
राजधानी त्रिपोली शान्त देखिए पनि रातभर भिडन्तका कारण त्रास फैलिएको छ । शासक कर्णेल मुअमर गद्दाफीले आन्दोलनका क्रममा आफू भागेका समाचारहरू अस्वीकार गरेका छन् । उनले विदेशी न्युज च्यानललाई ‘कुकुर’ भनेका छन् । क्षतिग्रस्त एक भवनबाहिर सरकारी टेलिभिजनसँग कुराकानी गर्दै उनले भने, ‘म त्रिपोलीमै छु, भेनेजुएलामा होइन ।’ उनी काराकासतिर उडेको हल्ला चलेको थियो ।
धेरै देशले लिबियाबाट आफ्ना नागरिक फर्काइरहेका छन् । तेल कम्पनीका कामदारहरू अन्यत्र सारिएका छन् । इजिप्टले लिबियाको सीमानजिक आफ्नो सेनाको संख्या बढाएको छ । प्रदर्शनका घाइतेको उपचारका लागि फिल्ड अस्पताल निर्माण गरेको छ । सर्वसाधारणमाथि आक्रमण मानवताविरुद्ध अपराध भएको राष्ट्रसंघीय मानवअधिकार प्रमुख नाभी पिल्लेले बताए । लिबियाको पछिल्लो अवस्थाबारे राष्ट्रसंघीय सुरक्षा परिषद्मा छलफल गरिने भएको छ । अरब लिगले पनि आकस्मिक बैठक बोलाएको छ ।
त्रिपोलीमा प्रदर्शनकारीमाथि सैन्य विमानले गोली प्रहार गरेका छन् । राष्ट्रसंघस्थित लिबियाली कूटनीतिज्ञ इब्राहिम दब्ासीले ‘नरसंहारबाट’ लिबियालाई जोगाउन अन्तर्राष्ट्रिय हस्तक्षेपको आग्रह गरे । विदेशी पत्रकार कडा नियन्त्रणबीच रिपोर्टिङ गरिरहेका छन् । धेरै सूचनाहरू पुष्टि गर्न गाह्रो छ ।
गद्दाफी छोटो र अनौठो रूपमा देखा परे पनि उनले मुलुकको परिस्थितिबारे सम्बोधन नगरेपछि सर्वसाधारण आक्रोशित छन् । उनले आफूले फैलाएको डर, त्रिपोली र बेंगाजीमा बम आक्रमणका लागि दिएको आदेशबारे केही बोलेनन् । ‘हामी उनलाई त्रिपोलीमै रहेको हेर्न र उसले गरेको कामको मूूल्य तिराउन चाहन्छौं,’ त्रिपोलीस्थित एक स्थानीय बासिन्दाले भने । मान्छेहरू त्रासले घरमै बसिरहेका छन् । पसलहरू बन्द छन् । सडकमा केही कार मात्र देखिन्छन् । पेट्रोल र खाद्यान्नका लागि लामो लाम देखिन्छन् ।
संवेदनशील क्षेत्रमा सेनाको ठूलो उपस्थिति छ, खासगरी कूटनीतिक नियोग रहेको स्थानमा । दोस्रो ठूलो सहर बेंगाजीमा आफ्नो नियन्त्रणमा आएको भन्दै प्रदर्शनकारीहरू खुसी मनाइरहेका छन् । त्यहाँ प्रहरी, सेना र सरकारी अधिकारीको उपस्थिति देखिँदैन । बेंगाजी र पूर्वी क्षेत्रका केही स्थान आफ्नो नियन्त्रणबाहिर रहेको सरकारले पनि स्विकारेको छ ।
लिबियाली सीमा सुरक्षा गार्ड फिर्ता गरेपछि मुख्य सीमा सलुममा थप फौज पठाएको इजिप्टको सत्तारुढ सैन्य परिषद्ले बताएको छ । सीमाका करिब १० हजार नागरिक हिंसाका कारण अन्यत्र गएका छन् । इजिप्टका हजारौं नागरिक लिबियाबाट फर्किएका छन् । इजिप्टले आफ्ना नागरिक ल्याउन कम्तीमा ४ वटा विमान पठाउने भएको छ । तर विदेशमन्त्री अहमद अबोल घेइतले बेंगाजीस्थित विमानस्थल क्षतिग्रस्त भएको बताए । उडान अनुमतिका लागि समस्या देखिएको छ । ‘करिब १० देखि १५ लाखको संख्यामा हाम्रा नागरिक लिबियामा छन्, हामीले उनीहरूलाई घरमै रहन, सडकमा नस्किन, खाना र पानीको जोहो गर्न सल्लाह दिएका छौं,’ उनले भने ।
