नुवाकोट, त्रिशूली – सर्वसाधारणका लागि प्रवेश निषेध गरिएको नुवाकोटको साततले दरबार सङ्ग्रहालय आजदेखि सर्वसाधारणका लागि औपचारिकरुपमा खुला भएको छ। सङ्ग्रहालयका लागि गत माघमा काठमाडौंबाट पृथ्वीनारायण जीवित हुँदै निर्माण गरिएको भनिएको सालिक ल्याइएको छ।
सङ्ग्रहालयमा पृथ्वीनारायणको सन्दुक, खाट, बिछ्यौना, तस्बिर र विभिन्न कागजपत्र र ताम्रपत्र सङ्कलन गरिएको स्मारक संरक्षण तथा दरबार हेरचार प्रमुख अर्जुनप्रसाद फुयाँलले बताए। सङ्ग्रहालयका लागि पुराना सामग्री सङ्कलनको काम जारी रहेको जनाइएको छ।
सर्वसाधारणलाई अवलोकन गराउन लागि दरबारमा प्रवेश शुल्क पनि तोकिएको छ। शनिबार र शुक्रबार विद्यार्थीलाई निःशुल्क प्रवेश, अरु दिन रु १०, नेपाली नागरिकलाई रु २०, सार्क मुलुकका पर्यटकलाई रु १०० र अन्य देशका पर्यटकलाई रु १५० प्रवेश शुल्क तय गरिएको छ।
सङ्ग्रहालयलाई शाहवंशीय राजाका मात्र नभई जिल्लाका लोपोन्मुख सामग्रीको पनि सङ्ग्रह गरेर आकर्षक बनाइने पुरातत्व विभागले जनाएको छ।
विसं १८१९ मा पृथ्वीनारायणबाट किल्लाका रुपमा निर्माण भएको दरबार सङ्कटकालमा सर्वसाधारणका लागि बन्द गरिएको थियो। रासस



