ने टिप्पणी गरेको आरोपमा उनीविरुद्ध उजुरी परेको थियो । यसअघि उनी तीनपटक सोधपुछका लागि उपस्थित नभएको र विदेशमा रहेको जानकारी गराएको साइबर सेलले जनाएको छ । अक्टोबर ५ मा उपस्थित हुन नसकेपछि उनले थप समय मागेका थिए । अक्टोबर २२ मा उपस्थित हुन दिएको उनको निवेदनसमेत अस्वीकार गरिएको थियो । निर्धारित समयमा उपस्थित नभए उनीविरुद्ध देश छाड्न रोक लगाउने सूचना जारी गर्ने प्रक्रिया अघि बढाउन सकिने अधिकारीहरूले चेतावनी दिएका थिए । तर हनी सिंह अक्टोबर १६ मै उपस्थित भएपछि उनीसँग बयान लिइएको हो । यो विवाद सन् २०२५ मार्च १ मा दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आयोजित सांगीतिक कार्यक्रमसँग सम्बन्धित छ । कार्यक्रममा उनले गरेको भनिएको टिप्पणीलाई लिएर उजुरी परेको थियो । अप्रिल २ मा भएको सुनुवाइका क्रममा अदालतले विवादित गीतलाई महिलाप्रति अत्यन्त अश्लील, आपत्तिजनक र अपमानजनक भएको टिप्पणी गरेको थियो । अधिवक्ता रुपाली पनवारले उक्त गीत युट्युबलगायत सामाजिक सञ्जालमा उपलब्ध रहेकाले बालबालिकामा समेत नकारात्मक असर पर्न सक्ने भन्दै तत्काल हटाउन माग गरेकी थिइन् । विवाद बढेपछि हनी सिंहले भिडियो सन्देश जारी गर्दै माफी मागेका थिए । उनले सार्वजनिक भएको भिडियोको अंशलाई प्रस्तुत गरिएको तरिकाले मानिसहरूलाई चोट पुगेको बताएका थिए । आफूले कसैलाई अपमान गर्ने वा दुःखी बनाउने उद्देश्य नराखेको उनको भनाइ थियो । उनले युवा दर्शकलाई सन्देश दिने प्रयास गरेको भए पनि त्यसलाई व्यक्त गर्ने आफ्नो शैली धेरैलाई अनुचित लागेको स्वीकार गरेका थिए । हनी सिंह यसअघि आफ्नो पुरानो गीत ‘भोल्युम १’ का कारण पनि विवादमा परेका थिए । हिन्दू शक्ति दल नामक संस्थाले सन् २०२५ मार्च १ मा दिल्लीस्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा आयोजित कार्यक्रममा उनले गीतका केही पङ्क्ति गाएको भन्दै आपत्ति जनाएको थियो । यस विषयमा दिल्ली उच्च अदालतले सन् २०२६ अप्रिलमा उक्त गीतसँग सम्बन्धित सामग्रीका लिङ्क सामाजिक सञ्जाल तथा फाइल आदानप्रदान गर्ने माध्यमबाट हटाउन निर्देशन दिएको थियो । त्यसपछि मे महिनामा अदालतले हनी सिंहलाई यस विषयमा शपथपत्र पेस गर्नसमेत भनेको थियो । यस घटनामा महाराष्ट्र साइबर सेलको अनुसन्धान जारी रहेको छ । अनुसन्धानका थप विवरण सार्वजनिक गरिएको छैन ।

१७- युक्रेनी सेनाले प्रयोग गर्दै आएको स्टारलिंक र सैन्य प्रयोजनको स्टारसिल्ड उपग्रह इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको विषयलाई लिएर अमेरिकामा विवाद चर्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी सेनाको इन्टरनेट पहुँच सीमित गर्ने आदेश आफूले नदिएको बताएका छन् ।  