आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाली कांग्रेसले सरकारमाथि स्वेच्छाचारी र निरंकुश शैलीमा शासन सञ्चालन गरेको आरोप लगाउँदै भय र भ्रम सिर्जना गरेर सत्ता चलाउने प्रवृत्ति बन्द गर्न आग्रह गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै काँग्रेस वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पछिल्लो घटनाक्रममा काँग्रेसको धारणा सार्बजनिक गर्दै विधिको शासन, नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिएका छन् । कांग्रेसले २०८२ पुसमा सम्पन्न विशेष महाधिवेशन निर्वाचन आयोगबाट अद्यावधिक भइसकेको र सर्वोच्च अदालतबाट समेत वैधानिक ठहर भएको दाबी गरेको छ । त्यसपछि २०८३ असोज १६ देखि २३ गतेसम्म पार्टीको १५औँ महाधिवेशनसमेत सम्पन्न भइसकेको उल्लेख गर्दै पार्टीको वैधानिकतामाथि उठाइएका प्रश्न, अडियो बयान र प्रचारलाई निराधार तथा नियोजित भनेको छ । पार्टीले आफूमाथि उठेका सबै प्रश्न र छानबिनको सामना गर्न तयार रहेको जनाएको छ । कांग्रेसले ‘इनम सापकोटा प्रकरण’ मा प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीको नाम जोडिँदै राज्यका निकाय दुरुपयोग भएको आरोप लगाएको छ । प्रधानमन्त्री कार्यालयको संलग्नतामा अनधिकृत व्यक्तिबाट फोन नियन्त्रणमा लिने, प्रमाण नष्ट गर्ने तथा अनुसन्धानमा रहेका व्यक्ति र प्रमाणमाथि हस्तक्षेप भएको विषय सार्वजनिक भएको उसको दाबी छ । प्रहरी महानिरीक्षक हटाउने घटनालाई पनि कांग्रेसले यसै प्रकरणसँग जोड्दै सबै घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय अनुसन्धान गर्न माग गरेको छ । पार्टीले पछिल्लो समय पत्रकारमाथि धरपकड, अपारदर्शी निर्णय र संवैधानिक निकायमाथि नियन्त्रण गर्ने प्रयास भइरहेको आरोप लगाएको छ । यस्ता गतिविधिविरुद्ध राजनीतिक र कानुनी दुवै रूपमा अघि बढ्ने जनाउँदै उपसभापति पुष्पा भुसालको नेतृत्वमा कानुनी परामर्श प्रक्रिया अघि बढाउने र संसदीय दलका तर्फबाट नेता भीष्मराज आङ्गम्वेको नेतृत्वमा संसद्मा पहल गर्ने जनाएको छ । कांग्रेसले सरकारको प्राथमिकता विपद्पीडितको राहत तथा पुनर्स्थापना, अर्थतन्त्रको पुनरुत्थान र जलवायु संकटको सम्बोधन हुनुपर्ने बताएको छ । प्रश्न उठाउने नागरिकको आवाज दबाउने र प्रतिपक्षलाई कमजोर बनाउने प्रयास नगर्न आग्रह गर्दै पार्टीले जनसरोकारका विषयमा रचनात्मक सहयोग गर्न आफू तयार रहेको जनाएको छ । साथै, पार्टी पङ्क्तिलाई विधिको शासन, नागरिक स्वतन्त्रता र जनताका मुद्दामा दृढ रहन अपिल गरेको छ ।

