आठ बर्षमा नेपालमा कति जलवायु वित्त भित्रियो ?

अनुदानको तुलनामा नेपालले प्राप्त गरेको जलवायु वित्तमा ऋणको हिस्सा दोब्बरभन्दा बढी रहेको एक अध्ययनले देखाएको छ ।
पेरिस सम्झौता पछिको आठ वर्षमा नेपालले करिव ३ दशमलब १९ अर्ब अमेरिकी डलर अन्तर्राष्ट्रिय जलवायु वित्त प्राप्त गरेकोमा ३० प्रतिशत अनुदान र ६३ प्रतिशत सहुलियतपूर्ण ऋण रहेको एक अध्ययनले देखाएको छ । यो तथ्यांकले जलवायुकार्यका लागि नेपालले लिएको अनुदान भन्दा ऋण दोब्बर बढी देखाउँछ ।

प्रकृति रिसोर्सेस सेन्टर (पीआरसी) ले सार्वजनिक गरेको ‘नेपालको जलवायु वित्त परिदृश्य: पेरिस सम्झौतापछिको अन्तर्राष्ट्रिय जलवायु वित्त प्रवाहको नक्शाङ्कन (२०१६–२०२३)’ अध्ययनअनुसार कुल जलवायु वित्तमध्ये २ दशमलव ०२ अर्ब अमेरिकी डलर सहुलियतपूर्ण ऋण र ९ सय ६९ दशमलव ०६ मिलियन अमेरिकी डलर अनुदान रहेको छ । गैर–सहुलियतपूर्ण ऋण र इक्विटीको हिस्सा भने न्युन छ ।

अनुसन्धानले नेपालको जलवायु वित्तमा बहुपक्षीय विकास बैंकको प्रभुत्व रहेको देखाएको छ । कुल वित्तको ६६ दशमलव ८३ प्रतिशत बहुपक्षीय विकास बैंकबाट प्राप्त भएको छ भने द्विपक्षीय विकास साझेदारबाट २५ दशमलब ९६ प्रतिशत र हरित जलवायु कोष तथा विश्वव्यापी वातावरण सुविधालगायत समर्पित जलवायु कोषबाट ५ दशमलव ०४ प्रतिशत अनुदान प्राप्त भएको देखिन्छ ।

बहुपक्षीय बिकास बकहरुले सहुलियतपूर्ण ऋण उपलब्ध गराएका छन् भने द्विपक्षीय विकास साझेदार र बहुपक्षीय जलवायु कोषहरूले तुलनात्मक रूपमा बढी अनुदान उपलब्ध गराएका छन् । अध्ययनले जलवायु वित्तको कुल रकमलाई मात्र उपलब्धि मानेर नहुने भन्दै ब्याजदर, भुक्तानी अवधि, ऋणको सहुलियत र अनुदानको अनुपातको समेत मूल्याङ्कन गर्नुपर्ने जनाएको छ ।

अध्ययनले बाढी नियन्त्रण, पारिस्थितिक प्रणाली पुनःस्थापना र पूर्वसूचना प्रणालीजस्ता अनुकूलनका काममा ऋणको उपयुक्तता माथि समेत प्रश्न उठाएको छ । यस्ता काम समुदायको जलवायु उत्थानशीलताका लागि महत्वपूर्ण भएपनि ऋण तिर्न आवश्यक प्रत्यक्ष आर्थिक प्रतिफल नदिने भएकाले अनुदानमा आधारित वित्त आवश्यक हुने अध्ययनको तर्क छ ।

विषयगत रूपमा भने कुल जलवायु वित्तको ५६ दशमलव ७९ प्रतिशत अनुकूलन र ४२ दशमलव ३६ प्रतिशत न्युनिकरणमा परिचालन भएको छ । तर अनुकूलन वित्तमा प्राप्त रकममा एकरुपता छैन । कुनै वर्ष धेरै त कुनै बर्ष कम छ । सन् २०२० मा ६ सय १० दशमलव ०५ मिलियन डलर प्राप्त भएकोमा सन् २०२१ मा ६४ दशमलव ४७ मिलियन र सन् २०२३ मा १ सय ५ दशमलव शुन्य ९ मिलियन डलर प्राप्त भएको छ । हानि तथा नोक्शानीका लागि छुट्टै वित्तीय विनियोजन नरहेको अध्ययनले जनाएको छ ।