स्पेसएक्सका प्रमुख एलन मस्कले भने स्टारसिल्ड प्रणालीको स्वामित्व र नियन्त्रण अमेरिकी सरकारसँग रहेको बताएका छन् । समाचार संस्था सीएनबीसीका अनुसार पूर्वसूचनाबिना इन्टरनेट सम्पर्क सीमित गरिँदा युक्रेनी सेनाका केही सैन्य अभियान प्रभावित भएका छन्। यसबाट ड्रोन सञ्चालन, निगरानी र सैन्य सूचनाको आदानप्रदानमा समेत असर परेको बताइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकारले प्रतिबन्धबारे सेनालाई पूर्वजानकारी नदिइएको र यसका कारण केही सैन्य अभियान असफल भएको बताएका छन् । यस घटनापछि पोल्याण्डका उपप्रधानमन्त्रीले पनि मस्कको भूमिकामाथि प्रश्न उठाएका छन् । उनले प्रविधिको प्रयोग राजनीतिक उद्देश्यका लागि भइरहेको हो कि भन्ने आशंका व्यक्त गरेका छन् । तर प्रतिबन्ध कसले लगाएको हो र यसको वास्तविक दायरा कति हो भन्ने विषय अझै स्पष्ट भएको छैन ।

१८-  भारतीय क्रिकेट नियन्त्रण बोर्डले न्युजिल्यान्ड भ्रमणमा हुने पाँच खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज र दुई खेलको टेस्ट सिरिजका लागि भारतीय टोली घोषणा गरेको छ । एकदिवसीय सिरिजका सुरुवाती तीन खेलमा शुभमन गिलले कप्तानी गर्नेछन् भने अन्तिम दुई खेलमा श्रेयस अय्यरले टोलीको नेतृत्व गर्नेछन् । टेस्ट टोलीको कप्तानी पनि गिलले नै गर्नेछन् भने केएल राहुल उपकप्तान रहनेछन् । भारतले न्युजिल्यान्डसँग पहिले पाँच खेलको एकदिवसीय सिरिज खेल्नेछ। त्यसपछि दुई खेलको टेस्ट सिरिज हुनेछ। एकदिवसीय सिरिज नोभेम्बर ४ देखि सुरु हुनेछ भने टेस्ट सिरिजको पहिलो खेल नोभेम्बर १९ देखि हुनेछ । एकदिवसीय सिरिजका सुरुवाती तीन खेलका लागि घोषित १६ सदस्यीय टोलीमा गिल कप्तान र श्रेयस अय्यर उपकप्तान छन् । टोलीमा रोहित शर्मा, विराट कोहली, केएल राहुल, नितिश कुमार रेड्डी, अक्षर पटेल, नमन धीर, अंशुल कम्बोज, गुरनूर ब्रार, ऋतुराज गायकवाड, अर्शदीप सिंह, ईशान किशन, मोहम्मद सिराज, प्रसिद्ध कृष्ण र कुलदीप यादव छन् । प्रसिद्ध कृष्णको सहभागिता भने फिटनेस परीक्षणबाट स्वीकृति प्राप्त गर्ने सर्तमा निर्भर रहनेछ । सिरिजका अन्तिम दुई खेलका लागि श्रेयस अय्यरलाई कप्तान र ईशान किशनलाई उपकप्तान बनाइएको छ । यस चरणको टोलीमा रोहित शर्मा, विराट कोहली, तिलक वर्मा, ईशान किशन, नितिश कुमार रेड्डी, अक्षर पटेल, नमन धीर, औकिब नबी, गुरनूर ब्रार, ऋतुराज गायकवाड, अर्शदीप सिंह, कुमार कुशाग्र, मोहम्मद सिराज, यश ठाकुर र कुलदीप यादव छन् । कुमार कुशाग्र र यश ठाकुरले पहिलोपटक भारतीय एकदिवसीय टोलीमा स्थान पाएका छन् । पहिलो तीन खेलमा केएल राहुल विकेटकिपरको भूमिकामा रहनेछन् । अन्तिम दुई खेलका लागि ईशान किशन र कुमार कुशाग्रलाई विकेटकिपरका रूपमा समावेश गरिएको छ । टेस्ट र एकदिवसीय सिरिजबीचको छोटो समयलाई ध्यानमा राख्दै चयनकर्ताले टोलीको नेतृत्व र खेलाडी छनोटमा परिवर्तन गरेका हुन् । भारत र न्युजिल्यान्डबीचको पहिलो एकदिवसीय खेल नोभेम्बर ४, बुधबार अकल्यान्डमा हुनेछ । दोस्रो खेल नोभेम्बर ७, शनिबार वेलिङ्टनमा, तेस्रो खेल नोभेम्बर १०, मंगलबार ह्यामिल्टनमा खेलाइनेछ। चौथो एकदिवसीय नोभेम्बर १३, शुक्रबार र पाँचौँ खेल नोभेम्बर १५, आइतबार माउन्ट माउन्गानुईमा हुनेछ ।  