२-  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले काठमाडौं उपत्यकाभित्र विभिन्न सरकारी निकाय, संघसंस्था तथा व्यक्तिले लामो समयदेखि ओगटेको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याएको छ । वर्षौँदेखि सम्झौताविपरीत प्रयोग भइरहेका, म्याद सकिएका र विश्वविद्यालयको स्वीकृतिबिना अतिक्रमण गरिएका जग्गा ६ महिनाको अवधिमा फिर्ता ल्याइएको हो । शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविको सक्रियतामा जग्गा फिर्ता अभियान अघि बढाइएको थियो । त्रिविले अनधिकृत रूपमा प्रयोग भइरहेका जग्गा खाली गर्न ३५ दिने सार्वजनिक अल्टिमेटम जारी गरेको थियो । त्रिवि जग्गा खोजबिन समितिको प्रतिवेदन र विश्वविद्यालयको आन्तरिक अभिलेखलाई आधार बनाएर अभियान सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ । यस क्रममा काठमाडौं उपत्यकाभित्र विश्वविद्यालयको स्वामित्वमा रहे पनि अन्य निकाय तथा व्यक्तिको नियन्त्रणमा रहेका जग्गाको लगत संकलन गरिएको थियो । म्याद सकिएका सम्झौता नवीकरण नगर्ने र अनधिकृत संरचना हटाएर जग्गा विश्वविद्यालयको प्रत्यक्ष नियन्त्रणमा ल्याउने प्रक्रिया अघि बढाइएको थियो । मन्त्रालयको समन्वय र त्रिवि प्रशासनको निरन्तर प्रयासका कारण छोटो अवधिमै ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता ल्याउन सम्भव भएको मन्त्रालयले जनाएको छ । त्यस्तै उपत्यकाबाहिर रहेका त्रिविका जग्गा फिर्ता ल्याउने कामसमेत जारी रहेको बताइएको छ । फिर्ता भएका जग्गालाई अब विश्वविद्यालयको गुरुयोजनाअनुसार शैक्षिक तथा अनुसन्धानमूलक गतिविधिमा उपयोग गर्ने तयारी गरिएको छ। ती जग्गामा अत्याधुनिक प्रयोगशाला, अनुसन्धान केन्द्र, केन्द्रीय पुस्तकालय र आवश्यक शैक्षिक पूर्वाधार निर्माण गर्ने त्रिविको योजना छ । फिर्ता भएका जग्गालाई अन्य प्रयोजनमा प्रयोग नगरी विश्वविद्यालयको शैक्षिक विकास र पूर्वाधार विस्तारमा लगाइने र बाँकी जग्गा पनि खोजी गरी फिर्ता ल्याउने प्रक्रिया निरन्तर अघि बढाइने मन्त्रालयले जनाएको छ ।

३- नेपाली काँग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सिंहदरबारमा रमिता चलिरहेको टिप्पणी गरेका छन् । सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै वरिष्ठ उपसभापति शर्माले कुनै कारण स्पष्ट नगरी प्रहरी महानिरीक्षक हटाएकोप्रति टिप्पणी गर्दै सिंहदरबारमा रमिता चलिरहेको बताएका हुन् । उनले भने- ‘सरकारको प्रवक्ता के भन्नुहुन्छ, पार्टीको निर्देशनमा हटाइयो । एक घण्टा नभइकन पार्टीको प्रवक्ता प्रवक्ता के भन्नुहुन्छ, हाम्रो निर्देशन गएको छैन । लेख्नुस् सिंहदरबारमा रमिता चलिरहेको छ । लेख्नुस् बालुवाटारमा रमिता चलिरहेको छ ।’ उनले अहिले सार्बजनिक भएको भनिएको अडियोको विषय छानबिन गर्न माग गर्दै काँग्रेस आफु र आफ्नो नेतृत्वमाथि उठेका सबै प्रश्नको सामना गर्न तयार रहेको बताए । काँग्रेसले सरकारसँग पारदर्शिता र जवाफदेहिताको माग गर्दै आफुहरुले सरकारका गलतकामको प्रश्न गर्न नछोड्ने स्पष्ट गरेका छन् । उनले उपसभापति पुष्पा भुसालको समन्वयमा विपक्षी दलहरुसँग छलफल गर्ने जानकारी दिएका छन् । शर्माले सञ्चारमाध्यमहरुलाई प्रश्न गर्दै आफ्नै कार्यालय अगाडी राखेको गाडीको विषयमा प्रश्न गर्न छोडेको उल्लेख गर्दै प्रश्न गर्न नछोड्न आग्रह गरे ।

४- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रहरी महानिरीक्षक परिवर्तन बारे टिप्पणी गर्दै अर्हाएको काम गर्ने व्यक्ति ल्याएको बताएका छन् । पार्टी कार्यालयबाट बाहिरिने क्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिदै ओलीले अर्हाएको काम गर्छ भनेर बनाएको बताए  । उनले भने- ‘आफुले अर्हाएको काम गर्छ भनेर बनाएको होला’ त्यस्तै ओलीले काँग्रेस सभापति गगन थापासँग राम्रो भेट भएको भन्दै राजनीतिक कुरा भएको बताए ।

५- अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीबीच भेटवार्ता भएको छ । बुधबार अर्थमन्त्री डा.वाग्ले र विदेश सचिव मिश्रीबीच अर्थ मन्त्रालयमा भेटवार्ता भएको हो । भेटमा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभित्र विषयमा छलफल गरे। भेटमा  अर्थसचिव डा.घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी थिए । आजै आफ्नो दुई दिने नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका मिश्रीले यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृत बहादुर राईसँग भेटवार्ता गरेका थिए ।  मिश्रीले विहिबार स्वदेश फर्किनु अघि प्रधामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यसुची रहेको छ ।

६- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको छ । समितिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव, चिकित्सा शिक्षा आयोगका सदस्यसचिव र शिक्षा मन्त्रालयका एक उपसचिव सदस्य रहेका छन् । इलाममा २५औँ पटक आमरण अनशनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई सोमबार हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो । हाल उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत छन् । डा. केसीले गेटामा आवश्यक पूर्वाधार र जनशक्ति नपुगेको अवस्थामा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालन गर्न दिइएको अनुमति खारेज, पदाधिकारी नियुक्तिमा देखिएको स्वार्थको द्वन्द्वमाथि छानबिन, गेटा अस्पताल पूर्ण क्षमतामा सञ्चालन र यसअघि भएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायत ६ बुँदे माग राखेका छन् ।

७- सर्वोच्च अदालतले हिरासतमा रहेका दीपक भट्टका बुबा चतुर्भुज भट्टले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमा सम्बन्धित मुद्दाका मिसिल झिकाउन आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नित्यानन्द पाण्डेयको इजलासले निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । इजलासले सर्वोच्च अदालतमा विचाराधीन ०८३-आरई-००२१ र ०८३-आरई-००२२ नम्बरका बेरीतको आदेश बदरसम्बन्धी निवेदनलाई समेत सँगै राखेर सुनुवाइ गर्न आदेश दिएको छ । त्यस्तै, नेपाल सरकार वादी र दीपक भट्टसमेत प्रतिवादी रहेको ०८२-सीआर-०१५४ नम्बरको सम्पत्ति शुद्धीकरण मुद्दाको सुरु प्रमाण मिसिल विशेष अदालत, काठमाडौंबाट झिकाउन भनिएको छ। पेशीका दिन देखाई फिर्ता लैजाने गरी मिसिल उपलब्ध गराउन आदेशमा उल्लेख छ ।

images

८- नेप्सेमा आज सामन्य वृद्धि भएको छ । आज बुधबार नेप्से १.४० अंकले बढेर २६६५.५३  विन्दुमा पुगेर रोकिएको छ । आज ३५८ कम्पनिका २ करोड १२ लाख २३ हजार ४१४ कित्ता शेयर ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार ४९ मा कारोबार भएको थियो । आज जीवन बीमा, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी नेपाल रिइन्सुरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ भने हिमालयन रिइन्सुरेन्सको शेयरमा ११.४८ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी सिभिल बैंक डिभेन्चरको शेयर ६.३४ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी स्वेत गंगा हाइड्रोको ८५ करोड ८४ लाख बराबरको कारोबार भएको छ भने घोराही सिमेन्टको ५१ करोड २४ लाख बराबरको कारोबार भएको छ ।

९- राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानेन्द्र शाहीले प्रहरी महानिरीक्षक (आईजीपी) लाई पदबाट हटाइएको विषयमा आपत्ति जनाएका छन् । उनले आईजीपीले अपराध गरेको भए कानुनअनुसार कारबाही गरेर जेल हाल्नुपर्ने बताएका छन् । शाहीले भनेका छन्-‘आईजीपीले कुनै अपराध गरेका हुन् भने प्रधानमन्त्रीको सल्लाहकार बनाएर होइन, कानुनअनुसार कारबाही गरेर जेल हाल्ने हो।’ उनले आईजीपीले कुनै गल्ती नगरेको र कानुनविपरीत काम नगरेको अवस्थामा व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग भएको टिप्पणी गरेका छन् । यस्तो कदमलाई उनले भ्रष्ट आचरणको संज्ञासमेत दिएका छन् । उनले भनेका छन्- ‘यदि आईजीपीले कुनै गल्ती गरेका छैनन् र कुनै पनि कानुनविपरीत काम गरेका छैनन् भने व्यक्तिगत स्वार्थका आधारमा कारबाही गर्नु राज्यसत्ताको चरम दुरुपयोग हो । भ्रष्ट आचरण हो ।’

images

१०- सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारवाही नगरी जिम्मेवारी हेरफेर गरिएको बताएको छ । सरकारका प्रवक्ता एवम शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कार्कीलाई कारवाही नगरिएको बताएका हुन् । उनले भने- ‘उहाँलाई कारवाही गरिएको होइन, जिम्मेवारी हेरफेर मात्र गरिएको हो । अब उहाँको भूमिका प्रधानमन्त्रीलाई शान्तिसुरक्षा सम्बन्धी सल्लाह दिने हुन्छ ।  सुरक्षा सल्लाहकारका रुपमा उहाँको अहिलेको जिम्मेवारी पनि संवेदनशील हो ।’ आजै बसेको मन्त्रिपरिषदको बैठकले एआइजी डा. मनोज केसीलाई आइजीपी बनाउने निर्णय गरेको छ ।

११- अमेरिकी मध्यावधि निर्वाचनको नतिजा सार्वजनिक हुन थालेपछि अर्बपति व्यवसायी एलन मस्कले अन्तरिक्षमा तथ्यांक केन्द्र निर्माण गर्ने विषय आकर्षक लाग्न थालेको बताएका छन् । मस्कले सामाजिक सञ्जाल एक्समा दुईवटा टिप्पणी सार्वजनिक गरेका थिए । पहिलो टिप्पणीमा उनले अन्तरिक्षमा डाटा सेन्टर बनाउनु अहिले निकै आकर्षक विकल्प भएको उल्लेख गरेका छन् । दोस्रो टिप्पणीमा उनले यसपटकको निर्वाचनमा हस्तक्षेप गर्न प्रयोग गरिएको भनिएको आफ्नो अन्तरिक्षीय लेजर प्रविधिले काम नगरेको भन्दै व्यङ्ग्य गरेका छन् । अमेरिकी निर्वाचन अभियानका क्रममा मस्क रिपब्लिकन पार्टीका प्रमुख समर्थकमध्ये एक थिए । उनले विशेषगरी टेक्सासमा एक करोड ५० लाख अमेरिकी डलरभन्दा बढी खर्च गरेको समाचारमा उल्लेख छ। यसअघि पनि सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा मस्कमाथि निर्वाचन प्रक्रियालाई प्रभावित पार्न खोजेको आरोप लागेको थियो । यसपटकको मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले महत्त्वपूर्ण सफलता हासिल गरेको छ । पार्टीले सिनेटमा ५३ सिट जित्दै बहुमत प्राप्त गरेको छ भने थप नजिता आउनेक्रममा छ । रिपब्लिकन पार्टीका केही महत्त्वपूर्ण सिटसमेत डेमोक्रेटिक उम्मेदवारले जितेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि डेमोक्रेटिक पार्टीको सफलताका लागि बधाई दिएका छन् । निर्वाचन परिणाम सार्वजनिक भइरहेका बेला राष्ट्रपति ट्रम्पको सामाजिक सञ्जालमा गरिएको अर्को टिप्पणी पनि चर्चामा आएको छ । उनले आफू अब राजनीतिक विश्लेषक बन्न लागेको उल्लेख गर्दै निर्वाचनमा उम्मेदवारहरू किन विजयी भए वा पराजित भए भन्ने विषयमा सकारात्मक र नकारात्मक दुवै पक्षबाट आफ्नो धारणा राख्ने बताएका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा यस्तो टिप्पणी गरेका हुन् । यसैगरी, ट्रम्पले ‘भिटो’ लेखिएको रातो टोपीको तस्बिरसमेत सार्वजनिक गरेका छन् । निर्वाचनमा रिपब्लिकन पार्टीले अपेक्षित सफलता हासिल गर्न नसकेपछि मस्क र ट्रम्पका टिप्पणीलाई अमेरिकी राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ ।

images

१२- सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो । वर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको बताइएको छ ।