प्राप्त जलवायु वित्त क्षेत्रगत रूपमा ऊर्जा तथा जलस्रोतमा ९  सय ८२ दशमलव ९१ मिलियन डलर, उद्योग, यातायात तथा भौतिक पूर्वाधारमा ५ सय ७४ दशमलव ९२ मिलियन डलर र विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा ५ सय १९ दशमलव ६० मिलियन डलर खर्च भएको छ । कृषि तथा खाद्य सुरक्षामा २ सय ६५ दशमलव ६६ मिलियन, स्वास्थ्य, खानेपानी तथा सरसफाईमा २ सय १७ दशमलव ४५ मिलियन र वन, जैविक विविधता तथा जलाधार संरक्षणमा ३६ दशमलव २२ मिलियन डलर मात्र प्राप्त भएको देखिन्छ । जलवायुजन्य विपद्ले पर्यटन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदामा ठूलो क्षति गरेको स्थिति भएपनि यी क्षेत्रमा भने जलवायु वित्त प्राप्त भएको देखिदैन ।

नेपालको जलवायु वित्तको आवश्यकता र उपलब्ध स्रोतबीच ठूलो अन्तर रहेको अध्ययनले देखाएको छ । सरकारले तेश्रो राष्ट्रिय निर्धारित योजना कार्यान्वयका लागि सन् २०३५ सम्म ७३ दशमलब ७४ अर्ब अमेरिकी डलर आवश्यक पर्ने र त्यसमध्ये ६२ दशमलब ९२ अर्ब डलरभन्दा बढी अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेको छ । जसमा अनुकूलनका लागि १८ देखि २० अर्ब डलर आवश्यक पर्ने अनुमान गरिएको छ । अध्ययनले जलवायु कार्यका लागि अनुदानमा आधारित स्रोत परिचालन बढाउन सुझाव दिएको छ । जलवायु वित्तलाई दीर्घकालीन, कार्यक्रमगत र परिणाममा आधारित बनाउनुपर्नेमा अध्ययनले जोड दिएको अध्ययनकर्ता यम कुमारी उचाईले जानकारी दिनुभयो ।

images

उहाँले भन्नुभयो ‘हाम्रो अनुसन्धानले क्लाइमेट फाइनान्सको स्रोत हेर्दा ६७ प्रतिशत एमडीबीबाट, २६ प्रतिशत बाइल्याटरलबाट, ५ प्रतिशत क्लाइमेट फन्डबाट र २ प्रतिशत अन्य मल्टिल्याटरल मेकानिजमबाट आएको देखाउँछ । फाइनान्सियल इन्स्ट्रुमेन्टको संरचना हेर्दा कन्सेसनल लोनको हिस्सा ६३ प्रतिशत, ग्रान्टको ३० प्रतिशत, नन–कन्सेसनल लोनको ६ प्रतिशत र इक्विटीको १ प्रतिशत छ । नेपालमा मिटिगेसनमा भन्दा क्लाइमेट

एडाप्टेसनमा लगानी बढी आएको छ । तर एडाप्टेसनमा आएको ठूलो हिस्सा कन्सेसनल लोनका रूपमा छ । एडाप्टेसनमा रिटर्न नआउने भएकाले त्यसका लागि हामीलाई ग्रान्ट चाहिन्छ । क्लाइमेट फाइनान्सको कुरा उठ्नेबित्तिकै सबैजना क्लाइमेट फन्डको मात्रै कुरा गर्नुहुन्छ । तर हाम्रो अनुसन्धानले त्यसको ठीक विपरीत अवस्था देखाउँछ । क्लाइमेट फन्डको योगदान जम्मा ५ प्रतिशत मात्रै छ भने एमडीबीको योगदान ६७ प्रतिशत छ । पब्लिक सेक्टरबाट आएको अन्तर्राष्ट्रिय क्लाइमेट फाइनान्समा पनि कन्सेसनल लोनको हिस्सा ठूलो छ । त्यसैले यसलाई कसरी ग्रान्ट–बेस्ड फाइनान्समा लैजाने भन्नेबारे सोच्नुपर्छ । हामीकहाँ क्लाईमेट फाइनान्सको एकीकृत तथ्यांक राख्ने पद्धती छैन । हामीसँग डेटा भयो भने वास्तवमा हामीलाई के चाहिएको हो भन्ने थाहा हुन्छ । मिटिगेसनका लागि हो कि एडाप्टेसनका लागि ? लोन चाहिएको हो कि ग्रान्ट ? क्रस–कटिङका लागि हो कि लस एन्ड ड्यामेजका लागि ? जलवायु वित्तको एकीकृत तथ्यांक एकै स्थानबाट प्राप्त हुने गरि तथ्यांक राख्नुपर्ने आवश्यकता पनि देखिएको छ । तथ्यांकका आधारमा हामीले हामीलाई कुन क्षेत्रमा कस्तो वित्त आवश्यक परेको छ भन्ने थाहा हुन्छ र सोही अनुसार हामी अघि बढ्न सक्छौ । ’

