जापान चौथोपल्ट एसियाली च्याम्पियन


 

दोहा, कतार – जापान शनिबार चौथोपल्ट एसियाली च्याम्पियन भएको छ । उसले खालिफा अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा अस्टे्रलियालाई अतिरिक्त समयको खेलमा १-० ले पराजित गर्‍यो । तडानारी लीले १ सय ९ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

नागाटोमाले मिलाएको पासमा लीले आफ्नो खेलजीवनकै पहिलो अन्तर्राष्ट्रिय गोल गरे । यससँगै जापान एसियाली फुटबलको सर्वाधिक सफल टिम पनि भएको छ । यसअघि जापानसँगै इरान र साउदी अरेबियाले तीन/तीन पल्ट एसियन कप चुमेका थिए ।

जापानको यू-२३ टिमले चीनको गोन्जाउमा भएको एसियाली खेलकुदमा पनि फुटबलतर्फ स्वर्ण जितेको थियो । अस्टे्रलिया फाइनल पुगेको भने यो पहिलोपल्ट हो । यसअघि निर्धारित ९० मिनेटको खेलमा दुवै टिम गोल गर्न असफल रहेपछि ३० मिनेट समय थपिएको थियो ।