यसैगरी, दुई खेलको टेस्ट सिरिजका लागि शुभमन गिलको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिएको छ । केएल राहुल उपकप्तान रहनेछन् । टोलीमा यशस्वी जैसवाल, देवदत्त पडिक्कल, ऋषभ पन्त, ध्रुव जुरेल, रवीन्द्र जडेजा, अंशुल कम्बोज, जसप्रित बुमराह, प्रसिद्ध कृष्ण, आकाश दीप, साई सुदर्शन, नितिश कुमार रेड्डी, वासिङ्टन सुन्दर, कुलदीप यादव र मोहम्मद सिराज छन् । अनुभवी तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट टोलीमा स्थान पाएका छैनन् । अर्का तीव्र गतिका बलर आकाश दीप भने एक वर्षभन्दा बढी समयपछि टेस्ट टोलीमा फर्किएका छन् । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तलाई टोलीमा समावेश गरिए पनि उनको सहभागिता फिटनेसमा निर्भर रहनेछ । पन्त पूर्ण रूपमा फिट नभए ध्रुव जुरेलले विकेटकिपरको जिम्मेवारी पाउने सम्भावना रहनेछ । भारत र न्युजिल्यान्डबीचको पहिलो टेस्ट नोभेम्बर १९, बिहीबार वेलिङ्टनमा सुरु हुनेछ । दोस्रो तथा अन्तिम टेस्ट नोभेम्बर २७, शुक्रबार क्राइस्टचर्चमा खेलाइनेछ । न्युजिल्यान्ड भ्रमण भारतका लागि विश्व टेस्ट च्याम्पियनसिपको अङ्कतालिकामा आफ्नो स्थिति बलियो बनाउने दृष्टिले महत्त्वपूर्ण हुनेछ ।

१९- भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले दलेलालाई नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेको हो । भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिएपछि नयाँ राजदूत नियुक्त गरिएको हो । राजदूत श्रीवास्तव आफ्नो कार्यकाल सकाएर फर्किसकेका छन् । भारतीय विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर मन्त्रालयका सचिवसमेत रहेका दलेलालाई नेपालका लागि राजदूतमा नियुक्त गरेको उल्लेख गरेको छ। नवनियुक्त राजदूत देलाल छिट्टै आफ्नो कार्यभार सम्हाल्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ । दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका कूटनीतिज्ञ हुन् । उनले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभस्थित भारतीय नियोगबाट सुरु गरेका थिए । त्यसपछि उनले ब्रासिलिया, सिकागो, ढाका, जेनेभा, थिम्पु र वासिङ्टन डीसीस्थित भारतीय नियोगमा विभिन्न जिम्मेवारी सम्हालेका छन् ।

२०- जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । शनिबार बिहान रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ६५ मिटर तल खसेको थियो । दुर्घटनामा नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको छ । उपचारका लागि नगर अस्पताल दल्ली पुर्‍याइएका उनीहरूलाई चिकित्सकले दिउँसो १२:२० बजे मृत घोषणा गरेका थिए । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । उनीहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।