यसैबीच, दक्षिण कोरियाली कम्पनीमा काम गर्ने ३ सय विदेशी निर्माण मजदुरलाई आन्दोलनकारीले दार्नाहमा नियन्त्रणमा लिएका छन् । जसमध्ये १ सय बंगलादेशी छन् । लिबियामा रहेका दक्षिण एसियालीमा ५० हजार बंगलादेशी, १८ हजार पाकिस्तानी, १८ हजार भारतीय र २ हजार नेपाली छन् ।
चीनले लिबियालाई आफ्नो नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ । सयौं चिनियाँ निर्माण मजदुर अज्दाबियामा छाड्न लगाएको समाचार प्रकाशित भएका थिए । टर्कीका तीनवटा जहाज आफ्ना करिब ३ हजार नागरिक फर्काउन बेंगाजी पठाएका छन् । एक हजारको उद्धार गरिएको छ ।
इटालीले एउटा जहाज पठाउने भएको छ । इटालीका करिब १ हजार ५ सय नागरिक लिबियामा छन् । अमेरिकाले जरुरी नभएका बाहेक सबैलाई लिबिया छाड्न आग्रह गरेका छन् । बेलायतको विदेश मन्त्राललयले आफ्ना नागरिकलाई सकेसम्म छाड्न सुझाव दिएको छ । ३ हजार ५ सयमध्ये अधिकांशले यसअघि नै छाडिसेका छन् ।
तेल कम्पनी रोयल डच सेलले आफ्ना कर्मचारी अस्थायी रूपमा अन्यत्र सारिएको बताएको छ । बेंगाजीमा सर्वसाधारणले नै सहर सञ्चालन गर्न समिति निर्माण गरिएको प्रत्यक्षदर्शी अहमद बिन ताहिरले बताए ।
दक्षिण एसियाका हजारौं कामदार लिबिया छोड्न तयारी गरिरहेका छन् । आवश्यक परेमा लिबियामा रहेका ५० हजार कामदार फर्काउने योजना बनाएको बंगलादेशी विदेशमन्त्री दिपु मोनीले बताए । भारत, पाकिस्तान र नेपाल सरकारले घटनाको नजिकबाट अनुगमन गरिरहेको बताएका छन् । दक्षिणी एसियाली अधिकांश निर्माण मजदुरको रूपमा काम गर्छन् । त्रिपोलीस्थित आफ्नो दूतावासले सूचना र सहयोगका लागि नियन्त्रण कक्ष बनाइएको भारतीय विदेशमन्त्रीले बताए । पाकिस्तानले भने तत्काल कुनै ठोस योजना बनाएको छैन ।
राजनीतिक बन्दी छाड्न आदेश
मानामा- बहराइनमा राजा हमादले राजनीतिक बन्दी छाड्न आग्रह गरेका छन् । तर, हजारौंले उनको शासन अन्त्यको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।
सरकारविरोधी आन्दोलनकारीको मुख्य माग विपक्षी बन्दीलाई छाड्नु थियो । उनीहरूले साताको अधिकांश समय राजधानी मानामास्थित पर्ल स्क्वायरमा नियन्त्रण गर्दै आएका
छन् । विपक्षी पार्टीहरूले मंगलबार प्रदर्शनका लागि आह्वान गरेका छन् । यो उनीहरूको आन्दोलनमा पहिलो औपचारिक आह्वान हो ।
आफ्नो माग पूरा नभएसम्म वार्ता नगर्ने अडान विपक्षीहरूको छ । केही प्रदर्शनकारीले राजा हमाद विन इसा अल खलिफाको राजीनामा माग गरेका छन् । गत सातादेखि भइरहेको आन्दोलनमा सुरक्षाफौजले दमन गर्दा ७ जना मारिएका छन् । आन्दोलन मत्थर पार्ने रणनीतिअनुसार शनिबार भने सुरक्षाकर्मीलाई सडकबाट फिर्ता बोलाएको छ । हमादले १२ वर्षदेखि शासन सम्हालेका छन् ।





