भूटानी राजा जिग्मे खेसर नामग्यालले आफूले आगामी अक्टोबर महिनामा विवाह गर्ने योजना बनाएको घोषणा

– भूटानी राजा जिग्मे खेसर नामग्यालले आफूले आगामी अक्टोबर महिनामा विवाह गर्ने योजना बनाएको घोषणा गरेका छन् । 

एक विकट हिमालयन राष्ट्र भूटानका राजा वाङ्चुकले शुक्रबार भुटानको संसदलाई सम्बोधन गर्दै एकजना विद्यार्थी जेत्सुन पेमासँग विवाह गर्ने योजना बनाएको घोषणा गरेका हुन् । भूटानी संसद बैठकको उदघाटन गर्दै उनले सो घोषणा गरेको स्थानीय अधिकारीले जनाएका छन् ।

राजा खेसर बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका हुन् । सम्बोधनमा आफूले ती विद्यार्थीसँग विवाह गर्ने निधो गरेको जानकारी गराएको बताएका भुटानको सूचना मन्त्रालयका सचिव दासो किन्ले दोर्जीले जानकारी दिए ।

पूर्व राजा जिग्मे सिग्मे वाङ्चुकले भुटानलाई प्रजातान्त्रिकरणको योजना अनुरुप सन् २००८ मा ३१ वर्षीय वर्तमान राजा खेसरलाई राजा बनाएका थिए ।

सचिव दोर्जीले शाही विवाहको समारोह हुने जनाउ दिंदै तर राजाले विवाहका लागि धेरै ठूलो समारोहको आयोजना गर्ने पक्षमा नरहेको पनि जानकारी दिए ।