

काठमाडौं, पुस १७ : पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा जिल्ला अदालत चितवनमा दर्ता भएको मुद्दामा सरकारी वकिलको तर्फबाट थुनछेक बहस सकिएको छ । मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा बुधबार सरकारी वकिलका तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकास गौतम, सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरे ।
प्रतिबादीको तर्फबाट विहीबार जवाफी बहस हुनेछ ।


त्यसपछि प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने वा थुनाबाहिर राखेर गर्ने भन्ने बिषयमा आदेश आउनेछ । वहशका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित गराइएको थियो।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ३१ प्रतिवादीबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो असुल गर्न मागदाबी गरिएको छ।



