
रुपन्देही । मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यका साथ अर्घाखाँची ढाकावाङ्ग–रुपन्देही सम्पर्क समाजले यस वर्ष पनि तिहारको अवसरमा मौलिक देउसी–भैलो कार्यक्रम सञ्चालन गर्ने भएको छ।
२०८० सालमा स्थापना भएको संस्थाले स्थापना भएदेखि नै हरेक वर्ष तिहारमा रुपन्देहीका विभिन्न क्षेत्रमा मौलिक भैली नाच प्रस्तुत गर्दै आएको छ।
नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले सुरु गरिएको संस्थाको यो सांस्कृतिक अभियानले छोटो समयमै दर्शक तथा शुभेच्छुकको उल्लेखनीय साथ र समर्थन प्राप्त गर्न सफल भएको छ।


विशेषगरी गत वर्ष संस्थाले प्रस्तुत गरेको भैली नाचले राष्ट्रियस्तरमै चर्चा बटुल्न सफल भएको थियो। प्रत्यक्ष रूपमा दर्शकको मन जित्नुका साथै सामाजिक सञ्जालमार्फत समेत लाखौँ दर्शकमाझ पुगेर संस्थाको सांस्कृतिक प्रस्तुतिले व्यापक लोकप्रियता हासिल गरेको थियो।

गत वर्षको सफलताबाट थप उत्साहित बनेको संस्थाले यस वर्ष विगतका प्रस्तुतिभन्दा अझ परिष्कृत, आकर्षक र उत्कृष्ट भैली नाच प्रस्तुत गर्ने तयारी गरेको छ।
यस वर्षको कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षणमा नयाँ आयाम थप्ने लक्ष्य संस्थाले लिएको छ। संस्थाका उपाध्यक्ष टेकराज भुसालले विगतका वर्षहरूमा प्राप्त माया, साथ र हौसलालाई आत्मसात् गर्दै यस वर्ष अझ उत्कृष्ट भैली नाच प्रस्तुत गर्ने तयारी भइरहेको जानकारी दिनुभयो।

उहाँले मौलिक कला र संस्कृतिको संरक्षण गर्नुका साथै नयाँ पुस्तालाई आफ्नो परम्परा र सांस्कृतिक पहिचानसँग जोड्ने उद्देश्यले संस्थाले हरेक वर्ष देउसी–भैलो कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताउनुभयो।




