इजरायली चुनावमा विदेशी हस्तक्षेप बारे छानबिन शुरु, कतारले के भन्यो ?

काठमाडौं । कतारले इजरायलको पछिल्लो निर्वाचनमा हस्तक्षेप गरेको र अरब राजनीतिक दलहरूलाई प्रभावित पार्न आर्थिक सहयोग गरेको आरोप अस्वीकार गरेको छ ।

कतारले इजरायलका केही नेताले आफ्नो घरेलु राजनीतिक असफलताबाट जनताको ध्यान हटाउन कतारको नाम विवादमा तानेको आरोप लगाएको छ । इजरायलको सुरक्षा निकाय शिन बेटले निर्वाचनमा विदेशी हस्तक्षेप र कथित विदेशी आर्थिक सहयोगसम्बन्धी आरोपको अनुसन्धान सुरु गरेपछि यो विवाद सार्वजनिक भएको हो । यस घटनाले इजरायलमा नयाँ सरकार गठनका लागि भइरहेका राजनीतिक प्रयासमा समेत असर पार्न सक्ने देखिएको छ ।

कतारको विदेश मन्त्रालयका प्रवक्ता माजिद अल-अन्सारीले बिहीबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै आफ्नो देशले इजरायली निर्वाचनमा कुनै पनि प्रकारको हस्तक्षेप नगरेको बताएका छन् । उनले निर्वाचनको परिणाम प्रभावित पार्न आर्थिक सहयोग गरेको आरोपलाई पनि निराधार भन्दै अस्वीकार गरेका छन् । उनका अनुसार केही इजरायली नेता र उनीहरूसँग सम्बन्धित सञ्चारमाध्यमले कतारलाई इजरायलको आन्तरिक राजनीतिक विवादमा तान्न गलत सूचना फैलाइरहेका छन्। कतारले यस्ता आरोपलाई बेतुका र खतरनाक भन्दै घरेलु राजनीतिक लाभका लागि आफ्नो नाम प्रयोग गरिनु स्वीकार्य नहुने स्पष्ट पारेको छ ।

अल-अन्सारीले इजरायलका विभिन्न राजनीतिक समूहले कतारमाथि फरक–फरक आरोप लगाउँदै आएको बताएका छन् । कहिले प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्रभावित पारेको, कहिले इजरायलका वामपन्थी राजनीतिक समूहलाई सहयोग गरेको र अहिले अरब मतदातालाई प्रभावित पार्न खोजेको आरोप लगाइएको उनको भनाइ छ । सबै आरोपलाई सही मान्ने हो भने कतारले इजरायलको सम्पूर्ण राजनीतिमाथि नियन्त्रण राखेको जस्तो देखिने भन्दै उनले व्यङ्ग्य गरेका छन् । उनले इजरायली नेताहरूलाई कतारमाथि आरोप लगाउनुभन्दा आफ्ना मतदाताका समस्या, जनताको जीवनस्तर र क्षेत्रीय द्वन्द्वबाट भएको क्षतिमा ध्यान दिन आग्रह गरेका छन् ।

इजरायलको सुरक्षा निकाय शिन बेटलाई निर्वाचनमा कतारको कथित प्रभाव र विदेशी रकमको प्रयोगसम्बन्धी आरोपको अनुसन्धान गर्ने जिम्मेवारी दिइएको छ । उक्त निकायलाई एक साताभित्र अनुसन्धानको निष्कर्ष पेस गर्न भनिएको छ । प्रधानमन्त्री नेतान्याहुले यस विवादलाई भूकम्पसरहको घटना भन्दै विदेशी पक्षले अरब राजनीतिक दलहरूको पक्षमा निर्वाचन प्रभावित पार्न खोजेको आरोप लगाएका छन् । उनले यहूदी राष्ट्रवादी दलहरूलाई राअम र जोइन्ट लिस्टसँग सहकार्य नगर्नसमेत आग्रह गरेका छन् । तर, कतारले निर्वाचनमा आफ्नो कुनै भूमिका नरहेको दोहोर्‍याएको छ। हालसम्म यी आरोप अनुसन्धानकै क्रममा छन् ।

इजरायलका राष्ट्रिय सुरक्षा मन्त्री तथा ओत्ज्मा येहुदित पार्टीका प्रमुख इतामार बेन ग्विरले कतारसँग कथित रूपमा जोडिएको रकमसम्बन्धी प्रकरणमा संलग्न भएको आशङ्का गरिएका अरब राजनीतिक दलका नेताहरूलाई पक्राउ गर्न माग गरेका छन् । उनले कानुनी आधार भएमा शिन बेटले सम्बन्धित नेता र अन्य व्यक्तिमाथि कारबाही गर्नुपर्ने बताएका छन् । अनुसन्धानले अरब राजनीतिक दलहरू र आइजेनकोट नेतृत्वको राजनीतिक समूहबीच हुन सक्ने सहकार्यलाई प्रभावित पार्ने सम्भावना छ । यसले इजरायलमा नयाँ सरकार गठनका लागि गठबन्धन निर्माण गर्ने प्रक्रिया थप जटिल बनाउन सक्छ । राष्ट्रपति इसाक हर्जोगले सरकार गठनको जिम्मेवारी दिने पक्षले पनि विभिन्न दललाई समेटेर बहुमत जुटाउनुपर्ने चुनौती सामना गर्नुपर्नेछ ।

यसैबीच, कतारले निर्वाचनमा हस्तक्षेप गरेको आरोपले आफ्नो क्षेत्रीय कूटनीतिक तथा मानवीय काममा असर नपर्ने जनाएको छ । प्रवक्ता अल-अन्सारीले कतारले मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहने र प्यालेस्टिनी जनतालाई समर्थन जारी राख्ने बताएका छन् । उनले इजरायलमा गठन हुने जुनसुकै सरकारले पनि अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसङ्घका सम्बन्धित प्रस्तावको पालना गर्नुपर्ने बताएका छन् ।

कतारले सन् १९६७ को सीमाका आधारमा पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र प्यालेस्टिनी राज्य स्थापना गर्ने तथा प्यालेस्टिनी जनताको आत्मनिर्णयको अधिकार सुनिश्चित गर्ने आफ्नो समर्थन पुनः दोहोर्‍याएको छ । साथै, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य गर्दै कूटनीतिक माध्यमबाट द्वन्द्व समाधान र स्थायी शान्ति स्थापनाका लागि प्रयास जारी राख्ने जनाएको छ ।

images