नेपालले अलराउन्ड प्रदर्शन गर्दै ओमानलाई ३ सय ४ रनले पराजित


 

– विनोद पाण्डे,

 

बैंकक, थाइल्यान्ड – फैजलुर (फैजल) रहमान खानको सतकसँगै नेपालले अलराउन्ड प्रदर्शन गर्दै ओमानलाई ३ सय ४ रनले पराजित गरी एसिसी यु १९ इलाइट कपको सेमिफाइनलतर्फ अग्रसर भएको छ।टस जितेर पहिला ब्याटिड रोजेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेट गुमाई ३ सय ९१ रनको विशाल स्कोर बनाएको थियो।

आशाहीन ओमान ३१.५ ओभर खेल्दै ८७ रनमा सीमित भयो। अघिल्लो दिन युएईलाई ९ विकेटले पराजित गरेको नेपालले अफगानिस्तान र थाइल्यान्डसँगको बाँकी दुई मध्ये एक खेलमा विजय हात पारे अन्तिम चारमा स्थान पक्का गर्नेछ।


फैजलले सानदार १ सय १ रन बनाए। उनलाई साथ दिनेक्रममा सागर पुनले ८३ र प्रदीप ऐरीले ४० बलमा ८६ रन बनाए। फैजलले ओपनर सुवाष खकुरेलसँग ओभरमा पहिलो विकेटका लागि ८१ रन जोडेपछि नेपाली ब्याटस्म्यानले रन वर्षाउन सुरु गरेका थिए।


‘मुख्य पक्ष भनेको आज हाम्रो सुरुवात राम्रो भयो, फैजलले सानदार इनिड खेले, त्यसमा सागरले राम्रो सहयोगिको भुमिका निभाए’, प्रशिक्षक जगत टमाटाले भने- ‘प्रदीपले आजको जस्ता ब्याटिड मैले यसअघि कहिल्यै देखेको थिइन्, ७०.७५ यार्ड लामो मैदानमा यस्तो सट हान्नु चानचुने होइन।’


फैजल र सुवाषले विस्तारै रन बनाएर नेपाली इनिडलाई अगाडि बढाएका थिए। विकेटमा जमिसकेको अवस्थामा ५५ बल खेलेका सुवाष २७ रन बनाई एलबीडब्लु आउट भए। त्यसपछि फैजल र सागरले दोस्रो विकेटमा १ सय १० रन जोडेका थिए। फैजलले ९६ बलमा सतक पुरा गरे। उनले ९९ बलको कुल इनिडमा १० चौका प्रहार गरे। फाइन लेगमा १ रन प्रहार गर्दै उनले ३३ औं ओभरमा सतक पुरा गरेका थिए।


फैजलले जमाएको इनिडमा सागर र प्रदीपले तेज गतिमा खेलेका थिए। ४८ बलमै सतकिय साझेदारी पुरा गरेका यी दुईले तेस्रो विकेटमा १ सय २७ रनको साझेदारी गरेका थिए। ८० बल खेलेका सागरले सबै चार चौका अर्धसतक बनाएपछि हानेका थिए। ८३ रन बनाई उनी ४५ औं ओभरमा आउट भए। त्यसको अर्को ओभरमा प्रदीप पनि पवेलियन फर्के। एडकलको चोटका कारण एसियाड गुमाएका राष्टिय टोलीका सदस्य प्रदीपले ६ चौका र ५ छक्का प्रहार गरे। उनले २७ बलमै अर्धसतक पुरा गरेका थिए।


आधा दर्जन भन्दा बढी जीवनदान पाएको नेपाली इनिडमा नरेश बुढाऐर १७ बलमा ४ चौकासहित ३७ र कप्तान पृथु बास्कोटा १२ बलमा २० रन बनाई अविजित रहे। प्रशिक्षक टमाटाले भने- ‘मैले सोचेको भन्दा खेलाडीले राम्रो खेले, हामीले २ सय ५० देखि २ सय ८० रन बनाउने लक्ष्य राखेको थियौं, तर चार विकेट गुमाएर मात्र हामीले यत्रो रन बनायौं।’


