माओवादी अस्थाई शिविरमा रहेका आफ्ना लडाकूलाई नेपाली सेनाको अन्तर्गत समायोजन गर्न तयार

– माओवादीले पार्टीभित्रको शक्तिशाली मानिने एउटा खेमाको आपत्तीकाबीच नेपाली सेनाको मातहतमा आफ्ना लडाकू समायोजन गर्ने निर्णय गरेको छ।


एकीकृत नेकपा माओवादी अस्थाई शिविरमा रहेका आफ्ना लडाकूलाई नेपाली सेनाको अन्तर्गत समायोजन गर्न तयार भएको छ।


माओवादी स्थायी समितिको बैठकले सेनाले हालै पेश गरेको प्रस्तावसँग मिल्दो जुल्दो रुपमा समायोजन गर्ने निर्णय गरेको हो।


उक्त निर्णयमा उपाध्यक्ष मोहन वैद्य किरण पक्षले लिखित असहमति जनाएको छ।


तर पार्टीको उक्त निष्कर्षलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले निकै महत्वपूर्ण निर्णयको रुपमा टिप्पणी गरे।


उनले भने, “देशको विशिष्ट परिस्थिति, शान्ति प्रकृयाप्रति संवेदनशील हुँदै र जनताको अपेक्षालाई ध्यान दिँदै नेपाली सेना अन्तर्गत छुट्टै महानिर्देशनालय गठन गरी निश्चित जिम्मेवारीसहित छुट्टै मिश्रित सुरक्षा अङ्ग निर्माण गर्न सहमत भएका छौं। यो निकै महत्वपूर्ण निर्णय हो।”


यसअघि माओवादीले आफ्नै लडाकूको नेतृत्वमा अलगै सुरक्षा अंग बनाइ समायोजन गर्ने विकल्पलाई पहिलो प्राथमिकतामा राखेको थियो।


समूहगत समायोजन हुनु पर्ने अडान भने नछाड्ने नेता प्रकाशको भनाई छ।


तर उनले समायोजन हुने लडाकूको संख्या र पदबारे लचिलो हुनसक्ने संकेत दिँदै भने, “अन्य समग्र पक्षबारे सम्बन्धित सबै पक्षहरूसँग छलफल गरी निष्कर्षमा पुग्ने हाम्रो निर्णय हो।”


स्थायी समितिका सोह्र जना सदस्यीय सदस्यहरु मध्ये उपाध्यक्ष किरण, सचिव सीपी गजुरेल, देव गुरुङ र नेत्रविक्रम चन्द विप्लवले पार्टी निर्णयप्रति लिखित रुपमै असहमति जनाएका थिए।

images

विप्लवले भने, “नेपाली सेनाको मातहतमा समायोजन गर्ने खालको सोचाइ केन्द्रिय समितिको निर्णय विपरित रहेकाले सहमत हुन नसकिएको हो।”


स्थायी समितिको ‘आफ्नो स्वतन्त्र इकाइ बनाउने वा माओवादी लडाकू र सेना वा प्रहरी पचास-पचास प्रतिशत मिलाएर नयाँ संरचना बनाउने’ भन्ने निर्णय केन्द्रिय समितिको निर्णय विपरित रहेको विप्लवले बताए।

images