१३- बेलायतका राजा चार्ल्स तृतीयले आफ्नो देशको दास व्यापारको इतिहासप्रति दुःख व्यक्त गरेका छन् । दास व्यापारमा बेलायतको भूमिका इतिहासको लज्जास्पद पक्ष भएको उल्लेख गर्दै उनले त्यसलाई सम्झँदा आफूलाई गहिरो पीडा हुने बताएका छन् । एन्टिगुवा र बारबुडामा राष्ट्रमण्डल सदस्य राष्ट्रका नेताहरूको बैठक उद्घाटन गर्दै उनले दास प्रथाको इतिहासले अहिले पनि क्यारिबियन क्षेत्रका देश तथा राष्ट्रमण्डलका अन्य सदस्यलाई प्रभावित पारिरहेको बताए । इतिहास बदल्न नसकिए पनि त्यसबाट सिक्न सकिने उल्लेख गर्दै उनले विगतका गल्ती स्वीकार गरेर अन्यायविरुद्ध दृढताका साथ अघि बढ्नुपर्ने बताए । राजा चार्ल्सको अभिव्यक्ति बेलायतसँग दास प्रथाका लागि औपचारिक माफी र क्षतिपूर्तिको माग भइरहेका बेला आएको हो । सन् १५०० देखि १८०० को अवधिमा बेलायतले अफ्रिकाका करिब ३२ लाख मानिसलाई अटलान्टिक महासागर पार गराएर उपनिवेशहरूमा दासका रूपमा पुर्‍याएको तथ्यांक छ । बेलायतले सन् १८०७ मा दास व्यापारमा प्रतिबन्ध लगाएको थियो भने सन् १८३३ मा दास प्रथा अन्त्य गर्ने कानुन पारित गरेको थियो । दास प्रथा अन्त्य भएपछि बेलायतले पीडितलाई नभई दासका मालिकलाई दुई करोड पाउन्ड क्षतिपूर्ति दिएको थियो । अहिले क्यारिबियन देशहरूले बेलायतसँग माफी र क्षतिपूर्ति मागिरहेका छन् । बेलायती सरकारले भने क्षतिपूर्तिको सट्टा राष्ट्रमण्डलका सदस्य देशलाई ऋणको ब्याजभारबाट राहत दिने योजना अघि सार्ने तयारी गरेको छ । राजा चार्ल्सको दरबारले क्षतिपूर्तिको निर्णय राजाको नभई सरकारको जिम्मेवारी भएको स्पष्ट पारेको छ ।

१४- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले शिष्टाचार भेटवार्ता गरेका छन् । परराष्ट्र मन्त्रालयमा बुधबार भएको भेटमा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहँदै आएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ । भेटका क्रममा दुई देशबीचको आपसी सहकार्य र सम्बन्धका विविध पक्षबारे विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Nepal life insurance

१५- नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै सुनको असर्फी र चाँदीको मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखाले कात्तिक १९ र २० गते सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी र १० ग्रामको एक थान चाँदीको मेडालियन बिक्री गरिनेछ । चाँदीको मेडालियनमा लक्ष्मी र गणेशको आकृति अंकित हुनेछ। एक व्यक्तिले बढीमा दुई थान मात्रै खरिद गर्न पाउने व्यवस्था गरिएको छ । उक्त असर्फी तथा मेडालियन कात्तिक १९ र २० गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म टक्सार महाशाखाको बिक्री काउन्टरबाट खरिद गर्न सकिनेछ । बिक्री मौज्दात कायम रहेसम्म मात्र खुला रहने राष्ट्र बैंकले जनाएको छ । खरिद गर्न चाहने नेपाली नागरिकले नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर उल्लेख भएको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित स्वयं उपस्थित हुनुपर्नेछ । यसको भुक्तानी नगद वा क्यूआर माध्यमबाट गर्न सकिने व्यवस्था गरिएको छ । राष्ट्र बैंकका अनुसार सुनको असर्फी तथा चाँदीको मेडालियनको मूल्य दैनिक बिहान करिब ११ बजेपछि निर्धारण हुनेछ । मूल्य निर्धारण भएपछि मात्रै बिक्रीको सूचना जारी गरिनेछ ।

