स्पेनिस ला लिगामा बार्सिलोनाको दोस्रो हार

 

स्पेनिस ला लिगामा बार्सिलोनाले दोस्रो हार खेपेको छ।

आइतबार राति रियल सोसिडाडको घरेलु मैदान रियल एरिनामा भएको खेलमा बार्सिलोना घरेलु टोलीसँग १–० गोलअन्तरले हारेको हो। जुन खेलमा चोटका कारण युवा खेलाडी लामिन यमल सहभागी थिएनन्।

खेलको ३३औँ मिनेटमा शेराल्डो बेकरको गोलमा रियलले सुरुवाती अग्रता बनाएको थियो। त्यसपछि गोल थप्न नसक्दा बार्साले सिजनमा दोस्रो पराजय बेहोरेको हो।

हारे पनि बार्सा अंकतालिकाको शीर्ष स्थानमै छ। बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडभन्दा ६ अंकले अघि छ।

लिगमा १३ खेल खेलेको बार्साले ११ खेलमा जित र २ खेलमा हार भोग्दै ३३ अंक बनाएको हो। बार्साभन्दा एक खेल कम खेलेको रियलको २७ अंक छ।

जितसँगै रियल सोसिडाड भने १८ अंकसहित आठौँ स्थानमा छ।

गएराति नै भएको अन्य खेलमा सेल्टाभिगो र रियल बेटिसले २–२ तथा एथलेटिको क्लब र रियल भल्लाडोलिडले १–१ को बराबरी गर्दै अंक बाँडे।

जिरोनाले गेटाफेलाई तथा एथलेटिको मड्रिडले मार्लोकालाई समान १–० गोलअन्तरले हराए।