
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वडाका २६१ परिवारले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् ।
कृष्णनगर नगरपालिका वडा नं. १, ७ र ९ का परिवारले नापजाँच सम्पन्न भएको करिब १३ वर्षपछि लालपुर्जा पाएका हुन्।


उक्त क्षेत्रमा जग्गाको नापजाँच कार्य २०७० सालमै सम्पन्न भएको थियो । तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म लालपुर्जा वितरण हुन सकेको थिएन ।

लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाएर आवश्यक प्रक्रिया पूरा गरिएपछि अहिले २६१ परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो ।
लालपुर्जा प्राप्त भएपछि वर्षौंदेखि जग्गाको स्वामित्वसम्बन्धी प्रमाणको प्रतीक्षामा रहेका परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन् ।