१६- अमेरिकी मध्यावधि निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीले दुवै सदनमा बहुमत गुमाएको छ । विपक्षी डेमोक्रेटिक पार्टीले सिनेटमा ५२ र प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक २१८ सिटमा अग्रता हासिल गरेको छ । ४३५ सदस्यीय तल्लो सदन प्रतिनिधिसभाका सबै सिटमा निर्वाचन भएको थियो । प्रारम्भिक मतगणनाअनुसार डेमोक्रेटिक पार्टीले २१८ सिटमा अग्रता बनाएको छ भने ट्रम्पको रिपब्लिकन पार्टी ११३ सिटमा अगाडि रहेको छ । बाँकी सिटको मतगणना जारी छ । प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ । यस्तै, सिनेटका १०० सिटमध्ये यसपटक ३५ सिटका लागि निर्वाचन भएको थियो । अहिलेसम्म २८ सिटको नतिजा सार्वजनिक हुँदा डेमोक्रेटिक पार्टीले १८ र रिपब्लिकन पार्टीले १० सिट जितेका छन् । बाँकी सात सिटको मतगणना जारी छ । समग्रमा डेमोक्रेटिक पार्टीसँग ५२ र रिपब्लिकन पार्टीसँग ४१ सिट पुगेको छ । सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक हुन्छ । यसैगरी, अमेरिकाका ३६ राज्यमा भएको गभर्नर निर्वाचनमध्ये २४ राज्यको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार डेमोक्रेटिक पार्टीले १७ र रिपब्लिकन पार्टीले सात राज्यमा जित हासिल गरेका छन् । बाँकी राज्यमा मतगणना जारी रहेको छ । अमेरिकी इतिहासमा पछिल्ला २१ मध्यावधि निर्वाचनमध्ये १९ पटक राष्ट्रपतिको दलले हार बेहोरेको छ । सन् १९९८ मा राष्ट्रपति बिल क्लिन्टन र सन् २००२ मा राष्ट्रपति जर्ज डब्लु बुसको दलले मात्रै मध्यावधि निर्वाचनमा सफलता हासिल गरेका थिए । दुवै सदनमा बहुमत गुमाएपछि राष्ट्रपति ट्रम्पको आगामी राजनीतिक कार्यकालमा विपक्षी डेमोक्रेटिक पार्टीको प्रभाव बढ्ने देखिएको छ । संसद्का दुवै सदनमा बहुमत प्राप्त गरेसँगै डेमोक्रेटिक पार्टीलाई सरकारका नीति तथा निर्णयमाथि निगरानी र विधायिकी प्रक्रियामा प्रभाव पार्ने अवसर मिलेको छ । निर्वाचनपछि प्रतिक्रिया दिदै ट्रम्पले हरेक विषयमा भिटो प्रयोग नगर्ने र डेमोक्रेटसँग मिलेर काम गर्ने प्रतिक्रिया दिएका छन् । साथै उनले आफु उम्मेदवार नभएका कारण हार बेहोरेको समेत बताएका छन् ।

१७- बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौर नजिकै जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । बुधबार बिहान करिब ८: ४५ बजे से ००१ च ४३७६ नम्बरको जीप दुर्घटनामा परेको हो । काँडाचौरका १५ जना स्थानीय बासिन्दालाई बोकेर बाग्थलातर्फ आउँदै गरेको जीप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको स्थानीयले बताएका छन् । दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका गोपाल धामी र पवित्रा धामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । जीपमा सवार ६ जना गम्भीर घाइते भएका छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको बताइएको छ । जीपका चालक बुङ्गल नगरपालिका–२ गिरौँका मोहन धामी रहेको र उक्त जीप केदारस्युँ गाउँपालिका–७ का वडाध्यक्ष चन्द्र धामीको रहेको स्थानीयले बताएका छन् ।