images

रिपोर्टले सरकारलाई जलवायु वित्तको अभाव पूरा गर्न केवल थप रकम खोज्न नभई अनुदानमुखी वित्तमा पहुँच बढाउन, कम वित्त प्राप्त क्षेत्रलाई प्राथमिकता दिन, एनडिसी र न्यापअनुसार बजेट तथा परियोजना मिलाउन र जलवायु वित्तको वास्तविक प्रवाह मापन गर्ने राष्ट्रिय प्रणाली बनाउन सुझाव दिएको छ । कृषि, जलस्रोत, स्वास्थ्य, वन तथा जैविक विविधता र पारिस्थितिक प्रणालीमा आधारित अनुकूलनजस्ता कम वित्त प्राप्त क्षेत्रलाई अनुदान परिचालनमा प्राथमिकता दिनुपर्ने उल्लेख छ । सामान्य विकास सहायता र वास्तविक जलवायु वित्तबीच स्पष्ट भिन्नता छुट्याउन पनि रिपोर्टले जोड दिएको छ । यी सुझावहरूमा सरकारले वित्तीय खाडल पूर्ति गर्न कुन स्रोतबाट कति रकम जुटाउने भन्ने परिमाणात्मक योजना वा निश्चित समयसीमा दिइएको छैन । रिपोर्टले मुख्यतः वित्त परिचालन, प्राथमिकता निर्धारण, संस्थागत क्षमता र पारदर्शितासम्बन्धी नीतिगत दिशा दिएको छ । रिपोर्टमा विकास साझेदारहरूका लागि छुट्टै सिफारिस पनि गरिएको छ । जलवायु वित्तको वास्तविक अनुदान र समतुल्य मूल्य खुलाउने, रिपोर्टिङ प्रणाली मिलाउने र जलवायु वित्तलाई सामान्य विकास सहायताबाट स्पष्ट छुट्याउने गरी आवश्यक व्यवस्था गर्न पनि भनिएको छ ।

एनडीसी र न्यापमा उल्लेखित रकम भिजन मात्र हो ,माग गरेको रकम सबै उपलब्ध हुँदैन, 
वित्तको ग्याप निजी क्षेत्र र लगानीबाट पूरा गर्नुपर्छ, डाक्टर महेश्वर ढकाल, वन मन्त्रालय
एनडीसी र न्यापमा देखाइएको जलवायु वित्तको ठूलो ग्याप सबै अनुदानबाट पूरा हुने अपेक्षा नभई, अन्तर्राष्ट्रिय सहयोगसँगै निजी क्षेत्र र लगानीयोग्य पूर्वाधारमार्फत परिचालन गर्ने सरकारको रणनीति छ । प्रकृति रिसोर्स सेन्टर (पीआरसी) को जलवायु वित्त प्राप्तिसम्बन्धी अध्ययनले नेपालले प्राप्त गरेको वित्त र राष्ट्रिय लक्ष्यबीच ठूलो अन्तर देखाएको सन्दर्भमा कृषि, वन तथा पर्यावरण मन्त्रालय, जलवायु परिर्वतन तथा व्यवस्थापन महाशाखा प्रमुख डा. महेश्वर ढकालले एनडीसी र राष्ट्रिय अनुकूलन योजना (न्याप) मा उल्लेखित रकम नेपालको आवश्यकता र विकासको भिजन मात्र भएको प्रतिक्रिया दिनुभयो । नेपालले जलवायु वित्तका लागि अन्तर्राष्ट्रिय समुदायसँग माग गरेको रकम सबै अनुदानका रूपमा प्राप्त हुने सुनिश्चितता नभएकाले विकासका प्राथमिकता र लगानीयोग्य क्षेत्र पहिचान गरी वित्तीय स्रोत परिचालन गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । जलवायु वित्तको परिभाषा र त्यसअन्तर्गत समेटिने आयोजनाबारे स्पष्टता आवश्यक रहेको उल्लेख गर्दै उहाँले विकासका सबै लागतलाई जलवायु वित्त मान्ने प्रवृत्तिले वास्तविक वित्तीय अवस्था बुझ्न कठिन भएको बताउनु भयो । उहाँकाअनुसार,जलवायु वित्तमा ठूलो ग्याप देखिनुको अर्थ सबै रकम विदेशी अनुदानबाटै प्राप्त हुनुपर्छ भन्ने होइन । नेपालले आफ्नो विकास बजेटलाई जलवायुमैत्री बनाउने, अन्तर्राष्ट्रिय सहयोग परिचालन गर्ने र निजी क्षेत्रलाई लगानीका लागि आकर्षित गर्ने रणनीति लिनुपर्ने हुन्छ ।