नेपाली ब्याटस्म्यान पिचमा दौडिएका कारण अम्पायरद्वयले ओमानलाई पाँच पेनाल्टी रन दिएका थिए। अभिनाश कर्णले तेस्रो ओभरमा अभिषेक रमेशलाइ बोल्ड गरी ओमानको विकेट लिनेक्रम सुरु गरेका थिए। तीन रन आउट भएपछि ओमानका लागि ठुलो पराजय आत्मसाथ गर्नुको औपचारिकतामात्र बाँकी थियो। सबै रन आउट गर्नुमा कृष्ण कार्की प्रमुख कारक बने। उनले एक रनआउट सिधा थ्रो मा गरेका थिए।


ओमानका ओपनर माहोल मिश्राले ३० र कप्तान चिराग असरले १५ रन बनाए। मिश्रालाई पृथुले बोल्ड गरे। असरको विकेट उपकप्तान राहुलकुमार विश्वकर्माले लिए। राहुलले ७.५ ओभरमा १ मेडन राख्दै १४ रन खर्चेर ३ विकेट लिए। उनले युएईविरुद्धको खेलमा पनि ३ विकेट लिएका थिए। अभिनाशले २ विकेट लिनेक्रममा ७ ओभरमा २२ रन खर्चे। भुवन कार्कीले १ विकेट लिए।


अझै रन बनाउछु : फैजल


सतक बनाएका फैजलले रन बनाउने क्रमलाई निरन्तरता दिने बताएका छन्। ‘अघिल्लो दिन नै ४६ रन बनाएपछि मैले साथीहरुलाई मेरो रन बन्ने क्रममा सुरु भयो भनेको थिए’, उनले भने- ‘हाम्रा लागि सबै खेल महत्वपूर्ण छन्, त्यसैले जतिसक्दो रन बनाउछु भनेर खेलेकाले सतक बनाउन सकेँ।’


लगातार दोस्रो खेलको म्यान अफ द म्याचमा चुनिएका भैरहवाका ओपनिड ब्याटस्म्यान फैजलले सतकको श्रेय प्रशिक्षक जगतसँगैं बसन्त शाही, विजय थापा, कृष्णा गुप्ता र आफनो परिवारलाई दिए। उनले भने- ‘उहाँहरु सबै यो सतकको सफलताको हकदार हुनुहुन्छ।’


फैजलको सतकसँगै नेपालले बुधबार ओमानसँगको खेलमा थाइल्यान्ड क्रिकेट मैदानमा आफ्नो कीर्तिमानको ओइरो लगायो। फैजलको सतक एसिसी यु १९ मा नेपालको तेस्रो सतक हो। यसअघि शक्ति गौचनले २००१ मा काठमान्डुमा माल्द्धिभ्सविरुद्ध १ सय र कनिष्क चौंगाइले माल्द्धिभ्सविरुद्ध २००३ मा कराचीमा १ सय २५ रन बनाएका थिए।


कनिष्कको सतक नेपाली खेलाडीको अन्तराष्टिय क्रिकेटमा ब्यक्तिगत उच्च स्कोरमा कायमै छ। कनिष्कको सतकपछि पहिलो पटक नेपाली खेलाडीले उमेर समुहको अन्तराष्टिय प्रतियोगितामा सतक बनाएका हुन्। कनिष्कले सतक बनाउदा नेपालले यु १९ मा ४ विकेट गुमाई ३ सय ९१ रनको कीर्तिमान बनाएको थियो, जुन कीर्तिमानलाई बुधबार पृथुको टोलीले बराबरी गरयो।


३ सय ९७ रन नेपाली टोलीको अन्तराष्टिय क्रिकेटमा अहिले सम्मकै उच्च स्कोर हो। राजु खड्काले सतक बनाउदा नेपालले भुटानविरुद्ध काठमाडौंमा भएको २००३ को इमर्जिड नेसन्स कपमा अहिले सम्मकै उच्च योगफल बनाएको थियो।


थाइल्यान्ड क्रिकेट मैदानमा सबै भन्दा ठुलो स्कोर बनाउने कीर्तिमान पनि नेपालले बनाएको म्याच रेफ्री अजिज गिलानीले बताए। उनका अनुसार अघिल्लो दिन अफगानिस्तानले थाइल्यान्डविरुद्ध बनाएको ३ सय २६ रन यस मैदानको सबै भन्दा ठुलो स्कोर हो। ‘त्यसअघि यहाँको उच्च स्कोर २ सय ८० रन थियो, यहाँ रन बनाउन निकै गाहो छ, गिलानीले भने।