१८- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्न दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलर नेपाल आइपुगेका छन्। ३७ वर्षीय मिलरले प्रतियोगितामा कर्णाली याक्सबाट खेल्नेछन् । कर्णाली याक्सले यस सिजनका लागि मिलरलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको हो । मध्यक्रममा आक्रामक ब्याटिङ गर्ने र अन्तिम ओभरमा तीव्र गतिमा रन बनाउन सक्ने क्षमताका कारण उनी टोलीका महत्त्वपूर्ण खेलाडी मानिएका छन् । मिलरले दक्षिण अफ्रिकाका लागि १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८०४ रन बनाएका छन् । उनले विश्वका विभिन्न फ्रेन्चाइज प्रतियोगितासमेत खेलेका छन् । इन्डियन प्रिमियर लिगमा गुजरात टाइटन्सलाई सन् २०२२ मा उपाधि जिताउन उनको महत्त्वपूर्ण भूमिका रहेको थियो । कर्णाली याक्सले यसअघि पनि साहिबजादा फरहान, हुसेन तलत र मार्क वाटलगायतका विदेशी खेलाडीलाई टोलीमा समेटेको छ । जारी प्रतियोगितामा कर्णालीले ३ खेलमा २ जित र एक हारसहित ४ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

१९- युरोपेली च्याम्पियन्स लिगअन्तर्गत गएराति भएका खेलमा म्यानचेस्टर युनाइटेड र बार्सिलोनाले शानदार जित निकालेका छन् । म्यानचेस्टर युनाइटेडले दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै रोमालाई ३–२ गोलले पराजित गरेको छ भने बार्सिलोनाले एस्टन भिल्लालाई ३–० गोलले हराएको छ । ओल्ड ट्राफोर्डमा भएको खेलमा रोमाले सुरुवाती १७ मिनेटमै दुई गोलको अग्रता बनाएको थियो । रोमाका लागि माटियास सौलेले ११औँ मिनेटमा पहिलो गोल गरेका थिए। त्यसको छ मिनेटपछि डोनीएल मालेनले गोल गर्दै रोमाको अग्रता दोब्बर बनाए । तर दोस्रो हाफमा युनाइटेडले उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पार्‍यो । कप्तान ब्रुनो फर्नान्डेसले ५८औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै युनाइटेडलाई खेलमा फर्काए । त्यसपछि माटियस कुन्हाले ८३औँ मिनेटमा बराबरी गोल गरे । उनले त्यसको तीन मिनेटपछि व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडलाई ३–२ को जित दिलाएका थिए । निर्णायक गोल गरेपछि समर्थकसँग खुसी साट्न दर्शकदीर्घातर्फ पुगेका कुन्हाले दोस्रो पहेँलो कार्ड पाएपछि रातो कार्डको सामना गर्नुपरेको थियो । दुई गोलले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित निकालेको युनाइटेडका लागि यो महत्त्वपूर्ण सफलता बनेको छ । यता बार्सिलोनाले घरेलु मैदानमा एस्टन भिल्लामाथि ३–० को सहज जित निकालेको छ । बार्सिलोनाको जितमा राफिन्हाले दुई गोल गरे भने लामिन यमालले एक गोल गरे । खेलको सातौँ मिनेटमै यमालले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा राफिन्हाले ५२औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए। उनले ६४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे । यस जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगको लिग चरणमा महत्त्वपूर्ण अंक जोडेको छ। राफिन्हाले पछिल्ला चार च्याम्पियन्स लिग खेलमध्ये तीन खेलमा दुई-दुई गोल गरेका छन् । गएराति नै भएका अन्य खेलमा पेरिस सेन्ट जर्मेनले भिल्लारियललाई ६–० गोलले पराजित गरेको छ। इन्टर मिलानले फेयेनोर्डलाई ३–० तथा बायर्न म्युनिखले एट्लेटिको मड्रिडलाई २–० गोलले हराएको छ ।

