आज माघे संक्रान्ति पर्व, मुलुकभर स्नान, दानलगायतका धार्मिक कार्य गरी मनाइँदै


 

– मुलुकभर स्नान, दानलगायतका विभिन्न धार्मिक कार्य गरी मनाइँदैछ । यस्तै पवित्र तीर्थस्थल देवघाट, पनौती तथा रिहारलगायतका क्षेत्रमा लागेको मकर संक्रान्ति मेलामा भक्तजनहरूको ठूलो भीड लागेको छ । नेपालका पश्चिमी तराइका दाङ, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, सुर्खेतलगायतका क्षेत्रका थारू समुदायमा यो पर्व विशेष महत्वका साथ मनाइँने गरिन्छ ।

 

काठमाडौं, माघ १ – घिउ, चाकु, तरुल, तिलको लड्डु जस्ता पौष्टिक खाद्य पदार्थ खाएर मुलुकभर शनिबार माघेसंक्रान्ति पर्व मनाइँदै छ । नेवार समुदायमा भने ती खाद्य वस्तुहरूका साथै सम्येबजी (चिउरा, पोलेको मासु, साँधेको भटमास, अदुवा र रक्सी वा जाँड) का साथै सिद्रा माछा खाने चलन छ ।

गाउँघरमा यो पर्वमा घिउ, चाकु, अघिल्लो दिन उसिनेको तरुल, मासको फुलौराका साथै मास र चामल बराबर मिसाई घिउ हालेर पकाइएको खिचडी खाने चलन छ ।

विशेषगरी घिउ र चाकु खाने भएकाले नेपालभाषामा ‘घिउ, चाकु सँल्हु’ भनिने यस पर्वमा उपत्यकाका तीन सहरमा खिचडीका साथै ‘यलय् पलः ९पाटने पालुङ्ग)’ भनिने एक प्रकारको लामो खालको मालुङ्ग खाने चलन छ ।

यस दिनदेखि सूर्य मकर राशिमा प्रवेश हुने र सूर्य उत्तरायण हुने भएकाले यस संक्रान्तिलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ । यस पर्वमा जीउभरि तेल घसेर घाम ताप्ने पनि चलन छ । यस पर्वमा परिवारका मूली वा आमाले आफ्ना छोराछोरीलाई तालुमा तेल हालिदिने पनि गर्दछन् र विभिन्न नदी तीर्थमा स्नान गर्ने गर्दछन् । यस दिन भक्तपुरको तौमढी टोलमा रहेको तिलमाधव नारायणको विशेष पूजा हुन्छ ।