images

मानवीय जीवन, स्वास्थ्य, शिक्षा र समुदायको उत्थानशीलतासँग प्रत्यक्ष जोडिएका अनुकूलनका क्षेत्रमा अनुदान आवश्यक हुन्छ । तर जलवायुमैत्री ऊर्जा, जलविद्युत तथा ठूला पूर्वाधारजस्ता उत्पादनशील क्षेत्रमा सहुलियतपूर्ण ऋण र निजी लगानी पनि उपयोग गर्न सकिन्छ । ढकालले वन संरक्षण, खाद्य सुरक्षा, प्रकृतिमा आधारित पर्यटन र संरक्षण क्षेत्रलाई पनि जलवायुमैत्री विकासका सम्भावित लगानी क्षेत्रका रूपमा पहिचान गर्नुपर्ने बताउनु भयो । उहाँले जलवायु न्यायलाई अनुदानको मागमा मात्र सिमित नगरी विपद्बाट प्रभावित समुदाय, निजी क्षेत्र र समग्र समाजको आवश्यकता समेटेर हेर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो  ‘जलवायु वित्त भन्ने शब्द बोल्न जति सजिलो छ, यसको अन्तरवस्तु बुझ्न त्यति नै कठिन छ । नेपालले अन्तर्राष्ट्रिय फोरमहरूमा लिएको पोजिसन भनेको हामी कार्बन उत्सर्जन न्यून गर्ने र प्रकृति संरक्षणमा योगदान पु¥याउने उच्च जोखिममा रहेको राष्ट्र भएकाले जलवायु वित्त अनुदानमा आधारित हुनुपर्छ भन्ने हो । त्यो हाम्रो न्याप र एनडीसीले माग गरेअनुसार र सरल प्रक्रियाबाट आउनुपर्छ । एनडीसी र न्यापमा हामीले रकम राख्नुको उद्देश्य अन्तर्राष्ट्रिय समुदायलाई नेपालको आवश्यकता स्पष्ट पार्नु र जलवायु न्यायका आधारमा सहयोगको दायित्व सम्झाउनु हो । त्यो सबै रकम विदेशीले दिन्छन् भन्ने ग्यारेन्टी होइन । त्यसले नेपालले जलवायुमैत्री विकास गर्न सक्ने क्षमता र इच्छाशक्ति देखाउँछ, साथै निजी क्षेत्रलाई लगानीको वातावरण सिर्जना गर्छ ।


अनुकूलनभित्र मानिसको जीवन, स्वास्थ्य र शिक्षासँग जोडिएका विषयमा अनुदान नै हुनुपर्छ । तर जलविद्युत, ठूला पूर्वाधार र उत्पादनशील क्षेत्रमा सहुलियतपूर्ण ऋण लिनै हुँदैन भन्ने होइन । त्यस्ता क्षेत्रमा निजी क्षेत्र पनि जलवायु अनुकूलन र विकासको अङ्ग बन्न सक्छ । जलवायु न्यायलाई हामीले बुझेको एउटै भाष्यमा सीमित गर्नु हुँदैन । भोटेकोशीमा लगानी गरेको निजी क्षेत्र पनि प्रभावित छ, विपद्मा परिवार गुमाएका समुदायको न्याय पनि सुनिश्चित गर्नुपर्छ । नेपालको विकासको मोडालिटीलाई जलवायुमैत्री, वातावरणमैत्री र जनमैत्री बनाउँदै लागत घटाउन सक्यौँ भने समाजलाई जलवायु उत्थानशील बनाउन सहज हुन्छ ।’

डाक्टर ढकालले पूर्वाधार विकासको मोडालिटीलाई जलवायुमैत्री, वातावरणमैत्री र जनमैत्री बनाउँदै लागत घटाउन सके नेपालले जलवायु उत्थानशील विकासलाई अघि बढाउन सक्ने बताउनु भयो ।

Nepal life insurance

दस्तावेज बुझाएर मात्रै हँुदैन,रणनीतिक गृहकार्य चाहिन्छः राजु पण्डित क्षेत्री, जलवायु वित्त विज्ञ

जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्रीले नेपालले पेरिस सम्झौतापछि विकसित राष्ट्रबाट कति जलवायु वित्त प्राप्त गरेको छ र आगामी दिनमा कसरी प्रभावकारी रूपमा परिचालन गर्न सकिन्छ भन्ने पहिचान गर्न अध्ययन गरिएको बताउनु भयो । संयुक्त राष्ट्रसघलाई विकसित राष्ट्रहरूले प्रत्येक दुई वर्षमा जलवायु कार्यका लागि परिचालन गरेको वित्तको विवरण बुझाउनुपर्ने व्यवस्था रहेकाले नेपालले प्राप्त गरेको रकमको लेखाजोखा गरिएको थियो । नेपालले युएनफसिसिसिमा बुझाएको तेस्रो एनडिसी र न्याप कार्यान्वयनका लागि आवश्यक रकम सबै अनुदानमा उपलब्ध हुन्छ भन्ने निश्चित नभएको अवस्थामा जलवायु वित्तको क्षेत्रगत लगानी र प्राप्त हुने स्रोतको लेखाजोखा गर्दा जलवायु कार्यको रणनीति तर्जुमा गर्न सहज हुने उहाँको तर्क छ ।

उहाँले भन्नुभयो ‘जलवायु वित्त भन्नेबित्तिकै हामी जलवायु कार्यका लागि प्राप्त गरिने रकमलाई बुझ्छौँ । यसले मुख्यतः न्युनिकरण, अनुकूलन र हानि तथा नोक्शानीलाई सम्बोधन गर्छ । हाम्रो अध्ययनको प्रमुख उद्देश्य पेरिस सम्झौतापछि नेपालले विकसित राष्ट्रहरू, विशेषगरी ओईसीडी सदस्यहरूबाट कति जलवायु वित्त प्राप्त गरेको छ भन्ने लेखाजोखा गर्नु थियो । यसले अनुकूलन, न्युनिकरण, ऋण, अनुदान र विभिन्न जलवायु कोषबाट आएको रकमको अवस्था देखाउँछ । नेपालले बुझाएको एनडीसीको लागत लगभग ७४ अर्ब अमेरिकी डलर र न्यापको ४७ अर्ब डलर अनुमान गरिएको छ । तर त्यो नेपालको जलवायुमैत्री विकासका लागि आवश्यक लागतको अनुमान हो, सबै रकम विदेशीले दिन्छन् भन्ने होइन। दस्तावेज बुझाउँदैमा रकम प्राप्त हुन्छ भन्ने बुझाइ गलत हुन्छ । नेपालले कुन क्षेत्रमा, कुन कोषबाट र द्विपक्षीय वा बहुपक्षीय निकायबाट कति रकम ल्याउने भन्ने गृहकार्य गर्न आवश्यक छ । अन्तर्राष्ट्रिय क्लाइमेट फाइनान्सको ल्यान्डस्केपबारे अध्ययन नगरी दस्तावेज बुझाउँदैमा रकम आउने अवस्था बन्दैन । हाम्रो अध्ययनले कुन क्षेत्रमा बढी वा कम जलवायु वित्त आएको, ऋण वा अनुदानमध्ये कुन औजार प्रयोग भएको र प्रमुख सहयोगी निकाय को हुन् भन्ने देखाएको छ । अब नेपालले आफ्ना प्राथमिकताका क्षेत्रअनुसार दातृ निकायसँग रणनीति बनाउनुपर्छ । सरकारी तथा दातृ निकायबीच समन्वय गरी कसले अनुकूलन, कसले न्युनिकरण र कसले अनुदान वा सहुलियतपूर्ण ऋणमा लगानी गर्ने भन्ने स्पष्ट संयन्त्र बनाउन आवश्यक छ ।’

यसैबीच, भोटेकोशी बाढीको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि मात्रै करिव ४ दशमलव ७ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । एउटा विपद्को पुनर्निर्माण लागत नै नेपालले आठ वर्षमा प्राप्त गरेको कुल अन्तर्राष्ट्रिय जलवायु वित्तभन्दा बढी देखिनुले जलवायु वित्त र उपलब्ध स्रोतबीचको संरचनागत खाडल स्पष्ट पारेको छ ।