
यो निष्कर्षमा पुग्नुअघि हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले धेरै पुराना अनुसन्धानपत्रहरूको अध्ययन गरे । यसमा उनीहरूले के पाए भने यौन समागम कहिलेकाहीँ गर्ने वा व्यायाममा अनियमितता राख्नेहरूको हृदयाघातबाट मृत्यु हुने जोखिम अढाई गुणासम्म बढी हुन्छ ।
यस विपरीत नियमित स्वस्थ यौनमा संलग्न हुनेहरूलाई मुटुको रोग लाग्ने सम्भावना अरूको दाँजोमा आधा कम हुन्छ ।
‘जामा’ जर्नलमा प्रकाशित उक्त अध्ययनका लागि अनुसन्धाताहरूले यसबारेका १४ भन्दा बढी पुराना अनुसन्धानहरूको विश्लेषण गरेका थिए । उनीहरूको विश्लेषण हृदयाघातको कारण के हुन सक्छ भन्नेमा केन्दि्रत थियो । त्यो अनुसन्धानमा ज-जसलाई हृदयाघातको जोखिममा कम पाइएको थियो, उनीहरू शारीरिक वा सेक्सुअल गतिविधिमा बढी संलग्न थिए ।
अनुसन्धानमा पाइएअनुसार मुटुसम्बन्धी खतरालाई सबै प्रकारका शारीरिक गतिविधिले ३.५ गुणा र यौनसम्पर्कले २.७ गुणासम्म कम गर्छन् । कसैलाई मुटुसम्बन्धी समस्या छ भने पनि नियमित शारीरिक गतिविधि वा सहवासले न्यून गर्न सकिन्छ ।
उक्त अध्ययनमा संलग्न जेसिका पालस भन्छिन्, ‘नियमित यौन वा अन्य शारीरिक गतिविधिले मुटुमा हुन सक्ने हानिलाई एक/दुई घन्टाका दरले कम गर्दै लैजान्छ ।’
हाकिमको व्यवहारबाट तपाईं दुःखी
हुनुहुन्छ ? उनलाई केही भन्न चाहनुहुन्छ, तर मर्यादाका लागि रिस दबाउनुहुन्छ ? यस्तै गर्नुहुन्छ भने आफ्नो यो व्यवहारले तपाईंमा सहनशीलता होइन, आक्रामकता उत्पन्न गर्छ ।
मनोभावलाई दबाउनुको परिणाम उल्टो हुन्छ । यस्तो बानीले सम्बन्धित व्यक्तिलाई बढी आक्रामक बनाउन सक्छ । टेक्सास र मिन्नेसोटा विश्वविद्यालयका मनोवैज्ञानिकहरू यस्तै दाबी गर्छन् । यो अनुसन्धान समाजमा हिंसा कम गर्न, कानुन व्यवस्था लागू गर्न र सुरक्षाकर्मीहरूमा लामो समयसम्म तनावपूर्ण स्थितिसँग जुध्ने क्षमता विकसित गर्न सहयोगी हुने आँकलन गरिएको छ ।
ती मनोवैज्ञानिकले यो अनुसन्धान अमेरिकी सैनिक, अमेरिकी सैन्य एकेडेमीका क्याडर र कलेजका विद्यार्थीहरूमा गरेका थिए । तात्कालिक प्रतिक्रिया व्यक्त गर्ने स्वतन्त्रता दिइएका व्यक्तिहरूका तुलनामा त्यस्तो स्वच्छन्दता नदिइएका व्यक्तिहरूमा बढी आक्रामकता देखिएको थियो ।
अनुसन्धानकर्ताहरूका अनुसार आफ्नो भावना दमन गर्ने र कार्यस्थलमा हाकिमको गलत कुरामा समेत प्रतिक्रिया नजनाउने व्यक्तिहरू भित्रभित्रै आक्रोशितचाहिँ भइरहेका हुन्छन् । त्यस्ता मान्छेको त्यो आक्रोश घर पुगेपछि बालबालिकामा पोखिने गर्छ । अभिभावकहरूले आफ्ना सन्तानहरूलाई गाली गरिरहनुको एउटा कारण यो पनि हो ।
यो अनुसन्धानले कुनै पनि व्यक्ति बढी आक्रामक हुनुको कारण थकान हो भन्ने पुरानो मान्यतालाई विस्थापन गरिदिएको छ । टेक्सास विश्वविद्यालयमा मनोविज्ञानका प्राध्यापक आर्थर मार्क म्यान भन्छन्, ‘हाम्रो अनुसन्धानले के भन्छ भने आफूलाई नियन्त्रित गर्ने प्रयासमा व्यक्ति बढी आक्रामक हुन्छ ।’



