संसारका उत्कृष्ट साहसिक गन्तव्यमा नेपाल पहिलो

राष्ट्रिय महत्वका साथ सरकार र निजी क्षेत्रले मनाइरहेको नेपाल पर्यटन वर्ष 2011 को पहिलो दिनमै सुखद समाचार आएको छ। अमेरिकास्थित अन्तर्राष्ट्रिय टेलिभिजन संस्था केबुल न्युज नेटवर्क (सिएनएन)को अनलाइन संस्करणले सन् 2011 का लागि उत्कृष्ट 10 भ्रमण गन्तव्य सार्वजनिक गरेको छ। यो सूचीमा उत्कृष्ट साहसिक भ्रमण सगरमाथा आधारशिविर नाम दिएर पहिलो स्थानमा सिएनएनले नेपाल छनोट गरेको हो।

        पर्यटन वर्ष मनाइरहेका सारा नेपालीसँगै, होटल, ट्राभल, ट्रेकिङ, पर्वतारोहण, र्याफ्टिङ, प्याराग्लाइडिङलगायत व्यवसायी, सरकारी अधिकारी सबै यो खबरले थप हौसिएका छन्।

         यसअघि सन् 2004 मा बेलायतको आई एक्सप्लोर ट्राभल वेबसाइटले संसारका उत्कृष्ट 10 गन्तव्यमा अन्नपूर्ण पदयात्रा, 2005 मा बिबिसीले मृत्युअघि पुग्नैपर्ने संसारका 50 मध्ये एक गन्तव्य नेपाल र 2008 मा नेसनल जियोग्राफिक एड्भेन्चर म्यागाजिनले साहसिक गन्व्यका लागि उत्कृष्ट देशमध्ये एकमा नेपाल छनोट गरेको थियो।