२०- जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा १३ खेल सम्पन्न हुँदा लुम्बिनी लायन्सले अंकतालिकाको शीर्ष स्थानमा पकड जमाएको छ । तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अंक जोडेको छ । विराटनगर किङ्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स समान चार अंकसहित प्रतिस्पर्धामा छन् । लुम्बिनी तीन खेलमा अपराजित छ । दुई जित र एक खेल वर्षाका कारण नतिजाविहीन हुँदा टोलीले पाँच अंक बनाएको हो । उसको नेट रनरेट ४.०५१ छ, जुन प्रतियोगितामा सहभागी आठ टोलीमध्ये सबैभन्दा राम्रो हो । यसले लुम्बिनीलाई अंक र रनरेट दुवै आधारमा शीर्ष स्थानमा राखेको छ । विराटनगर किङ्सले चार खेलमा दुई जित र दुई हारसहित चार अंक जोडेको छ । उसको नेट रनरेट ०.४०८ छ । कर्णाली याक्सले तीन खेलमा दुई जित र एक हार बेहोर्दै चार अंक बनाएको छ । कर्णालीको नेट रनरेट ०.२९५ रहेको छ । जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सले पनि चार खेलबाट दुई जित र दुई हारसहित समान चार अंक जोडेका छन् । जनकपुरको नेट रनरेट ०.०९९ छ भने सुदूरपश्चिमको माइनस १.०६४ छ । समान अंक भए पनि नेट रनरेटका कारण यी टोलीको स्थान फरक परेको छ । चितवन राइनोजले तीन खेलमा एक जित, एक हार र एक नतिजाविहीन खेलबाट तीन अंक जोडेको छ । उसको नेट रनरेट माइनस ०.४८६ छ । काठमाडौं गोर्खाजले दुई खेलमा एक जित र एक हारसहित दुई अंक बनाएको छ । काठमाडौंको नेट रनरेट माइनस ०.४६६ रहेको छ । पोखरा एभेन्जर्सले तीनवटै खेल गुमाएको छ । टोलीले अहिलेसम्म अंक जोड्न सकेको छैन र उसको नेट रनरेट माइनस १.७७० छ । लगातार तीन हारपछि पोखरा अंकतालिकाको पुछारमा रहेको छ ।एनपीएलको तेस्रो सिजनको सुरुआती चरणमै टोलीहरूबीच कडा प्रतिस्पर्धा देखाएको छ । शीर्ष पाँच स्थानमा रहेका टोलीबीचको अन्तर एक अंक मात्रै छ । लुम्बिनीले अपराजित यात्रा र उत्कृष्ट नेट रनरेटका कारण अग्रता बनाएको छ भने कर्णालीले कम खेल खेलेर पनि चार अंक जोड्दै आफूलाई बलियो अवस्थामा राखेको छ । विराटनगर, जनकपुर र सुदूरपश्चिमका लागि आगामी खेलमा जितसँगै नेट रनरेट सुधार्नु पनि महत्त्वपूर्ण हुनेछ । चितवन र काठमाडौंसँग पनि माथिल्लो स्थानमा उक्लिने अवसर छ । पोखराका लागि भने प्रतियोगितामा फर्कन आगामी खेलमा जित निकाल्नु आवश्यक देखिन्छ । समग्रमा, लुम्बिनीले उत्कृष्ट सुरुआत गरेको भए पनि चार अंकमा रहेका चार टोली र नजिकै रहेका चितवन तथा काठमाडौंका कारण प्लेअफको दौड अझ रोचक र प्रतिष्पर्धात्मक हुने देखिन्छ । त्यस्तै, गालातासारेले स्टुटगार्टलाई २–०, स्पोर्टिङले शाख्तर डोनेत्स्कलाई १–० तथा एलएएसकेले स्लोभान ब्राटिस्लाभालाई ४–० गोलले पराजित गरेका छन्। बोडो/ग्लिम्ट र लिलबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ ।